हेलम्बुमा १५ शैयाको अस्पताल भवनको शिलान्यास

मंसिर २९, किउल । जिल्लाको हेलम्बु गाउँपालिकामा १५ शैयाको अस्पताल भवनको शिलन्यास गरिएको छ । नेपाल सरकारको पाँच वर्षभित्र सबै स्थानीय तहमा कम्तीमा १५ शैयाको अस्पताल बनाउने अभियान बमोजिम हेलम्बुमा अस्पतालको शिलन्यास गरिएको हो । बिहिबार हेलम्बु गाउँपालिका वडा नम्बर २ किउलमा गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हिन्दु र बौद्ध धर्मको परम्परा अनुसार अस्पतालको शिलन्यास गरेका हुन् । शिलन्यास गर्दै अध्यक्ष शेर्पाले अब हेलम्बुका नागरिकको स्वास्थ्य उपचार हेलम्बुमै हुने दावी गरे ।

सामान्य विरामि पर्दा समेत अन्यत्र जानपर्ने समस्याको अब छिट्टै अन्त्य हुने भन्दै हेलम्बु गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्न लागेकोमा प्रसन्नता व्यक्त गरे । अस्पताल निर्धारित समय अगावै काम सक्न समेत निमार्ण कम्पनीलाई निर्देशन दिए । कार्यक्रममा अध्यक्ष शेर्पाले अस्पताल निर्माणका लागि जग्गा दिने जग्गादातालाई धन्यवाद समेत दिए ।

गाउँपालिकाका अनुसार बहुबर्षीय योजना अन्तर्गत १८ करोड लागतमा १८ महिनामा उक्त अस्पताल निर्माण सम्पन्न हुनेछ । न्यु ड्राइगन निमार्ण सेवा प्रालिले ठेक्का पाएको अस्पतालको समयमै काम सम्पन्न गरेर गाउँपालिकालाई हस्तान्तरण गर्ने निर्माण व्यवसायी अमर दोङले प्रतिवद्वता जनाए ।

राजधानीकै अस्पतालमा उपचार गर्नुपर्ने बाध्यतामा रहेका स्थानीयहरु आफ्नै ग्रामीण क्षेत्रमा आधुनिक सेवासहित अस्पताल निर्माण हुने भएपछि खुसी भएका छन् । केपि ओली नेतृत्वको तत्कालिन सरकारले १५ शैयाको अस्पतालमा कम्तीमा एक जना विशेषज्ञ चिकित्सक (एमडी) रहने गरी देशभर एक स्थानीय तह एक अस्पताल निर्माणको अभियान सुरु गरेको थियो ।