सिन्धुपाल्चोक जिल्ला समन्वय समितिको पाँचौ जिल्लासभा सम्पन्न, निर्वाचित सांसदहरुलाई सम्मान

दिनेश दुलाल
मंसिर २८, चौतारा । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आफ्नो पाँचौ जिल्ला सभा सम्पन्न गरेको छ । जिल्ला समन्वय समितको सभाहलमा निर्वाचित जनप्रतिनिधि, प्रतिनिधि तथा प्रदेश सांसदहरुको उपस्थितिमा बुधबार पाँचौ जिल्लासभा सम्पन्न भएको हो ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यमा भएको सभामा आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा २ का सांसद बस्नेतले जिल्ला समन्वय समिति नेपालको कानुनले आवश्यकता ठानेर समन्वयकारी भूमिका निर्वाह गर्न जिम्मेवारी दिपनि स्रोतको कमि भएको उल्लेख गरे । ‘समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने भएर होला बजेट त्यहि अनुसारले मात्रै सिमित छ’, सांसद बस्नेतले भने ।

जिल्लाका १२ वटा स्थानीय तहलाई संयोजनकारी भूमिका निर्वाह गर्ने जिल्ला समन्वय समितिको आवश्यकता औंल्याउँदै सांसद बस्नेतले जिल्लामा निर्वाचित सबै सांसदहरु सबै एकढिक्का भएर विकास निर्माणमा लाग्न उद्घोष गरे । त्यस्तै कार्यक्रममा विशेष अतिथि १ नम्बर क्षेत्र प्रतिनिधिसभाका सांसद माधव सापकोटा ‘सुवोध’ ले जिल्ला समन्वय समितिको अकार्यकारी भूमिका नभएपनि रचनात्मक र सृजानात्मक भूमिका निर्वाह गर्ने सक्ने धारणा राखे । ‘जिल्ला समन्वय समिति आफैंमा कार्यकारी भूमिकामा होईन तर पनि यसले रचनात्मक र सृजानात्मक भूमिका निर्वाह गर्न सक्छ’, सांसद सापकोटाले भने । समन्वय समितिले लक्षित वर्ग र तल्लो बर्गको लागि केही गर्न सकिने उल्लेख गर्दैै सांसद सापकोटाले नसमेटिएका, ओझेल परेका र लुकेका विषयलाई समन्वयकारी भूमिका निर्वाह गर्न सुभाव दिए ।

त्यस्तै कार्यक्रममा १२ स्थानीय तहहरुको तर्फबाट बोल्दै चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले जिल्ला समन्वय समितिले स्थानीय तहदेखि माथि प्रदेश र प्रतिनिधिसभा सम्म सचेत ढंगबाट समन्वयनकारी भूमिका निर्वाह गर्न आवश्यक रहेको औंल्याउँदै समन्वय समितिले व्यवस्थापकीय केही कुरा मिलाउन सुझाब दिए ।

सोही सभामा सुभकामना मन्तव्य राख्नै प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले सिन्धुपाल्चोकमा नदि जन्य पदार्थ उत्खनन मापदण्ड अनुसार नभएको उल्लेख गरे । नदिजन्य पदार्थको उत्खनन्, वितरण र भण्डारण गर्दा कानुनको आवश्यकता रहेको औंल्याउँदै प्रजिअ खनालले खानीजन्य पदार्थको उत्खनन अनुगमनलाई जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले तिब्रता दिनपर्ने धारणा राखे ।

त्यसैगरी कार्यक्रममा पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले पालिकामा काम सम्पन्न भईसकेको ५ वर्ष पुगिसक्दा समेत जिल्ला समन्वय समितिले भुक्तानी नदिएको प्रति आक्रोस पोखे ।

पाँचौं जिल्ला सभामा समन्वय समितिका उपप्रमुख पदमनाथ नेपालले २०७९÷०८०को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । जिल्ला समन्वय समितिको संघिय र प्रदेश सरकारबाट आर्थिक वर्ष २०७९।८० का लागी १ करोड ४१ लख ९२ हजार खर्च सिमा प्राप्त भएको समन्वय समितिका उपप्रमुख नेपालले उल्लेख गरे । समन्वय समितिले प्राप्त अनुदान रकमलाई कर्मचारी तलब, महंगी भत्ता, भ्रमण भत्ता, इन्धन, सवारी मर्मत, अनुगमन र अध्यन भ्रमण जस्ता अनुत्पादनक क्षेत्रमा मात्र कार्यक्रम देखिएको कार्यक्रममा एक सहभागीले सिन्धुज्वालाई बताए ।

यसैबीच पाचौं जिल्ला सभामा भर्खरै निर्वाचित सिन्धुपाल्चोकबाट प्रदेश तथा प्रतिनिधिसभामा निर्वाचित सांसदहरुलाई जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले सम्मान गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख बाल कृष्ण श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्लामा रहेका स्थानीय तहका प्रमुख उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष सहित जिल्लाका ६ जना सांसदहरु तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।