गठबन्धनको २५ करोडको चिठ्ठा हेलम्बु–५ लाई, कार्यान्वयन हुनेमा भने आशंका

दिनेश दुलाल
मंसिर २२, चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का लागि वाम लोकतान्त्रिक गठबन्धनले घोषणा गरेको २५ करोडको चिठ्ठा हेलम्बु गाउँपालिका वडा नम्बर ५ ले पाउने भएको छ ।

मंसिर ४ को निर्वाचनका लागि मतदाताहरुलाई आकर्षित गर्न यो नयाँ जुक्ती अपनाएको वामलोकतान्त्रिक गठबन्धनले प्रतिनिधिसभा क्षेत्र नम्बर २ ले ४९ वडाको लागि उक्त रकमको चिठ्ठा घोषणा गरेको थियो । गठबन्धनबाट विजयी बनेका प्रतिनिधिसभा २ का उम्मेदवार मोहन बहादुर बस्नेतले जुन वडाले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुलाई बढी मत खसाल्छन् त्यो वडालाई दिने विकासको अतिरिक्त थप २५ करोडको बजेट चिठ्ठा स्वरुप प्रदान गरिने घोषणा गरेका थिए ।

प्रतिनिधिसभा २ मा वामलोकतान्त्रिकबाट जितेका प्रतिनिधिसभा सदस्यमा मोहनबहादुर बस्नेत तथा प्रदेश सभामा युवराज दुलाल र कृष्णबहादु तामाङ

गठबन्धनले घोषणा गरेअनुसार हेलम्बु गाउँपालिका ५ नम्बर वडा गठबन्धनलाई सबभन्दा बढी मत खसाल्नेमा पहिलो भएको छ । कुल खसेको मत १०४३ रहेकोमा उक्त वडाले गठबन्धनका उम्मेदवार बस्नेतको पक्षमा ७६८ अर्थात ७३.६३ प्रतिशत मत खसालेको थिए । एमालेका उम्मेदवार शेरबहादुर तामाङलाई भने २०४ अर्थात १९.५६ प्रतिशत मात्रै खसेको थियो ।

यस्तै दोस्रोमा चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ७ सानोसिरुवारी भएको छ । २०३५ कुल मत खसेकोमा साविकको सानोसिरुवारीले गठबन्धनको पक्षमा १४२२ अर्थात ६९.८८ प्रतिशत मत खसालेको थियो भने एमालेका उम्मेदवार तामाङको पक्षमा जम्मा ३५१ मत मात्रै झरेको थियो ।

यसैगरी ६६.३२ प्रतिशत गठबन्धनको पक्षमा मत खसालेर मेलम्ची नगरपालिका वडा नम्बर ८ क्यौरिनी तृतीय र ६५ प्रतिशत मत खसालेर चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ चौथो नम्बरमा परेको छ ।
यस्तै गठबन्धनको पक्षमा कम मत खसाल्ने पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ७ रहेको छ । उक्त वडाले गठबन्धनका उम्मेदवार बस्नेतलाई ४७९ र एमालेका उम्मेदवार तामाङलाई ६७० मत दिएका थिए । यहाँ जम्मा १६६८ मत खसेको थियो ।

यसैगरी एमालेका उम्मेदवार तामाङले प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा सबभन्दा बढी मत ईन्द्रावती गाउँपालिका वडा नम्बर ९ बाट ल्याएका छन् । उनले त्याहाँ ५७७ मत अर्थात ५७.७३ प्रतिशत मत ल्याउँदा बस्नेतले ३६९ अर्थात ३६.७९ प्रतिशत प्राप्त गरेका थिए । यो वडामा कुल खसेको मत १००३ खसेको थियो ।

मतदाताहरुहरुलाई आर्कषित गर्न वामलोकतान्त्रिकबाट विजयी बनेका बस्नेतले उक्त बाचा पुरा गर्नेमा भने मतदाताहरुले आशंका गरेका छन् । एउटा वडाको लागि विकास बजेटको अतिरिक्त यतिठूलो २५ करोड प्राप्त गर्ने कुरा असम्भव भएको हेलम्बु–५ स्थानीयको तर्क छ । उम्मेदवारको चुनावी हथकण्डा भएको उनीहरुको बुझाई छ । वामलोकतान्त्रिकबाट जितेका बस्नेतको निर्वाचित भएको दुई साता बितिसक्दा समेत कुनै प्रतिक्रिया दिएका छैन । निर्वाचन आउन एकदिन बाँकी रहँदा बस्नेतले मतदताहरुलाई दिएको झुट्टा आश्वासनलाई समेत जिल्ला निर्वाचन कार्यालयले कुनै चासो नदिएको विपक्षी दलको आरोप छ ।

बस्नेतले एमालेका उम्मेदवार शेरबहादुर तामाङलाई ११ हजार ८ सय ७४ मतान्तरले पछि पार्दै जित हाँसिल गरेका थिए । बस्नेतले ३९ हजार ३ सय ६७ मत ल्याउँदा तामाङले २७ हजार ४ सय ९३ मत प्राप्त गरेका थिए । १ लाख २९ हजार ५ सय ६४ कुल मतदाता रहेको क्षेत्र नम्बर २ मा ७६ हजार ५ सय ६४ मत खसेको थियो ।