माओवादीको मतपरिणाम चुनौति र अवसर दुवै

लालकान्छा तामाङ ‘अरुण’

नेकपा (माओवादी केन्द्र) नेपालको राजनीतिक परिवर्तनको संवाहक शक्ति हो भन्ने कुरा सायद कसैले नकार्न सक्दैनन् । तर आज माओवादी शक्ति किन झन् पछि झन् क्षिण हँुदै छ ? माओवादीकै एजेण्डामा वर्तमान राष्ट्रिय राजनीति र देश चलिरहेको छ, फेरी पनि अहिलेको चुनावी मतपरिणामको कोणबाट हेर्दा ०६४ मा सबै भन्दा ठूलो पार्टी आज ०७९ मा आइपुग्दा किन यति धेरै खुम्चिन पुग्यो ? यि प्रश्नको जवाफ खोज्ने बेला भैसकेको छ । नेतृवले सोच्नु पर्ने बेला भयो र हामी सबैले समिक्षा गर्नै पर्छ । हामीले कतै वर्गीय धरातल छोडेको त छैन ? हामीले कतै आफ्नै वलिदानलाई बिर्सेको त छैन ? हामीले कतै भुँइ छोडेर उड्न थालेको त छैन ? गम्भीर समिक्षा गर्ने बेला आएको छ ।

हाम्रो कार्यशैलीमा खोट लागेको हो कि ? हाम्रो कार्यनीति नै फेल भयो कि ? हामी नेकपा (माओवादी केन्द्र) मा आबद्ध सम्पूर्ण पार्टी सदस्यहरुले आफुलाई सुदृढ् बनाउदै पार्टी निर्माणको लागि सुयोग्य पात्रको रुपमा खडा गर्नुको विकल्प छैन । हामी अरुसंग चुनावी गठबन्धन गरेर कहिले सम्म परनिर्भतामा रमाउने ? हामी सांगठनिक रुपमा आत्मनिर्भर बन्ने कोशिस गर्ने कि नगर्ने ? यहां सांगठनिक सुद्धिकरण तथा सुदृढिकरणको आवश्यक्त अपरिहार्य छ । नीति, सिद्धान्त र राजनीतिक बिचारधारा सहि हुंदाहुंदै पनि हामीप्रति जनताको यति विग्ना अस्वीकारोक्ति किन ? पार्टीमा आबद्ध विभिन्न तह र तप्कका नेतृत्व वर्गले सोच्नु पर्ने बेला भयो । वास्तवमा विगतलाई फर्केर हेर्ने हो भने वीरतापूर्ण ईतिहांस रच्दै २४० वर्षसम्म जरा गाडेर बसेका सामन्तवादका मुख्य संस्था राजतन्त्र फालेर यो देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने युगान्तकारी संघर्षको नेतृत्व नेकपा (माओवादी केन्द्र) ले नै गरेको हो ।

बृहत शान्ति सम्झोता गरेको दिनबाट आज सम्मको समय अन्तरालमा माओवादी सिध्याउन राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्ति केन्द्रहरु पैताला देखि टुपी सम्मको बल निकालेर लागेकै हो । तर संसारका कुनै पनि तागतले माओवादी शक्तिलाई सिध्याउन सक्दैनथ्यो । किनकि कुनै बस्तुको सबल र दुर्वल पक्षको कारकतत्व आन्तरिक पक्ष नै प्रमुख हुने गर्छ र बाह्य पक्ष सहायक मात्र हुन्छ । तसर्थ हामी बलियो हुँदा हाम्रै कारणले भएको थियो, आज हामी कमजोर अवस्थामा हाम्रै कारणले पुगेका छौ । त्यसो हुँदा हाम्रो कमजोर पक्षहरु के के हुन र कहाँ कहाँ छन ? तत्काल एउटा अन्वेशनको शुरुवात गर्न जरुरी छ । हामी कहाँ र केमा चुक्यौं, अन्वेशन आफैबाट शुरु गरौं । हाम्रो अगाडी चुनौतिको ठूलै पहाड खडा छ, यसको सामना गर्न सक्छौं या सक्दैनौ ? आफ्नो परिक्षा आफैंले लिउँ ।

सधैंभरी नेतृत्वलाई सराप्ने र दोष दिने काम बन्दा गरौं । किनभने पार्टीको जग माथी होइन तलै हुन्छ । जग बलियो भय मात्र धुरी बलियो हुन्छ । खल्बलिएको जगलाई कहिल्यै नभत्किने गरी रेट्रो फिटिङ् गर्नै पर्छ । अब कार्यशैली र ब्यक्तिगत जीवनशैली अरुको कपिपेस्ट गरेर हुनेवाला छैन । हामीले आफ्नै कार्यशैलीको विकास गर्नु पर्दछ । नाम माओवादी, काम गर्ने तौरतरिका र जीवन ब्यबहार अर्कै हुन थालेपछि आजको यो परिणाम भोग्नु परेको तितो सत्य हाम्रो अगाडी आएको छ । यसो भन्दै गर्दा हाम्रो जीवनशैली जनयुद्धकालको जस्तै हुनु पर्ने हो त ? कदापी होइन । किनभने हामी अहिले ०५२ सालमा छैनौ, हामी गणतन्त्रको युगमा आइपुगेका छौं र हिजोको जनयुद्ध भन्दा सयौं गुण पेचिलो संघर्षको पिरेडमा छौं । तसर्थ बदलिदो परिस्थिति अनुसार संघर्षको स्वरुप पनि बदलेको छ ।

त्यसकारण बदलिएको परिस्थितिलाई आत्मसात गर्दै हामीले आफुलाई बदल्नै पर्ने हुन्छ । हामीले आफुलाई बदल्न सकेनौ भने दुनिया र समाज बदल्ने कुरा कोरा कल्पना मात्रा हुनेछ । हामीलाई आजको मतपरिणामले चुनौती मात्रा खडा गरेको छैन, सच्चिने र सुध्रिने ठूलै अवसर समेत प्रदान गरेको छ । हामी सच्चिने मुख्य विधि भनेको जनसम्वन्ध नै हो । यद्यपि जनतासंग जोडिनुको विकल्प छैन । हामीले जतिसुकै ठूला काम गरे पनि जनतासंग जोडिएको छैन भने त्यसको अर्थ हुंदैन । तसर्थ पार्टीमा आबद्ध हामी प्रत्येक नेता, कार्यकर्ताले जनतासंग हातेमालो गर्नै पर्दछ । यसरी जनसम्बन्धलाई प्रगाढ बनाउदै लगेपछि मात्रा हामी असल कार्यकर्ता बन्न सक्छौ । कार्यकर्ताहरु मात्रा होइन कि निर्वाचित सांसद र अब बन्ने मन्त्रीहरुले समेत यहि विधी अपनाउदै आफुलाई एक असल सांसद तथा मन्त्री सावित गर्न जरुरी छ । मन्त्री, सांसदहरुले व्यक्तिगत लाभलाई केन्द्रबिन्दुमा राखेर घेराबंदी गर्ने अवसरवादी बिचौलीयाहरुको घेरा तोडेर जनतामा स्थापित हुनु पर्ने आबश्यक्त टड्कारो छ । एउटा सांसदले सबैसंग सम्बन्ध राख्नै पर्दछ तर जनसम्वन्धलाई प्राथमिकता दिन अपरिहार्य आबश्यक्त छ ।

असल नेता, कार्यकर्ता, सरकारी ओहोदामा सहभागी मन्त्री, सांसद र सम्पूर्ण जनप्रतिनिधिहरुको गठजोडले मात्रा एउटा सबल र शसक्त पार्टी निर्माण गर्न सकिन्छ । हामीमा रहेको नकरमत्मक उर्जा हटाउदै पार्टी निर्माणको लागि सकारत्मक उर्जा भर्दै अगाडी बढौं, एकदिन अवश्य पनि जनताको सबै भन्दा प्यारो पार्टी नेकपा (माओवादी केन्द्र) बनाउन हामी सफल हुने छौं । ग्रामिण भुगोलका जनताले अहिले पनि माओवादीकै साथ र सहयोग खोजि रहेका छन् । बिचार, सिद्धान्तप्रति जनताको अस्वीकारोक्ति कदापी पनि होइन । जनताको अस्वीकारोक्ति हामी नेता, कार्यकर्तालाई नै हो भन्ने कुरा बुझ्न जरुरी छ । हामी जनताबाट धेरै टाढा पुगिसकेछ भन्ने कुरा हाम्रो मतपरिणामले देखाएको छ । अब सिङ्गो पार्टी जनतामा फर्किनै पर्दछ, हामी सप्रे जनताकै बीचमा सप्रिने छौं र बिग्रे पनि जनताले नै सुध्रिने शिक्षा दिने छन् । त्यसैले त कमरेड माओले जनतालाई गुरु मानेको हो । हामी त्याग, तपस्य र वलिदानको जग बसाल्दै विशाल पार्टी निर्माण गर्दै आएको निर्माण कर्ताहरु हौं । आज त्यो त्याग र तपस्याको जग भत्किएको सर्बत्र महसुस हुन थालेको छ ।

हामीले हाम्रो धुरी जोगाउनु छ भने धुरी चढेर जोगिने वाला छैन । धुरी जोगाउनै पर्छ तर जग बलियो नबनाइ जोगाउन सकिदैंन । लगभग ०७० साल देखि यता हामीलाई पार्टीको आधारबिन्दु अथबा जगप्रतिको चिन्ता लाग्न छोडेकै हो । जगले थेग्न सक्छ या सक्दैन भन्ने ख्यालै नगरि हामी सबै धुरि चढ्न थाल्यौ । चढ्न सक्ने जति धुरिमै पुगे, कोहि खचाखच हँुंदा धुरिबाट खसे, चढ्न नसक्नेहरु पनि हस्यांङ्फस्यांङ् गर्दै धुरि तिरै चढ्ने प्रयास जारी राखेपछि आजको यो परिणाम भोग्न हामी सबै बाध्य भयका छौं । तर हामी फेरि तलबाट जग् बसाल्न सक्छौं । हामीसंग विचार सिद्धान्तको अचुक हतियार छ । हामी आफैंप्रति निर्मम् बन्दै जनतामा फर्किने तयारीमा लागौं । फेरि पनि जनताको अपार मायाँ प्राप्त गर्न हामी अबश्य सफल हुने छौं । चुनौतिको सामना गर्दै अवसरलाई चुम्न सिकौं ।
(लेखक माओवादी केन्द्रका बागमति प्रदेश कमिटि सचिवालय सदस्य हुन)