सिन्धुपाल्चोकमा ४४ उम्मेदवारको जमानत जफत
दिनेश दुलाल
मंसिर १६,
चौतारा । निर्वाचनमा उम्मेदवारी दिएकामध्ये सिन्धुपाल्चोकमा ४४ उम्मेदवारको जमानत जफत भएको छ । जिल्लामा प्रतिनिधिसभातर्फ २ र प्रदेशसभातर्फ ४ क्षेत्रमा गरी ५६ जनाले उम्मेदवारी दिएका थिए । जिल्ला निर्वाचन कार्यालय निर्वाचन अधिकृत विकास रिजालका अनुसार सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको धरौटी जफत भएको हो ।
प्रतिनिधिसभातर्फ दुवै क्षेत्रमा विजयी भएका सत्ता गठबन्धनका उम्मेदवार र एमाले पार्टीका उम्मेदवारको मात्रै धरौटी सुरक्षित छ । क्षेत्र–१ मा कुल सदर मत ६६ हजार २८ थियो । जसमध्ये १० प्रतिशत मत नपाउने ८ जनाको धरौटी जफत भएको छ ।
यहाँ सत्ता गठबन्धनबाट माओवादीका उम्मेदवार माधव सापकोटा ‘सुवोध’ विजयी भएका थिए । निकटतम प्रतिद्वन्द्विमा एमालेका सरेश नेपाल थिए । उनीहरू दुवैको जमानत रकम सुरक्षित हुँदा यहाँ १२ जनाको जमानत जफत भएको हो ।
क्षेत्र–२ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका मोहन बहादुर बस्नेत विजयी भएका थिए । एमालेका एमालेका शेरबहादुर तामाङ दोस्रोे स्थानमा रहे । यी २ बाहेक अन्य ११ जनाको धरौटी जफत भएको छ । यहाँको सदर मत ७३ हजार ६ २२ थियो ।
त्यसैगरी प्रदेशसभा सदस्यतर्फ क्षेत्र–१ (१) मा ७ उम्मेदवारको धरौटी जफत भएको छ । यो क्षेत्रमा ३२ हजार २ सय ५९ मत सदर भएको थियो । यहाँ ५ उम्मेदवारले धरौटी जोगाउन सकेनन् । त्यस्तै, क्षेत्र–१ (२) मा सदर भएको ३४ हजार ४ सय १८ मतमध्ये ६ जनाले १० प्रतिशत मत कटाउन सकेनन ।
क्षेत्र–२ (१) मा यो क्षेत्रमा ३६ हजार ४ सय १८ मत सदर भएको थियो । यहाँ ५ उम्मेदवारले धरौटी जोगाउन सकेनन् । त्यस्तै, क्षेत्र–२ (२) मा सदर भएको ३८ हजार ९५ मतमध्ये ६ जनाले १० प्रतिशत मत कटाउन सकेनन । प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिन १० हजार र प्रदेशसभा सदस्यमा उम्मेदवारी दिन ५ हजार रुपैयाँ धरौटी राख्नुपर्ने प्रावधान छ ।