सिन्धुपाल्चोकमा ‘क्लीन स्वीप’, ६ सिटै सत्ता गठबन्धनको पोल्टामा

दिनेश दुलाल
मंसर ९, चौतारा । सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारहरू निर्वाचित भएका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र २ तथा प्रदेशसभा ४ रहेको सिन्धुपाल्चोकमा वाम लोकतान्त्रिक गठबन्धनले २ प्रतिनिधिसभा सहित ६ सिट जितिसकेका छन् । सिन्धुपाल्चोकमा एमालेले ६ वटा सिट गुमाएको छ ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य माधव सापकोटा ‘सुवोध’ विजयी भएका छन् । सापकोटाले एमालेका सरेश नेपाललाई ३ हजार ३५६ मतले पछि पार्दै विजयी भएका हुन । उनले ३० हजार ३७४ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का सरेश नेपालले २७ हजार १८ मत पाएर पराजित बने । त्यस्तै राप्रपाका नारायण पाण्डेले १ हजार ६४७, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश श्रेष्ठले ३ हजार ४९८ मत ल्याएका छन् । यसैगरी क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका मोहन बहादुर बस्नेत निर्वाचित भएका छन् । उनले एमालेका उम्मेदवार शेरबहादुर तामाङलाई ११ हजार ८ सय ७४ मतान्तरले पछि पार्दै जित हाँसिल गरेका हुन् । बस्नेतले ३९ हजार ३ सय ६७ मत ल्याउँदा तामाङले २७ हजार ४ सय ९३ मत प्राप्त गरेका थिए ।

क्षेत्र नं १ प्रदेशसभा ‘क’ मा खड्का

निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा (क) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी मसिना खड्का बिजयी भईसकेकी छिन् ।
एमालेका युद्धविक्रम तामाङलाई ११ सय ६२ मतले पछि पार्दै कांग्रेसकी मसिना खड्का प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन् । प्रदेशसभा सदस्यमा निर्वाचित भएकी खड्काले १४ हजार ६ सय ५२ मत प्राप्त गरेर विजयी हासिल गरिन भने एमालेका युद्ध बिक्रम तामाङलले १३ हजार ४ सय ९० मत ल्याएर पराजित भएका छन् ।

क्षेत्र नं १ प्रदेशसभा ‘ख’ मा सरल

सिन्धुपाल्चोक क्षेत्र नं १ प्रदेशसभा ‘ख’ मा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका सरल सहयात्री पौडेल विजयी भएका छन् । पौडेलले १७ हजार २५६ मत ल्याएर विजयी बने । उनका प्रतिद्धन्द्धी एमालेका होम नारायण श्रेष्ठलाई ४ हजार २४३ को मतान्तरले पछाडि पार्दै सरल बाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । श्रेष्ठले १३ हजार १३ मत ल्याएर पराजित भए ।
दुई वटा क्षेत्र रहेको सिन्धुपाल्चोकमा क्षेत्र नं. १ को मतपरिणाम आईसकेको छ क्षेत्र नं. २ को प्रदेशसभा ‘क’मा (गठबन्धन) माओवादी केन्द्रका युवराज दुलाल (सरद) विजयी भईसकेका छन् ।

सिन्धुपाल्चोक २ प्रदेशसभा ‘क’ मा दुलाल

सिन्धुपाल्चोक क्षेत्र नं २ प्रदेशसभा ‘क’ मा बागमति प्रदेशका पूर्व सामाजिक विकास मन्त्रि युवराज दुलाल (शरद) भारी मतले विजयी भएका छन् । शरदले २० हजार ९ सय ६ मत पाएका छन् । उनका प्रतिद्धन्द्धी एमालेका उम्मेदवार अमान सिं तामाङलाई ८ हजार ७ सय ६७ फराकिलो मतान्तरले पछाडि पार्दै शरद बागमति प्रदेशसभा सदस्यमा निर्वाचित भएको हो । एमालेका तामाङले भने १२ हजार १ सय ३९ मत ल्याएका छन् । शरद माओवादी केन्द्रका पोलिटब्युरो सदस्य पनि हुन् । उनी दोस्रो पटक प्रदेशसभामा निर्वाचित भएका हुन । भने तामाङ विसं २०७४ को निर्वाचनमा माओवादीकै उम्मेदवार भएर चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर भएका थिए । दुलाल र तामाङ तत्कालिन समयमा एउटै पार्टी माओवादी केन्द्रमा आवद्ध थिए । तर तामाङ दुई महिना अघि मात्र माओवादी त्याग गरेर एमाले प्रवेश भएका थिए ।

क्षेत्र नं २ प्रदेशसभा ‘ख’ मा कृष्णबहादुर तामाङ (समिर)

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ अन्र्तगत (ख) प्रदेशसभाका लागि कांग्रेसका उम्मेदवार कृष्णबहादुर तामाङले १ हजार ५ सय ५ मतान्तरले एमालेका हस्त पण्डितलाई पराजित गर्दै निर्वाचित भएका छन् । तामाङले १७ हजार ७ सय ५८ मत ल्याउँदा उनका प्रतिश्पिर्धी एमालेका हस्त पण्डितले १७ हजार २ सय ५६ मत ल्याएर पराजित भएका थिए । राती अबेर परिणाम आएसंगै सिन्धुपाल्चोकमा ६ वटै सिट सत्ता गठबन्धनले हात पार्न सफल भएको छ ।
१ लाख ३० हजार ७ सय ९ कुल मतदाता रहेको सिन्धुपाल्चोकमा १ नम्बर क्षेत्रमा ६१ हजार ९ सय ५६ मत खसेको थियो । त्यसैगरी १ लाख २९ हजार ५ सय ६४ कुल मतदाता रहेको क्षेत्र नम्बर २ मा ७६ हजार ५ सय ६४ मत खसेको थियो ।