सिन्धुपाल्चोकमा ‘क्लीन स्वीप’ को सम्भावना, ६ सिट सत्ता गठबन्धनको पोल्टामा ?

दिनेश दुलाल
मंसिर ८, चौतारा । सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारहरू निर्वाचित भएका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र २ तथा प्रदेशसभा ४ रहेको सिन्धुपाल्चोकमा वाम लोकतान्त्रिक गठबन्धनले एक प्रतिनिधिसभा सहित ४ सिट जितिसकेका छन् ।

१ नम्बर क्षेत्र प्रतिनिधि सभा सदस्यमा निर्र्वाचित नेकपा (माओवादी) केन्द्रका माधव सापकोटा ‘सुवोध’

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य माधव सापकोटा ‘सुवोध’ विजयी भएका छन् । सापकोटाले एमालेका सरेश नेपाललाई ३ हजार ३५६ मतले पछि पार्दै विजयी भएका हुन । उनले ३० हजार ३७४ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का सरेश नेपालले २७ हजार १८ मत पाएर पराजित बने । त्यस्तै राप्रपाका नारायण पाण्डेले १ हजार ६४७, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश श्रेष्ठले ३ हजार ४९८ मत ल्याएका छन् ।

क्षेत्र नं १ प्रदेशसभा ‘क’ मा खड्का

प्रदेशसभा (क) मा गठबन्धनको तर्फबाट निवर्पाचित नेपाली कांग्रेसकी मसिना खड्का

निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा (क) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी मसिना खड्का बिजयी भईसकेकी छिन् ।
एमालेका युद्धविक्रम तामाङलाई ११ सय ६२ मतले पछि पार्दै कांग्रेसकी मसिना खड्का प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन् । प्रदेशसभा सदस्यमा निर्वाचित भएकी खड्काले १४ हजार ६ सय ५२ मत प्राप्त गरेर विजयी हासिल गरिन भने एमालेका युद्ध बिक्रम तामाङलले १३ हजार ४ सय ९० मत ल्याएर पराजित भएका छन् ।

क्षेत्र नं १ प्रदेशसभा ‘ख’ मा सरल

प्रदेशसभा ‘ख’ मा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका सरल सहयात्री पौडेल

सिन्धुपाल्चोक क्षेत्र नं १ प्रदेशसभा ‘ख’ मा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका सरल सहयात्री पौडेल विजयी भएका छन् । पौडेलले १७ हजार २५६ मत ल्याएर विजयी बने । उनका प्रतिद्धन्द्धी एमालेका होम नारायण श्रेष्ठलाई ४ हजार २४३ को मतान्तरले पछाडि पार्दै सरल बाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । श्रेष्ठले १३ हजार १३ मत ल्याएर पराजित भए ।
दुई वटा क्षेत्र रहेको सिन्धुपाल्चोकमा क्षेत्र नं. १ को मतपरिणाम आईसकेको छ भने क्षेत्र नं. २ को प्रदेशसभा ‘ख’ को मतगणना जारी छ । यहाँ गठबन्धनका उम्मेदवारको अग्रता कायम छ । क्षेत्र नं. २ को प्रदेशसभा ‘क’मा (गठबन्धन) माओवादी केन्द्रका युवराज दुलाल (सरद) विजयी भईसकेका छन् ।

सिन्धुपाल्चोक २ प्रदेशसभा ‘क’ मा दुलाल

२ नम्बर क्षेत्र प्रदेशसभा (क) मा गठबन्धनको तर्फबाट निर्र्वाचित नेकपा (माओवादी) केन्द्रका युवराज दुलाल

सिन्धुपाल्चोक क्षेत्र नं २ प्रदेशसभा ‘क’ मा बागमति प्रदेशका पूर्व सामाजिक विकास मन्त्रि युवराज दुलाल (शरद) भारी मतले विजयी भएका छन् । शरदले २० हजार ९ सय ६ मत पाएका छन् । उनका प्रतिद्धन्द्धी एमालेका उम्मेदवार अमान सिं तामाङलाई ८ हजार ७ सय ६७ फराकिलो मतान्तरले पछाडि पार्दै शरद बागमति प्रदेशसभा सदस्यमा निर्वाचित भएको हो । एमालेका तामाङले भने १२ हजार १ सय ३९ मत ल्याएका छन् । शरद माओवादी केन्द्रका पोलिटब्युरो सदस्य पनि हुन् । उनी दोस्रो पटक प्रदेशसभामा निर्वाचित भएका हुन । भने तामाङ विसं २०७४ को निर्वाचनमा माओवादीकै उम्मेदवार भएर चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर भएका थिए । दुलाल र तामाङ तत्कालिन समयमा एउटै पार्टी माओवादी केन्द्रमा आवद्ध थिए । तर तामाङ दुई महिना अघि मात्र माओवादी त्याग गरेर एमाले प्रवेश भएका थिए ।

यसैगरी क्षेत्र नम्बर २ तर्फ प्रतिनिधिसभा सदस्यका उम्मेदवार कांग्रेसका मोहनबहादुर बस्नेतले ११ हजार मतान्तरले एमालेका शेर बहादुर तामाङलाई पछि पारेका छन् । हेलम्बु गाउँपालिकाको मत गनिसक्दा २६१९३ मत ल्याएर बस्नेत जीतको अन्तिम अवस्थामा पुगेका छन् । उनका प्रतिद्वन्द्वी तामाङले १५ हजार ६ मत ल्याएका छन् । सोही क्षेत्रमा गठबन्धनै प्रदेशसभा उम्मेदवार कृष्णबहादुर तामाङले ५ हजार १ सय ८३ ल्याउँदा उनका प्रतिश्पिर्धी एमालेका हस्त पण्डितले ३ हजार ६ सय ६७ मतले पछि परेका छन् । यो हेलम्बु सम्मको परिणाम हो । गन्न बाँबी रहेको पाँचपोखरी थाङपाल पण्डितलाई बढी मत खस्ने सम्भावना रहेपनि र मेलम्ची नगरपालिकाका ३ वटा वडा बाहेकमा गठबन्धनको वर्चश्व रहेकाले तामाङले सजिलै चुनाव जित्ने गठबन्धनमा आवद्व एक नेताले सिन्धुज्वालालाई बताए । उनका अनुसार यदि कृष्णबहादुरले चुनाव जिते गठबन्धनको पक्षमा सिन्धुपाल्चोक क्लीन स्वीप हुनेछ । अर्थात ६ वटै सिट एमालेले गुमाउने छ । यद्यपि अन्तिम परिणाम नआएसम्म बाँकी रहेको प्रदेशसभाको १ सिट आफ्नो पक्षमा आउनेमा एमालेले अझै आशा मारेको छैन् ।