लोकतान्त्रिक वाम गठबन्धनद्वारा सिन्धुपाल्चोकमा २५ करोडको चिठ्ठा ?

दिनेश दुलाल
मंसिर १, चौतारा (सिन्धुपाल्चोक) । बजारमा कुनै सामान किन्दा चिठ्ठा वा उपहार प्राप्त हुने सबैले सुन्ने गरेकै हो । ग्राहकलाइ आर्कषित गर्न व्यापारीहरुले आफ्नो व्यवसायमा मूल्य अनुसारको परिमाणमा चिठ्ठा खोल्ने प्रचलनमै छ । तर राजनीतिमै चिठ्ठा पर्ने भन्ने विषय भने नौलो भएको छ । सिन्धुपाल्चोक २ नम्बर क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनले मतदाताहरुलाई आकर्षित गर्न यो नयाँ जुक्ती अपनाएका छन् ।

वाम लाेकतान्त्रिक गठबन्धनले ठूलाेसरूवारीमा अायाेजना गरेकाे अहिले सम्मकै सबैभन्दा ठूलाे काेणसभा

प्रतिनिधि तथा प्रदेश सभाको चुनाव आउन ३ दिन बाँकी रहँदा लोकतान्त्रिक वाम गठबन्धनले आज आयोजना गरेको कोणसभा कार्यक्रममा प्रतिनिधिसभा २ का लागि गठबन्धनका साझा उम्मेदवार मोहनबहादुर बस्नेतले यस्तो बजेट उपहारको घोषणा गरेका हुन् । तर यति ठूलो परिणामको बजेट उपहार उम्मेदवार बस्नेतले सित्तैमा दिन लागेको नभई जनताको भोटसंग साट्न लागेका हुन् । ४९ वडा रहेको यो क्षेत्रमा जुन वडाले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुलाई बढी मत खसाल्छन् त्यो वडालाई दिने विकासको अतिरिक्त थप २५ करोडको बजेट चिठ्ठा स्वरुप प्रदान गरिने उम्मेदवार बस्नेतले घोषणा गरे ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ ठूलोसिरुवारी कोठडाँडामा आज आयोजित कोणसभाका सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि उम्मेदवार बस्नेतले भने, ‘यो २ नम्बर क्षेत्रमा जुनचाँही वडाले सबभन्दा बढी वामलोकतान्त्रिक गठबन्धनलाई मत खसाल्छ त्यस वडामा २५ करोडको थप बजेट उपहार स्वरुप प्रदान गर्नेछौं ।’ वडालाई सिंचाई वा खानेपानी मध्य एउटा र मुख्य सडक १ गरी दुई योजना छनौट गर्न आग्रह गर्दै उम्मेदवार बस्नेतले आफूले बोलेको कुरा जसरी पनि पुरा गरिछाड्ने प्रतिवद्वता जनाए । ‘तपाइहरुले ल्याएको योजनालाई माथि पु¥याएर पार्ने काम मेरो हो, यदि फाईल बीचैमा अड्कियो भने घाच्चघुच्च पार्न जानेकै छु,’ बस्नेतले घुमाउरो तरिकाले धम्कीपूर्ण भाषमा भने । एमालेका उम्मेदवार शेरबहादुर तामाङलाई ‘स्यालबहादुर’ को संज्ञा दिंदै उम्मेदवार बस्नेतले पूर्व सामाजिक विकासमन्त्री युवराज दुलालले ल्याएको योजनाको आधा पनि पार्न नसकेको भन्दै तामाङ माथि व्यङ्ग प्रहार गरे ।

कार्यक्रममा लोकतान्त्रिक वाम गठबन्धन तर्फबाट प्रदेश सभाका लागि साझा उम्मेदवार युवराज दुलालले आफ्नो उद्देश्य ‘विकासको बाकस मोडेल’ भएको बताउँदै निर्वाचन पछि नयाँ तरिकाबाट नयाँ योजना ल्याउन लागेको सुनाए । ‘तपाईहरुले भने जस्तै नचुहिने गरी थुन्चेभरी वामलोकतान्त्रिक गठबन्धनलाई मत दिनुहोस त्यहि अनुसारको हामी विकास दिन्छौं’, उम्मेदवार दुलालले भने । आफ्नो क्षेत्रमा चौतर्फी विकासको योजना ल्याई सबभन्दा बढी काम गरेको दावी गर्दै उम्मेदवार दुलालले चुनाव सकिन साथ १३ नम्बर वडालाई चुनाव पछि पहिलो उपहारको रुपमा जलकिनी देखी डौंठे सम्मको सडकलाई कालोपत्रे गराईने प्रतिवद्वता जनाए ।

कार्यक्रममा १३ नम्बर वडाअध्यक्ष रामप्रसाद गौतमले पाँच वर्षमा चुनावको बेलामा मात्र आउने अन्य उम्मेदवार जस्तो नबन्न उम्मेदवारद्वोयलाई आग्रह गरे । कार्यत्रममा कांग्रेस जिल्ला कार्यसमितिका पूर्व सचिव झलक नेपाल, समाजवादीकी नेतृ दयालक्ष्मी श्रेष्ठ लगाएतले गरिब जनताको जीवनस्तर उकास्ने खालको योजना ल्याउन उम्मेदवारहरुलाई आग्रह गरे । ढिलोगरी दिउसो ३ बजे कोटडाँडामा उलेख्य जनताको उपस्थितिमा सुरु भएको कोणसभा वामलोकतान्त्रिक गठबन्धनको चुनाव अघिको अन्तिम कार्यक्रम हो । आयोगले जारी गरेको निर्वाचन सम्बन्धी आचारसंहितामा आज राती १२ बजेबाट दल तथा उम्मेदवारहरुले चुनावी प्रचार÷प्रसार गर्न पाउने छैनन् । मंसिर ४ गते यताको ७२ घण्टाको अवधिलाई मौन अवधि मानिन्छ ।