मंसिर ४ पछि फेरी एमाले–माओवादी केन्द्रबीच मिलन ?

दिनेश दुलाल

२०७४ को प्रदेश र प्रतिनिधिसभाको चुनाव पछि तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकताले पार्टी पंक्तिदेखि स्थिरताको आकांक्षा राख्ने आम नेपालीलाई उत्साहित पारेको थियो । मुलुकको विकास र समृद्विमा यो एकताले कम्तिमा तीन दशक थेग्छ भन्ने धेरैलाई लागेको थियो । तर तीन वर्ष पनि टिकाउन मुश्किल प¥यो । अन्ततः पाँच वर्ष पछि मंसिर–४ मा हुन गईरहेको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा हिजो एउटै पार्टी बनेको दल अहिले एकआपसमा भिडन्त गर्दैछन् । यो अन्तिम भिडन्त हो या वर्षौ वर्ष रहिरहन्छ ? यो चुनावबाट दुवै पत्तासाफ हुन्छन् ? या एकताका लागि नयाँ आधार बन्छ ? पक्कै आगमी चुनावले न्युक्र्यौल गर्नेछ ।

अहिले अग्रगामी बिचार बोकेको भनिएको माओवादी केन्द्र र दक्षिणपन्थी यथास्थितिवादी बुर्जुवा बिचार बोकेको भनिएको कांग्रेस एउटै जुवामा नारिएर चुनावी मोर्चामा होमिएका छन् । विचार, शिद्वान्त, राजनैतिक कार्यदिशा र उद्देश्य फरक भनिएपनि पूर्व र पश्चिम तिरका यि दुईपार्टी गठबन्धन गरेर चुनावमा भिड्दैछन् । कतिपयले यसलाई असान्दिर्भिक र अपवित्र गठबन्धन भनेर टिप्पणी गरेका छन् । शैद्वान्तिक हिसाबले फरक भएपनि व्यवहारिक हिसाबले करिब–करिब सबै दलहरुका कार्यशैली एउटै छन् । त्यसकारण यो गठबन्धनलाई अपवित्र भनिराख्न आवश्यक छैन । त्यसो भय आज कांग्रेससंग गठबन्धन गरेको माओवादी केन्द्रले भोलिका दिन एमालेसंग सत्ता समिकरणको लागि एकता गर्न किन नहुने ? यो सबाल एकातिर छ ।

के फेरी माओवादी केन्द्र र एमालेबीच एकता होला त ? यो आम जनातमा उब्जेको सबाल हो । कतिपयले एमाले र माओवादी केन्द्रलाई माटोको भाँडो फुटेको संज्ञा दिएका छन् । माटोको भाँडो फुटेपछि जोडिदैन त्यो साँचो हो, किनकी माटो निर्जिव पथ्थर हो । तर एउटै रंगका कम्युनिष्टहरु मानवीय गुणका आधारमा फेरी पनि जोडिन सम्भव छ । भनिन्छ–‘राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन ।’ माक्र्सवाद र भौतिकवादी दृष्ट्र्किोण मान्नेहरुले यहि भन्छन् ।

माओवादी केन्द्रले एमालेलाई दुई दुईपटक संसद भंग गर्ने संविधान विरोधी तथा संघीयता विराधी पार्टी भनेर आरोप लगाई रहेको छ । जे ईसुमा आज माओवादी केन्द्र र एमाले बीच कटुता र शत्रुतापूर्ण व्यवहार भईरहेको छ । यो भोली एकताको लागि सामन्य विषय हो । किनकी दुई नेताबीच एकआपसमा मन नमिल्दा सम्म शैद्वान्तिक रुपमा गम्भिर विषय हो भनेर अड्को थाप्ने बाहाना मात्रै हो । कुनै दिन एमाले नेता केपी शर्मा ओली लुत्रुक्क परेर प्रचण्डका अगाडि क्षमा याचना माग्ने वित्तिकै प्रचण्ड भावनामा बगेर सहमतिको खाका कोर्न तयार हुन्छन् । किनकी विचरा प्रचण्ड जाउन काहाँ जाउन ?

हिजो पार्टी फुट्नुको मुख्य आधार दुई पार्टीका अध्यक्षहरुको स्वार्थको जोडघटाउ पक्कै थियो । किनकी यि दुई वृद्व मनुवा हिजो जर्वजस्ती पार्टी एकता गर्ने र फेरी पार्टी फुटाउने वाला हुन् । किनकी कार्यकर्ताले न हिजो एकता हौ भनेका थिए, न ‘फुट’ भनेका नै थिए । भोली फेरी एकता भइहाल्यो भने जतिसुकै मन भाँचिएपनि मन कुँडिएपनि तिनै कार्यकर्ताले जयजयकार गाउनै पर्छ । अहिले सम्मको राजनैतिक संस्कारले यहि सिकाएको छ ।

यस्तो थियो विगत

माओवादीको सहयोगमा २४ असोज २०७२ मा पहिलो पटक प्रधानमन्त्री बनेका ओलीको ९ महीनाको सरकार माओवादीकै असहयोगले ढलेको थियो । त्यसपछि नेपाली कांग्रेसको समर्थनमा दाहाल प्रधानमन्त्री बनेका थिए, १९ साउन २०७३ मा । परिस्थिति र घटनाक्रमले त्यतिबेला उत्तर र दक्षिण फर्काएका ओली र दाहाल समयक्रममा एक ठाउँ आइपुगेका थिए । जस अनुसार २०७४ सालको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वामगठबन्धन बनाएर नजिकिएका ओली र दाहाल ३ जेठ २०७५ मा औपचारिक रुपमै पार्टी एकीकरण गरेपछि एउटै पार्टीका संयुक्त अध्यक्ष बनेका थिए । ओली र दाहाल नजिकिएपछि एकीकृत पार्टीका रुपमा गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली र दाहालबीचको खटपटकै कारण सम्भवतः दुई दुईपटक संसद विघटन र पार्टी फुटको अवस्थामा पुगेको थियो ।

त्यसोत चुनावी गठबन्धन हुनु अघि नै ओली र दाहाल एक अर्काका स्वभाव र कमीकमजोरीबारे राम्रोसँग जानकार थिए । विपरीत दुई ध्रुबमा फर्केका तत्कालीन एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको मिलनले भने धेरैलाई आश्चर्य पारेको थियो । सत्ता सहकार्य टुटेपछि एक हिसाबले पानी बाराबारकै सम्बन्धमा पुगेका ओली र दाहाललाई आखिर के कुराले एउटै पार्टीमा समाहित गरायो त ? कुरा स्पष्टै छ की ओली र दाहालको तीब्र महत्वाकांक्षाले काम गरेको पक्कै हो । जुनेबला एकता हुँदा कुनै सैद्धान्तिक अधारमा छलफल भएन, एकताको मुल आधार विचार, दर्शन, संगठन केही थिएन । एकताको मुख्य आधार भनेकै पार्टीका दुई जना नेता आलोपालो प्रधानमन्त्री बन्ने, एकैचोटी अध्यक्ष बन्ने थियो ।

अर्को सबाल कांग्रेस र माओवादीबीच २०७४ को स्थानीय निर्वाचनमा जस्तै गठबन्धन प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि भएमा स्पष्ट बहुमतसहितको शक्तिशाली प्रधानमन्त्री बन्ने आफ्नो आकांक्षामा धक्का लाग्ने ओलीले राम्ररी बुझेका थिए । दाहाललाई कांग्रेससँगको सहकार्यबाट अलग गर्दै आफूसँग ल्याए आफ्नो लक्ष्य सुनिश्चित हुने ओलीको आकलन थियो ।

ओलीका लागि यो किन पनि जरुरी थियो भने कांग्रेस–माओवादी गठबन्धन बनेको भए प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन एमालेका लागि स्थानीय तह निर्वाचन जस्तो सहज हुँदैन्थ्यो । स्थानीय तह निर्वाचनमा स्थानीयस्तरमा भिजेका नेता–कार्यकर्ताका कारण धेरै ठाउँमा जित सुनिश्चित भए पनि प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतः पार्टी निर्णायक हुन्थ्यो ।

यसमा लाभ प्र्रचण्डले पनि देखेका थिए । दाहालको बुझाइ थियो– कांग्रेस भन्दा एमालेसँग मिल्दा बढी लाभ मिल्थ्यो । एक त वाम गठबन्धन भनेर प्रचार गर्न पाइने, अर्को एमालेसँगको वार्गेनिङमा आलोपालो प्रधानमन्त्री सहित धेरै भूमिका पाउन सकिने । यहि रसग्रन्थी पलायसी दुवैमा एकताको हुटहुटी चलेको थियो ।

अर्को गाँठी कुरा के थियो भने । यदि शत्रुलाई सिध्याउनु छ भने उस्लाई आफू नजिक आउने सहज वातावरण बनाईदिन पर्छ भने झैं माओवादीप्रति निकै आक्रमक र असहिष्णु देखिँदै आएका ओली आफ्नो पार्टीमा समाहित गराएर उसलाई छिन्नभिन्न पार्न चाहन्थे । त्यसका लागि सबभन्दा सहज विकल्प माओवादीलाई एमालेमा विलय गराउनु थियो । ‘घिउ बेचुवा र तरवार बेचुवा’ को कथा जस्तै आखिर त्यहि योजना ओलीले पुरा गरि छाडे ।

पार्टी फुट्नुको अर्को कारण एमाले र माओवादीको एकीकरणपछि प्रचण्डका महत्वाकांक्षा पूरा नहुनु, उनको पूर्वानुमान असफल हुनुको परिणाम पनि हो । जसमा माधव नेपाल झलनाथ खनाल लगाएत ‘सौताको रिसले…..’ प्रचण्डसंग लतारिएकै हुन् ।
ओलीसंग असन्तुष्ट पूर्वएमालेको ठूलो पंक्ति आफूतिर ल्याएर ठूलो पार्टी बनाउने प्रचण्डको सपना थियो तर त्यो उनका लागि थप प्रतिउत्पादक बन्यो । किनकी एकातिर माधव र झलनाथ लगाएतले छुट्टै पार्टी एकीकृत समाजवादी गठन गरे । जुन अहिले माओवादी केन्द्र र कांग्रेसको बुई चढेर चुनावी मैदानमा होमिएको छ । एैजेरु जस्तै बनेको यो पार्टीको भविश्य पनि अन्यौलग्रस्तै छ ।

अब हुन्छ के ?

आउँदो मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा दुई शक्तिकेन्द्र भिड्दैछन । एकातिर कांग्रेस, माओवादी सहितको पाँचदलीय लोकतान्त्रिक वाम गठबन्धन छ भने अर्कोतिर एमालेले राप्रपा, जसपा लगाएतसंग चुनावी तालमेल गरेर भिड्दैछ । यो चुनाव मुख्य त तीन शक्ति बीचको भिडन्त हो ।

कांग्रेस संगको माओवादी केन्द्रको गठबन्धन चुनाव सम्मको लागि मात्र हो । चुनावसम्म यि दुई पार्टी कति ईमान्दार बन्लान त्यो भने हेर्न बाँकी नै छ । तर जे जस्तो भएपनि फाईदा बढी कांग्रेसलाई नै हुनेछ । गठबन्धन गरेकै कारण कांग्रेसले ९१, माओवादी केन्द्रले ४६, एकीकृत समाजवादीले २१ र राष्ट्रिय जनमोर्चाले २ सिटमा उम्मेदवारी दिएका छन् । सत्तारुढ दलहरू कांग्रेस र माओवादी केन्द्रबीच प्रतिनिधिसभाका १६३ सिटमा गठबन्धन भए पनि काठमाडौं–३ र १० भने चुनावी तालमेल भएको छैन । यसले पनि यो गठबन्धन कति टिक्ला भनेर अड्कल गर्न सकिन्छ ।

सत्तारुट दलका नेताहरुले अबको दुई चुनाव सम्म यो गठबन्धन कायम रहने भनिएपनि त्यो सम्भावना छैन् । जोतिशीद्वारा ७ पटक प्रधानमन्त्री हुने अभिशेक पाएका शेरबहादुरले ७ औं सत्ता बिराजमान नभएसम्म प्रचण्डलाई सत्ता सुम्पन गाह्रो छ । यदि उनको भविश्यवाणी तोडिएपनि अर्कोतिर शेखर सहितको गगनको टिमले स्विकार्नेवाला छैन । यहि सत्ता समिकरणको कारणले सत्ता गठबन्धन दिगो हुन गाह्रो छ । अर्कोतिर चुनावी सत्ता गठबन्धनको प्रभावका कारण यो चुनावबाट खुम्चिएको एमालेले कतिबेला कांग्रेससंग माओवादी केन्द्रको खटपट होला भनेर मौका पर्खिरहने छ । किनकी ओली एमाले लामो समय सत्ता बाहिर रहने जात होईन । कांग्रेसलाई माओवादीले लामो समय बोकेको न त उस्लाई सहिसक्नु हुन्छ, न माओवादीले नै कांग्रेसलाई लामो समय बोक्न नै सक्छ । संख्याको हिसाबले एमालेले प्रत्यक्ष तर्फ थोरै सिट जितेपनि समानुपातिकले गर्दा अन्तत ः एमाले दोस्रो र माओवादी सुधारतात्मक तेस्रो पार्टी हो । कांग्रेसका अगाडि दुवै कमजोर पार्टी आखिर नमिली सुखै छैन । सम्भव त अर्को चुनाव सम्म कुर्नु नपर्ला । ‘ओली बा’ र ‘ईगो’ प्रवृति हरायसी एमालेलाई पनि अन्त जाने ठाउँ छैन । किनकी आफूलाई नराम्रोसंग हराउने कांग्रेससंग मिल्न सक्ने सम्भावना एमालेको कम छ । अतः विगतका सबै तिता, नमिठा कुराहरुलाई थाँती राखेर फेरी एमाले र माओवादी केन्द्र बीच मिलनको विन्दु फेला नपर्ला भन्न सकिदैंन । यसलाई अस्वभाविक र असान्र्दिभिक पनि भन्न सकिदैन । हिजोका सबै परिघटना सबै माथ हुनेछ ।