लालपुर्जा नपाउँदा सम्म मतदान बहिष्कार गर्ने चेतावनी दिंदै डुम्रेबासी सदरमुकाम चौतारामा

दिनेश दुलाल
कार्तिक २७, चौतारा । यतिबेला गाउँघरमा चुनावी माहोल तातेको छ । मंसिर–४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवारहरु जनताका घर–घरमा मत माग्न व्यस्त छन् । तर चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ११ डुम्रेबेसीका स्थानीयलाई भने चुनाव भन्दा पनि लालपुर्जाकै पिरलो छ । सीमा विवादका कारण वर्षौ देखि जग्गाधनी पुर्जा नपाएका डुम्रेबासीले चुनाव आउन ठिक एकसाता अघि आज जिल्ला प्रशासन कार्यालय, चौतारा साँगाचोकगढी नगरपालिका तथा जिल्ला निर्वाचन कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएका छन् ।

साँगाचोकगढी नपा, जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा ज्ञापनपत्र बुझाउदै सिन्धु (काभ्रे) डुम्रेबेशीका जनता ।

सिन्धुपाल्चोक र काभ्रे जिल्लाको दोसाँधमा रहेका बेलडाँडा, दोलालघाट, बन्देउटार र डुम्रेबेँसीमा बर्षौदेखि बसोबास गर्दै आइरहेका १ सयभन्दा बढि घर परिवार लालपुर्जाको लागि संघर्ष गरिरहेको ज्ञापनपत्र बुझाउन आएका डुम्रेका स्थानीय ठूलोबाबू माझीले सिन्धुज्वालाई बताए । उनका अनुसार सुनकोसी र इन्द्रावतीनदीले सिमाना बनाएको बीचको भागमा पर्ने यो क्षेत्रका नागरिकसँग नागरिकता, मतदाता, परिचयपत्र र तिरो तिरेको रसिद छ, तर लालपुर्जा छैन ।

सुरुमा जिल्लाको सीमा विवादका कारण नापी नभएको यो क्षेत्रमा अहिले सम्म कित्ता नापी नहुँदा नागरिक बिभिन्न समस्या झेलिरहेको अर्का स्थानीय प्रेमबहादुर माझी बताउँछन् । पटक–पटक आन्दोलन गर्दा पनि आफुले भोगचलन गरेको र नियमित तिरो तिरेको जग्गाको लालपूर्जा नपाएपछि माग पुरा नभए मतदान बहिस्कार गर्ने योजना रहेको सहभागी सुशिला माझीको भनाई छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा लालपुर्जाको समस्या सुल्टाउने उम्मेदवारलाई भोट हाल्ने मनस्थितीमा आफूहरु रहेको उनले सुनाईन । चुनाव घोषणा भएयता डुम्रेमा अहिलेसम्म कुनै उम्मेदवार भोट माग्न नआएको स्थानीयको भनाई छ ।

डुम्रेका नागरिकले राज्य भएको महसुस गर्न नसकेको अधिबक्ता समेत रहेका ११ नम्बर वडाका वडाअध्यक्ष रोशनराज गिरीको भनाई छ । जिल्लाको सीमा विवादका नाममा जग्गाको कित्ता नापी नहुँदा बर्षौ देखि नागरिकले आफ्नो अधिकार उपभोग गर्न नपाएका उनको भनाई छ । उनका अनुसार यहाँ बसोबास गर्ने हरेक परीवारसँग तिरो तिरेको रसिद पनि छ तर घरजग्गाको लालपुर्जा छैन । स्थानीय प्रशासन ऐन २०२८ को दफा ३ ले दिएको अधिकार प्रयोग गरेर तुलसी गिरी प्रधानमन्त्री हुँदा ०३३ साल माघ २८ गतेको मन्त्रिपरिषद् बैठकले सुनकोसी र इन्द्रावती नदीलाई सीमाना मानेर वारिपारि सिन्धुपाल्चोक र काभ्रे हुने निर्णय गरेको थियो । ०४३ सालमा नापीले यी गाउँ सिन्धुपाल्चोकभित्र पर्छन् भनि नक्सा दिएपनि २०४५ सालमा राष्ट्रिय पञ्चायतमा रहेका काभ्रेका गोविन्द उप्रेतीले कित्ता नापी गर्ने सरकारी अभियानलाई रोक्का गरिदिएको स्थानीय बताउँछन् । विवादका कारण त्यसयता यो क्षेत्रमा कित्ता नापी भएको छैन्, जसका कारण स्थानीय आफ्नै जग्गा भोगचलन गर्नबाट बञ्चित भएका छन् ।

अल्पसंख्यक माझी समुदायको करिब ४० घरपरिवार बसोबास रहेको डुम्रेका बासिन्दा आफ्नो जग्गाको किता नापि गराई लालपुर्जा वितरण कार्यको बाचा नगरेसम्म आसन्न निवार्चनमा मतदान नगर्ने अडानमा छन् । ज्ञापनपत्र बुझ्दै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल तथा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले पीडितको मागलाई छिट्टै समाधान गरिदिने बचन दिए । यो क्षेत्रमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका र काभ्रेको भुम्लु गाउँपालिका दुवैको दाबी छ ।