जुरे पहिरो पीडितको नाममा राजनीति, पीडित भन्छन्–‘यसपटक नो भोट’

दिनेश दुलाल
कार्तिक २४, जुरे (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको जुरेमा १ सय ४५ जनाको एकै चिहान भएको ८ वर्ष पुरा भईसकेको छ । यो ८ वर्षमा यहाँका थुप्रै पार्टी तथा नेताहरुमा परिवर्तन आयो । नेताहरुको व्यक्तिगत जीवनशैली फेरीयो, देशमा धेरै परिवर्तन भयो तर जुरे पहिरो पीडितहरुको अवस्था अझै उस्तै छ । ०७१ साउन १७ गतेको राति जुरेमा पहाडै खस्यो । राम्चेको इटिनी भीर खस्दा मांखा कागुने, ड्यामसाइड र टेकानपुरका १ सय ४५ ले ज्यान गुमाए । कति घाइते र अंगभंग भए ।

सयौंको घरवास खेदियो, पहाड नै खसेपछि १४ घण्टासम्म सुनकोसी थुनियो । १४ घण्टा सुनकोसी बगेन, जुरेमा आँसु मात्र बगिरह्यो । १ सय ४५ जनाको जीवनलीला समाप्त पार्नेगरि जुरेमा पहाड खसेको ५ वर्ष पूरा भएको छ । पहिरोले उजाड बनाएका भीरपाखामा रुखबिरुवा पलाइसकेका छन् । खण्डहर बनेको त्यो ठाउँ क्रमश हरियाली बन्दैछ तर पहिरोका पीडित र विस्थापितका मुहारमा खुसी फर्किएको छैन अझै पनि । पहिरोले विस्थापित बनाएकाहरु अझैपनि विस्थापित जीवन बिताइरहेका छन् । उनीहरु पहिलेकै जग्गाजमिनमा फर्कन सकिरहेका छैनन् ।
जुरे पहिरो पीडितहरुका लागि भन्दै जनस्तरबाट २ करोड २४ लाख रुपियाँ संकलन भयो, जिल्ला दैवि प्रकोप उद्धार समितिको खातामा अहिले पनि त्यो रकम छ तर पीडितहरुले पाउन सकेका छैनन् । पीडितहरुको नाममा संकलन भएको रकम आफुहरुले पाउनु पर्ने माग राख्दै पीडितहरुले धेरै पटक आन्दोलन गरेपनि संकलीत रकम पीडितहरुले पाउँन सकेका छैनन् ।

८ वर्ष अघि पहिरोमा परिवारका ८ जनालाई गुमाएका ड्यामसाइडमा अस्थाई बसोबास गरेर बसेका चन्द्रमान तामाङको मनको घाउ अझै निको भएको छैन । पहिरोमा दाजुका परिवार सहित ८ जनाका गुमाएका चन्द्रमान जस्तै सोही पीडित दुई घरका गरी १३ जना परिवार गुमाएका रामबहादुर लामाको पनि उस्तै पिडा छ । ५०÷६० रोपनीका मालिक रामबहादुरको सबै जग्गा पहिरोमा परेपछि अन्यत्र जग्गाजमिन नभएपछि ड्याम साईडमा अस्थायी आवास बनाएका छन् । उनी जस्तै अरु पीडितहरुले सार्वजनिक स्थलमा घर बनाएर बसिरहेका छन् ।

पीडितको अवस्था यस्तो हुँदा समेत यस क्षेत्रका जनप्रतिनिधिहरुले दोहोरो चरित्र देखाएको पीडितहरको आरोप छ । ‘पहिरो गयो, घर लग्यो बनाएको घर पनि फेरी भुकम्पले लग्यो, जनस्तरबाट संकलन भएको रकममा पनि नेताहरुकै कारण सरकारले अंकुश लगाएपछि किन भोट हाल्नु ?’, लामाले आक्रोस पोख्दै सिन्धुज्वाला संग भने । पीडितहरुको नाममा सकंलन भएको रकम पीडितहरुलाई नै वितरण गर्ने व्यवस्था मिलाउन नेताहरुकै देहोरो चरित्रका कारण नसकिएको उनको आरोप छ ।

आगमी मंसिर–४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा जुरे पहिरो पीडितहरुले ‘नो भोट’ को नीति अपनाउने रामबहादुरको भनाई छ । जिल्लाका नेताहरुले जुरे पहिरो पीडितहरुको नाममा राजनीति गरेर व्यक्तिगत लाभ उठाएको पीडितहरुको आरोप छ । प्रत्येक चुनावमा आफ्नो पैसा खर्च गरेर दलका उम्मेदवारहरुलाई पटक–पटक जिताउनु नै गल्ति भएको अर्का पहिरो पीडित प्रकाश लामाको बुझाई छ । कुनै दलका उम्मेदवारहरु प्रति आफूहरुको विश्वास नभएपछि मंसिर–४ मा मतदान गर्न जनाने मनस्थितिमा पुगेको पीडितहरुले बताएका छन् । उनीहरुका अनुसार कुनै दलका उम्मेदवारहरु जुरे पहिरो पीडितहरुकोमा भोट माग्न जान सकेका छैनन् ।