सिन्धुवासी एक मतदाताको अपिल

प्रभात विश्वकर्मा

ध्रुव पराजुलीजस्ता इमान्दार, जनमुखी र गरिबमुखी उमेदवारलाई अत्याधिक बहुमतले विजय गराऔँ ।

हामीले भन्यौँ, राणा र राजाहरुले देश लुटे, कंगाल बनाए तर, के राणा र राजाहरुले मात्रै देश लुट्दा रहेछन् ? कंगाल बनाउँदा रहेछन् ? के हामीले भोगिरहेको गणतन्त्रका केही छोटे राणा र राजाजस्तै आकांक्षी नेताहरुले देशलाई लुटिरहेका छैनन्, बर्बाद बनाइरहेका छैनन् ? वंश, अंश र अर्थको राजनीतिमा मात्रै लिप्त भएका छैनन ? के पार्टीका निश्चित नेता, कार्यकर्ता र तिनीहरुको अकुत सम्पत्ति कति पुस्तासम्मको लागि सञ्चित गरिएको होला आम नेपाली जनतालाई थाह छैन र ? के त्यसको असर हामी सबैले भोगिरहेका छैनौ र ?
आम्दानी पचास हजार वा एकलाखसम्म नहुने जनप्रतिनिधि र कर्मचारीको करौडौ बंगला कसरी ठडिएका होलान् ? लाखौँको गाडी कसरी जोडिए होलान् ? छोराछोरीले महंगो स्कुल, कलेज र विदेशसम्म कसरी पढीरहेका होलान् ? आम्दानीको मुख्य स्रोत र अकुत सम्पत्ति कमाउने माध्यम किन ठेक्कापट्टा र व्यापार व्यवसाय मात्रै बन्यो होला ? किन ठेक्कापट्टा र व्यापार व्यवसाय अधिकांश निश्चित नेता, कार्यकर्ता पार्टीका हनुमान मात्रैले पाउने र पोशाउने व्यवसाय बन्यो होला ? किन कोही नेता, कार्यकर्ता र पार्टीहरु ठेकदार र व्यवसायी विना चल्न नसक्ने भएका होलान् ? उत्तर सजिलो छ, पार्टी राजनीति समाजसेवी उत्पादन गर्ने थलो नभएर ठेकदार र व्यापारी जन्माउने कारखान भयो । यो गति अझ तिब्र गतिमा गणतन्त्रपश्चात बढ्दै गयो । व्यवहारले यही पुष्टी गर्छ ।

स्वतन्त्र उम्मेदवार ध्रुव प्रसाद पराजुली

जब कुनै दुई पैसा लगानी विना, औपचारिक उच्च शिक्षाको अध्ययन विना, वर्षौवर्षी समाजसेवाको अनुभव विना, पार्टी राजनीतिमा दुईचार वर्ष लागेकै भरमा र आफ्नो बंश(बा, आमा, बाजे दाजुभाई वा रगत नजिक साइनो भएका) वा खलकको राजनीतिक आडमा तीन पुस्ते शक्ति, सम्पत्ति, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत आवश्यकतामा आफ्नो पकड जमाउन मात्रै न्वारनदेखिको बल लगाएर पार्टी राजनीति गरिन्छ भने, वंशले चलेको राणा, राजा र गणतन्त्रमा फरक के ? जब उस्तै मान्छेका जिन्दगी एउटै भूमिमा आधारभूत आवश्यकता परिपूर्ति गर्न आकाश र जमिनको फरक हुन्छ, जब उस्तै मान्छेको जिन्दगी एउटै भूमिमा कोही सुखले खाएरै विरामी हुने कोही दुख हण्डर र खानै नपाएर मर्ने हुन्छ, अनि उस्तै मान्छेको जिन्दगी जब एउटै भूमिमा जन्मदेखि नमरुञ्जेलसम्म विभेदै विभेदैको खाडल र गरिबीमा बाँच्न बाध्य हुन्छ र अर्कोको जिन्दगी आत्मसम्मान र अवसरै अवसरले चुलिरहने स्थिति बन्छ तब बोल्न पाउने गणतन्त्रले मात्रै गर्छ के ? कस्को लागि हो यो गणतन्त्र ?

के व्याप्त भ्रष्टचार, धनी र गरिबबीचको खाडल, व्याप्त लैंगिक र जातिय विभेद, विदेशमा काम गर्न बाध्य युवायुवतीको दुर्दशा, आकाशिदो महंगी, विषम सामाजिक विभेदको पर्खाललाई आवाधिक निर्वाचनमा आउने पार्टीका हावादारी घोषणापत्र र समृद्धीका गुडीहरुले मात्रै सम्बोधन गर्ला ? जब गणतन्त्र ल्याउनको लागि दुख र त्याग गरेका आफ्नै पार्टीका नेताहरुले सामन्ती राजतन्त्रको राजा महाराजहरुझै बंश, अंश, अर्थ(पैसा) र गुटको राजनीतिलाई निरन्तरता दिदैँ देश लुटछन्, लुटतन्त्रलाई दिर्घजीवी बनाउन गठबन्दनको नाममा आफ्नै पार्टीको सिद्धान्त र आदर्शलाई पोल्छन् र जनतालाई बेवकुफ र बर्बादी बनाउछन्, तब के उनीहरुको नेतृत्वलाई चुनावी वा गैरचुनावी मोर्चाहरुबाट विदाई गर्नुको विकल्प छैन र ? के दिशाहिन नेता, नेतृत्व र यो मक्कीसकिएको पुरानो पार्टी, सरकार र यस्ताहरुलाई जग हाल्ने विद्यमान भ्रष्ट आर्थिक, सामाजिक र राजनीतिक संरचनालाई फेरबदल गर्न जरुरी छैन र ? जरुरी छ । यो नेपाली समाजको यतिबेलाको एक अपरिहार्य ऐतिहासिक आवश्यकता ।

तर बदल्ने कसरी ? हो, फेरबदल गर्ने धेरै तरिकाहरु हुन्छन् । समयले छोटो र लामो प्रक्रिया दुबै लिन सक्दछ । शान्तिपूर्ण र सशस्त्र दुबै हुन सक्लान् । जुन प्रक्रियाबाट अहिले भनिएका कांग्रेस र कम्यूनिष्ट पार्टीहरु गुज्रिए । चुनाव पनि यस्तै एक कार्यनीतिक प्रक्रिया हो । यस्ता आवश्यकताहरुलाई पक्रन यत्तिबेला चुनावी मोर्चामा होमिएका ध्रुव पराजुलीहरुजस्ता जनताका समस्याहरुलाई सडक र सदनमा वकालत गर्ने माध्यम बन्नसक्दछन् । औजार बन्न सक्दछन् । जसरी भर्खरै सम्पन्न स्थानीय निर्वाचनबाट उदाय हर्क साङपाङ र बालेनहरु । जसले प्रयत्न गर्दै छन, घुस नखाने, कमिसन नखाने, परिश्रम गर्ने, पारदर्शी हुने, अध्याँरो कोठाहरुमा मात्रै बसेर निर्णय नगर्ने, असल वा खराब कर्मको सूचना जनतालाई संप्रेषण गर्ने, तथा राज्यस्रोत र सेवामा जनताको पहुँचलाई बढाउने । यद्यपी यिनै पात्र र प्रवृत्ति सर्वकालिका भने होइन तर, यो भ्रष्ट सत्ता र सामाजिक÷राजनैतिक संरचनामा यी र यस्ता वीऊहरु बाँचेका पनि छन् है भन्ने दसी प्रमाणचाहिँ हो । जो समयक्रमसंगै फेरबदल भइरहन सक्दछन् । बन्ने भत्किनी, भत्किनी बन्ने प्रक्रियामा सामेल भइरहने हुन्छन् ।

हिजो सामन्ती, प्रतिगामी, पुनरुत्थानवादी भनिएका र अहिले राजतन्त्रवादीको ट्याग लागेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टचार गर्नु मेरो आमाको रगत खानु बराबर हो भनेर भोट मागे, माग्दैछन् । तर, आफूलाई क्रान्तिकारी, गणतन्त्रवादी भन्नेको हालत हेरौँ त, कति मञ्जाक छ है । किन गर्दैनन् आँट यस्तो भन्न, आफूलाई लोकतन्त्रवादी, गणतन्त्रवादी र क्रान्तिकारी भन्नेहरुले । अनि किन प्रमाणीत गर्दैनन् आफ्ना कर्महरुलाई असल व्यवहारद्धारा ? उत्तर सजिलो छ यसको पनि, आफै भ्रष्ट र कमिसनखोर भएपछि कसरी आउँछ नैतिक दम । फेरि पत्यादिने कसले ?

यसरी लोकतन्त्रको नाममा लुटतन्त्रलाई मलजल गर्ने यस्तो विषम परिवेशमा धु्रव पराजुलीहरु जस्ता(समयको सापेक्षतामा) उमेदवारहरु (पुजीवादी संसदीय व्यवस्था रहुञ्जेलसम्म) उभिनु यो नेपाली समाजको एक सुखद संयोग हो । जसले औसत रुपमा र अन्य नेतृत्वको तुलनामा आजसम्म इमान्दार, आर्दश र निष्ठाको राजनीति गर्दै आयो । जसले जत्तिसुकै प्रयत्न गर्दापनि पार्टी नीति र व्यवहारमा असंगति, नेता र जनताको जीवनस्तरमा आकाश र जमिनको अन्तर देखिपछि आफ्नै रगत पसिनाले सिंचिएको पार्टीलाई त्यागिदियो । जनयुद्धमा लड्दा र माओवादीमा हुँदासमेत पद, प्रतिष्ठा र पैसाको राजनीतिमा कहिल्यै डुबल्कीमा मारेन बरु, पार्टी र यसको मूल नेतृत्वमा बैचारिक स्खलन र मूल्यमान्यतमा ब्यापक ह्रास आएपछि समग्र राजनीतिलाई फरक विचार र दर्शनबाट पहिल्याउँदै जनसेवामा समर्पित हुने कोशिस गर्यो । नेपाली समाजको रुपान्तरणलाई कसरी जनमुखी बनाउन सकिन्छ भनेर अध्ययन अनुसन्धानमा लागिरह्यो । त्यस्तो आर्दश, निष्ठा र सरल जीवनशैली बोकेको भूईतह मान्छेलाई आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं २ बाट भारी मतले विजय गराऔँ । नयाँ, सक्षम र इमान्दारलाई भोट पुराना, भ्रष्ट, कमिसनखोर र लुटेराहरुलाई चोटको सवक सिकाऔँ ।

भ्रष्टचार र कमिसनखोरले देश खत्तम भयो भन्ने हामी । खराब नेता, तिनका नातागोता, आसेपासे, हुक्के, चम्चे र ढोके मात्रैले देशको स्रोतसाधन दोहन गरे भन्ने हामी । तर, फेरि त्यस्तै मान्छेलाई जिताएर पुन सरकार, कर्मचारीतन्त्र, सेना, प्रहरी र समाजको नेतृत्व गर्न वा सुम्पन चुनावद्धारा जिताइदिने पनि हामी भयौँ भने कसरी हामीमाथिको शोषणको अन्त्य होला ? जो चुनावमा भाग लिन्छौँ, त्यस्ता भ्रष्ट उमेदवारहरुलाई पुरै तिरस्कार गरौँ । जो चुनाव बहिष्कार गछौँ उसले त सबैलाई तिरस्कार गर्ने नै भयौँ । अध्याँरा कोठाका कर्तृतहरु, सरकार, सदन, मन्त्रालय, न्याय, सेना, प्रहरीलगायत सरकारी वा अर्धसरकारी क्षेत्रहरुमा हुने भ्रष्टचार, ढिलासुस्ती, कमिशन, वेथिति, विसंगती र सबै प्रकारको समाजिक विभेदविरुद्ध चुनावी र गैरचुनावी मोर्चाहरुबाट आआफ्नो अभिमत जोडदार रुपमा व्यक्त गरौँ ।

त्यसैले चुनावमा भोट हाल्न जाँदा हामीले भोगिरहेको यो कहालीलाग्दो कुशासनलाई तथ्यतथ्याँकसहित जनताबीच ल्याउने, जनताको समस्या सदनमा पुर्याउने, नीति निर्माण र जनसेवाका कार्यहरुमा आफ्नोभन्दा जनताको स्वार्थलाई केन्द्रविन्दुमा राख्ने र राज्यस्रोत साधन र सेवामा जनताको पहुँच अभिवृद्धि गर्ने जनप्रतिनिधिहरुलाई (जुनसुकै पार्टीका हुन्) रोजौँ र निर्वाचित गरौँ । ध्रुव पराजुली सिन्धुवासीका लागि यत्तिबेला यस्तै एक इमान्दार र नैतिकवान जनमुखी उमेदवार हुन् । जसलाई यसपटक जिताएर परिक्षण गरौँ । पछि उनको कामका आधारमा दण्ड र पुरस्कृत गरौँला । अवश्य धु्रवजस्ता पात्रहरु जित्दा जनताको अभिमत जित्ने हो, हारे व्यक्ति मात्रै पराजित हुने हुन् । फेरिपनि पुरानो शासकहरु नै रोज्यौँ भने पुन भ्रष्टचार, कमिशनखोर, वेथिति, विसंगती, गरिबी र सामाजिक विभेदको विषमतालाई निरन्तरता दिनु हो । त्यसैले विवेकको मत प्रयोग गरौँ र ध्रुव पराजुलीहरुजस्तालाई जिताऔँ । जितेपनि, हारेपनि इमान्दार, सदाचार, जनमुखी र गरिबमुखी राजनीतिज्ञलाई रोजौँ र जिताऔँ । यीनी र यस्तै वीऊहरुलाई हुर्काउन र जोगाउन सके मात्रै नेपाली राजनीतिमा कमाइखाने भाँडो बनाउनेलाई ढिला र चाँडो परास्त गर्न सकिनेछ । त्यसैले हाम्रालाई होइन राम्रालाई रोजौँ, भ्रष्टचारी र लुटेराहरुको अन्त्य गरौँ ।
१९ कार्तिक २०७९