उम्मेदवारलाई भोट माग्न हतारो, किसानलाई बाली स्याहार्ने चटारो
दिनेश दुलाल कार्तिक २१, चाैतारा । आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनले गाउँ सहरमा राजनीतिक सरमर्गी बढाएको छ । राजनीतिक दलका नेता र उम्मेदवार यतिबेला मतदाता रिझाउँदै गाउँ–गाउँ, बस्तीबस्ती र कृषकका बारीबारीमा पुगिरहेका छन् ।
सिन्धुपाल्चाेकका किसानलाई भने धान बाली भित्र्याउने चटारो छ । वर्षा भयो भने धान नोक्सान हुने दिने डरले उनीहरु आकाश हेर्दै धमाधम धान भित्र्याउन थालेका छन् । उम्मेदवार तथा नेता कार्यकर्ता प्रचार सामग्री बोकेर खेतबारीमै पुगेर भोट मागी रहेका छन् । उनीहरु आफ्नो दुःख पीडा बुझिदिने नेताले मात्र चुनाव जितोस् भन्ने पक्षमा छन् । सिन्धुपाल्चाेकका अधिकांश किसान यतिबेला धान काट्ने र थन्काउने चटारोमा छन् । कामको मुख्य याममा चुनाव आए पनि हरसम्भव सहभागी भएर असल नेता छान्ने उनीहरुको धोको छ ।
प्रतिनिधि तथा प्रदेशसभामा उम्मेदवार बनेका नेतालाई भोट माग्न मतदाताको घरदैलोमा पुग्न हतारो छ भने किसानलाई धानबाली भित्र्याउने चटारो । शनिबार सिन्धुपाल्चोक प्रतिनिधसभा २ का लागि एमालेका उम्मेद्वार शेरबहादुर तामाङ तथा प्रदेशसभा उम्मेद्वार अमानसिं तामाङ धानबिटा लगाईरहेका सानाेसरूवारी झ्याडीका किसानका माझ टुप्लुक्क पुगे । उनले किसानसंग मत माग्दै एकछिन धान समेत चुटे । अाफ्ना कार्यकर्ता सहित मत माग्न लावालस्कर किसानका खेतबारीमा उम्मेद्वार पुगेका भने याे नाैलाे हाेईन । यसअघि पनि पूर्व सामािजक विकासमन्त्री युवराज दुलालले यसै गरेकाे सामाजिक सन्जालमा छाएकाे थियाे ।
किसानका लागि मानो रोपेर मुरी उत्पादन गरेको अन्नबाली भित्र्याउने अहिले मुख्य समय हो । त्यसैले धेरै मतदाता धान खेतमै व्यस्त छन् । उनीहरूलाई चुनाव भन्दा धानवाली भित्राउने पहिलाे प्राथमिकता छ । खेतबारीमा व्यस्त किसानले अहिलेसम्म यहाँबाट जितेर गएका नेताले कृषि क्षेत्रमा काम नगरेको गुनासो गरेका छन् ।
किसानले गाउँमा सिँचाइ, उन्नत जातका बिउ र मलको अभाव बर्सेनि हुने गरेको गुनासो गरेका छन् । खेतबारीमै पुग्ने उम्मेदवारलाई आफूहरुले सिँचाइको व्यवस्था गरी दिनुपर्ने माग गरेको झ्याडीका एक किसानले सिन्धुज्वालालाई बताए । उनले तिहार सकिएपछि धान स्याहार्न भ्याइनभ्याइ भएको भन्दै यही समयमा उम्मेदवार भोट माग्न खेतमा आइरहेको बताए ।
झ्याडीका दुलाल थरका एक किसान भन्छन्, “हामीलाई कति बेला धान स्याहार गर्ने भन्ने चिन्ता छ, नेतालाई भोटको, आकाश गाडाङगुडुङ गर्दा धान सबै सखाप हुन्छ की भन्ने पिर लाग्छ, नेताहरु बारीमै आएर नाटक गर्छन्, चुनाव जितेर गए भने नाक मुख देखाउँदैनन्, अहिले बारीमै आएर नानाथारी आश्वासन दिन्छन्, यसपालि जसले किसानको समस्या बुझ्छ, मर्म बुझ्छ, काम गर्न सक्छ उसैलाई भोट दिने हो ।”
उनले गाउँमा पर्याप्त सिँचाइ सुविधा रासायिनक मल नहुँदा धान साेचे अनुसारको उत्पादन गर्न नसकेको गुनासो गरे । उनले दिनदिनै फरक–फकर उम्मेदवार आएर आफूहरुलाई आश्वासन दिने बाहेक अरु काम नगरेको सुनाउछन ।
उनले भने, “कामको चटारो निकै छ, एकछिन पनि कुरा गर्ने समय छैन, नेताहरु आएर हैरान बनाउँछन्, सिँचाइको राम्रो व्यवस्था नहुँदा धान, गहुँ राम्रोसँग उत्पादन गर्न सकिएको छैन, अबरु सिँचाइको व्यवस्था गरी दिए कति राम्रो हुँदो हो ?”
भाेटसिपाका किसान भक्तबहादुर तामाङले पछिल्लो केही दिययता उम्मेदवार तथा नेता भोट माग्न घरदेखि बारीसम्म आएको बताए । उनले उम्मेदवारलाई कृषकको समस्या राखेको र पूरा गर्ने आश्वासन दिएको बताए । तामाङले यस क्षेत्रबाट धेरै पटक धेरै नेतालाई जिताएर पठाए पनि जनताका लागि काम गर्न नसकेको बताए ।
“हाम्रो यो क्षेत्रबाट अहिलेसम्म धेरै नेतालाई जिताएर पठायौँ, तर कसैले पनि जनताका लागि काम गर्नु भएन, अहिले पनि भोट माग्न दिनदिनै आउनुभएको छ, उहाँहरुलाई मैले किसानको समस्या समाधान गर्ने भए मात्रै भोट दिन्छौँ नत्र दिँदैनौँ भनेको, तपाईहरुको काम गर्छौं भनेका छन्”, उनले भने ।
त्याहाँका स्थानीयले नेताले बारीमै आएर भोट माग्न किसानलाई फकाइराखेको बताए । उनीहरूले जनतालाई नेताहरुले पटक–पटक आश्वासन मात्रै दिएको हुँदा धेरै निराश बनेको बताएका छन् ।
२ प्रतिनिधि सभा तथा ४ प्रदेशसभा रहेकाे सिन्धुपाल्चोकमा प्रदेशतर्फ र प्रतिनिधिसभातर्फ गरि स्वतन्त्र समेतका ६१ उम्मेदवार चुनावी प्रतिश्पर्धामा छन् । यहाँ वामलाेकतान्त्रिक गठबन्धन र एमालेकाका उम्मेद्वार बीच कडा प्रतिश्पर्धा हुने देखिन्छ ।