भोटेकोशी गाउँपालिकाद्वारा पर्यटन प्रवद्र्धनका लागि दुगुनागढीमा ट्रेल रेस

कार्तिक १८, तातोपानी (सिन्धुपाल्चोक) जिल्लाको भोटेकोसी गाउँपालिकाद्वारा पर्यटन प्रवद्र्धनका लागि तेश्रो लिस्तिकोट–दुगुनागढी माउन्टेन ट्रेल रेस गरिएको छ । नेपाल तिब्बतबीच भएको युद्ध ऐतिहासिक स्थल दुगुनागढी र लिस्तिमाईको संरक्षण, प्रचारप्रसार र पर्यटन प्रवद्र्धनका लागि ट्रेल रेसको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

ट्रेलेरेसमा विजेतालाइ नगद तथा प्रमाणपत्र हस्तान्तरण गर्दै भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पा लगाएत

ऐतिहासिक दुगुनागढी तथा लिस्तिकोटको प्रचार गरी आन्तरिक तथा वाह्य पर्यटनमा टेवा पु–याउन र पर्यटकीय गन्तव्यको रुपमा पहिचान गराउन टे«ल रेसको आयोजना गरिएको भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाले बताए । भोटेकोसी गाउँपालिकाको सहयोगमा गोरख बक्स गणले तिन वर्षदेखि टे«ल रेसको आयोजना गर्दै आएको छ ।

यसैबीच तेश्रो लिस्तिकोट दुगुनागढी माउण्टेन टे«ल रेसको उपाधि त्रिभुवन आर्मीका देवराज महतराले जित हाँसिल गरेका छन् । खुल्लातर्फको प्रतियोगितामा महतराले २ सय ४० प्रतिस्पर्धीलाई पछि पार्दै दुई घण्टा ८ मिनेटमा सांढे चौबिस किलोमिटरको दुरी पार गरी प्रथम भएका हुन् । उनले एक लाख १० हजार नगद सहित प्रमाण पत्र र मेडल पाएका हुन् । उनी गत वर्ष पनि १४ मिनेट ३० सेकेण्डमा पुरा गर्दै पहिलो बनेका थिए ।

यसैगरी प्रतियोगितामा मोहन देव जोसी द्वितीय, राजेन्द्र तामाङ तृतीय, सुमन कुलुङ राई चौथो, अर्जुन कुलुङ राई पाचौं र वेद बहादुर सुनार छैटौ बनेका छन् । यसैगरी खुल्ला तर्फ दोश्रोले ७५ हजार, तृतीयले ५५ हजार, चौथोले ४० हजार ,पाचौंले ३० हजार र छैटौले २० हजार नगद समेत प्राप्त गरेका छन् ।

महिलातर्फ भने प्रिया राई प्रथम, अनिता राई दितीय र सुनकला राई तृतीय भएका छन् । उनीहरुले क्रमशः नगद ६० हजार, ३५ हजार र २० हजार प्राप्त गरेका छन् । यस्तै जिल्लाबासी तर्फ राजेन्द्र तामाङ प्रथम, राहुल तामाङ द्वितीय र फुर्वासिङी तामाङ तृतीय भएका छन् । उनीहरुले क्रमशः नगद ३० हजार, २० हजार र १५ हजार प्राप्त गरेका छन् । यस्तै भोटेकोशी गाँउपालिका तर्फ नेत्र वहादुर खड्का प्रथम, भत्त वहादुर बुढाथोकी द्वितीय र अजय प्रधान तृतीय भएका छन् । उनीहरुले क्रमशः नगद २० हजार, १५ हजार र १० हजार प्राप्त गरेका छन् ।