गाउँपालिकालाई वर्षेनी फड्के बनाउँदाको हैरान, स्थायी पुलको लागि कसैले दिएनन चासो

दिनेश दुलाल
कार्तिक ३, किउल (सिन्धुपाल्चोक) । अरबौंको क्षति हुनेगरी २०७८ असार १ र साउन १६ गते मेलम्ची खोलामा आएको बाढीले हेलम्बुका झोलङ्गे तथा मोटवेल समेत गरेर आधा दर्जन पुल पूर्ण क्षति भयो । बाढी आएको करिब दुई वर्ष पुग्नै लाग्दा समेत हेलम्बु जोड्ने स्थायी मोटरवेल पुल निर्माणको थालनी हुन सकेको छैन । स्थानीयको समस्यालाई ध्यान दिएर हेलम्बु गाउँपालिकाले वर्षेनी फलामको अस्थायी फड्के बनाएर स्थानीयलाई सहज बनाएको थियो । तर वर्षा लागेपछि बाढीले बगाउँदा अनावश्यक खर्च र झन्झट मात्रै भएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा बताउँछन् । ‘कति पटक अस्थायी पुल निर्माण गर्नु, वर्षा लागेपछि काम लाग्दैन’, गाउँपालिका अध्यक्ष शेर्पाले भने । उनका अनुसार स्थानीयलाई आवतजावत गर्न सहज होस भनेर गाउँपालिकाले आफ्नै स्रोतमा दुईपटक फलामको अस्थायी पुल निमार्ण गरिसकेको छ तर अघिल्लो पटक नै बाढीले बगाएपछि गाउँपालिका हैरान बनेको छ । उनका अनुसार एउटा अस्थायी फलामको पुल बनाउन कम्तिमा ५ लाख खर्च लाग्छ । गाउँपालिका रहेको किउलबाट टिम्बु जोड्न दुईवटा पुल तत्काल आवश्यक छ ।

स्थायी मोटरवेल पुल निर्माणको लागि संघीय सरकारबाट बजेट परेपनि कार्यान्वयन हुन भने अझै डेड बर्ष लाग्ने देखिएको गाउँपालिका अध्यक्ष शेर्पा बताउँछन् । उनका अनुसार उक्त पुल निर्माणको लागि अहिले सम्म डिपिआर समेत बनाईएको छैन् । पालिककै योजनामा डिपिआरको तयारी गर्न लागिएको अध्यक्ष शेर्पाले बताए । पुल नहुँदा स्थानीयले हैरानी खेप्न परेको हेलम्बु गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष दावा ग्याल्जेन लामाले बताए । पुल नहुँदा जनतालाई दैनिक उपभोक्ता सामान ल्याउन कठिन भएको उनले सुनाए । ‘वर्षा याममा पुल नहुँदा सो भेगका जनतालाई निकै कठिनायी प¥यो त्यहि भएर यो अस्थायी पुल निर्माण गर्न लागेका हौं’, वडाअध्यक्ष लामाले भने ।

सो भेगका जनताले एक लिटर तेलको ५ सय रुपैया सम्म तिरेर ल्याउन परेको उनले सुनाए । उनका अनुसार टिम्बु पुग्न वैकल्पिक बाटो भएपनि निकै टाढा र कठिनायी भएपछि साविककै पुल आसपासमा अस्थायी पुलको लागि गाउँपालिकाको लगानीमा बनाउन लागिएको हो । मेलम्ची घ्याङ, तार्केघ्याङ, घाङग्युल, नाकोते, सर्कथली लगाएत भेगका स्थानीयलाई मेलम्ची बजार सम्म आउन कठिनायी भएको थियो । ति बस्तीहरुमा पुग्न किउलबाट बसमै ३ घण्टा लाग्ने वडा अध्यक्ष दावा बताउँछन् । त्यसभन्दा माथि नाकोतेमा पनि पुलको आवश्यक रहेको वडा अध्यक्ष दावा ग्याल्जेन शेर्पा बताउँछन् । पुल नहुँदा खाद्यन्न लगाएत दैनिक उपभोग्य बस्तुहरु किउलबाट बोकाएर लैजाँदा निकै महगो पर्ने गरेको स्थानीय व्यापारी बताउँछन् । यात्रु बाहक बस समेत आवातजावत गर्न सक्ने गरी फलामको छड जडित अस्थायी पुल निर्माण गर्न लागिएको स्थानीय समाजसेवी मिङमार छिरिङ शेर्पाले बताए । उनका अनुसार स्थानीयको सहयोगमा करिब एकसातामै फलामे फड्के निर्माण सम्पन्न हुन लागेको हो ।


पुल नभएर हेलम्बुका जनताको बिजोग हुँदा समेत राजनैतिक दल तथा नेताहरुको खासै चासो नभएको टिम्बुका स्थानीय बताउँछन् । ठूला दलका केही नेताहरुले चुनावी मसला बनाउन बाढी पहिरोको बेलामा जनतालाई साथ दिएको भनेर फोटो राखेर प्रचार मात्र गरिएको उनीहरुको आरोप छ । ‘चुनावमा कुन मुख देखाएर भोट माग्न आउँछन् ?’, ति स्थानीयले आक्रोस पोख्दै भने । दलका नेताहरुको भने पुल निर्माणको लागि बजेट समेत आफ्नो पहलमा पार्न सकिएको भनेर दावी गरिरहेका छन् ।