
‘निर्वाचनको आचार संहिता फौजदारी अपराध सरह हुन्छ’–मुख्य निर्वाचन अधिकृत कोईराला

दिनेश दुलाल
असोज ३१, चौतारा । सिन्धुपाल्चोक जिल्लाका मुख्य निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत विदुर कोईरालाले निर्वाचनको आचार संहिता उलंघन भए फौजदारी अपराध सरह हुने बताएका छन् ।
जिल्ला निर्वाचन कार्यालयले आज आयोजना गरेको उम्मेदवार, राजनैतिक दल, नागरिक समाज तथा पत्रकारहरूसंगको अन्तरक्रिया कार्यक्रममा जिल्ला न्यायधिस समेत रहेका कोईरालाले आचार संहिता माने पनि हुने नमाने पनि हुने नैतिक बन्धन जस्तो मात्र होकी भन्ने बुझाई गलत भएको बताए । कोईरालाले भने, ‘निर्वाचनको आचार संहिता उलंघन गरे फौजदारी अपराध सरह हुन्छ ।’ कुनै उम्मेदवार आचार संहिता उलंघन गरेर निर्वाचित भएपनि प्रमाणले पुगे रद्द पनि हुन सक्ने समेत उनले ठोकुवा गरे ।
उम्मेदवारहरुलाई सचेत रहन आग्रह गर्दै कोईरालाले उम्मेदवारहरुले निर्वाचन खर्च बुझाउँदा जति उल्लेख गरेका थिए सोही बमोजिम बुझाउन सुझाए । आगमी निर्वाचनमा निर्मम र कठोतता पूर्वक आचार संहिता लागु गरिने ठोकुवा गर्दै मुख्य निर्वाचन अधिकृत कोईरालाले भने, ‘यदि त्यसो नगरे निर्वाचन आचारसंहिता अनुसार कारबाही गरिन्छ ।’चुनावलाई कम खर्चिलो, पारदर्शी र स्वच्छ बनाउने सबैको दायित्व भएको बताउँदै मुख्य निर्वाचन अधिकृत कोईराले ठुलाले मान्न नपर्ने तर सानाले मात्र मान्न पर्ने भन्ने कुरा सत्यता नभएको बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले निर्वाचन स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न सबैले सहयोग पु¥याउन आग्रह गरे । आचार संहिता सम्बन्धी कार्यक्रमको प्रस्तुती क्षेत्र १ का निर्वाचन अधिकृत रूद्र सवेदीले गरेका थिए । कार्यक्रममा उपस्थित साना दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरुले आचार संहिता ठूलाहरुलाई चैन तथा साना दलको लागि एन भएको आरोप लगाए । आचार संहितामा जे बोलिएको छ सोही अनुसारको कार्यान्यन गर्न समेत उम्मेदवारहरुलाई मुख्य निर्वाचन कार्यालयलाई सुझाएको थियो । मुख्य निर्वाचन कार्यालयका सायक निर्वाचन अधिकृत राजेन्द्र वाग्लेले स्वागत मन्तव्य राखेका थिए । निर्वाचन सम्बन्धि जानकारी गराउने हिसाबले चौतारा साँगाचोकगढी नगरपालिकाको हलमा गरिएको अन्तरक्रिया कार्याक्रममा ठूला देखि साना तथा स्वतन्त्र उम्मेदवार, राजनैतिक दलका प्रतिनिधि, सुरक्षा प्रमुख तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
स्मरण रहोस आचरसंविता उलंघन गरे एकलाख रूपया जरिवाना र उम्मेदवारी समेत रद्द हुने निर्वाचन आयोगले नै कडा नियम बनाएर जिल्ला जिल्लामा निर्देशन दिईसकेको बताएको छ ।