सिन्धुपाल्चोकमा सत्ताधारी गठबन्धन र एमालेबीच कडा प्रतिश्पर्धा हुने

असोज ३०, चौतारा । पाँच दलीय सत्ता गठबन्धनले मंसिर–४ गते हुने निर्वाचनमा तालमेल गर्ने निर्णय गरेसँगै सिन्धुपाल्चोकमा एमालेसंग कडा प्रतिश्पर्धा हुने देखिएको छ ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ लागि माओवादी केन्द्रका पोलिटव्युरो सदस्य माधव सापकोटा र एमालेका केन्द्रीय सदस्य सरेश नेपालबीच कडा प्रतिश्पर्धा हुने भएको हो । २०७४ को निर्वाचनमा यो क्षेत्रबाट वामगठबन्धन हुँदा सभामुख अग्नि प्रसाद सापकोटाले ४० हजार ५ सय ४ मत ल्याएका थिए भने कांग्रेसका मोहन बहादुर बस्नेतले २९ हजार ७ सय ९८ मत प्राप्त गरेका थिए । अहिले एमालेले आफ्नो एक्लैको २७ हजार मत रहेको दावी गरेको छ । तर माओवादी केन्द्रले पनि आफ्नो मात्रै १८ हजार भन्दा माथि रहेको दावी गरेको छ । यदि उस्को १८ हजार रहेपनि वामलोकतान्त्रिकबाट उम्मेदवार बनेका माओवादी केन्द्रका माधव सापकोटालाई कांग्रेसको आधा मत चाहिन्छ । तर यस क्षेत्रमा पकड जमाएका कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेतसंग उम्मेदवार सापकोटाको अहिले सम्म राम्रो सम्बन्ध छैन् । निर्वाचन क्षेत्र फरक परेपनि बस्नेतले आफ्ना कार्यकर्ता तथा समर्थकलाई सहयोग गर्न नभनेसम्म कांग्रेसका मतदाताहरुले मत दिने सम्भावना कम रहेको जानकारहरु बताउँछन् ।

माओवादीबाट उम्मेदवार सापकोटा बस्नेतसंग नझुकेसम्म बस्नेतले सहयोग गर्ने सम्भावना कम रहेको कांग्रेसकै कार्यकर्ता बताउँछन् । यो क्षेत्रबाट कांग्रेसकै बागी उम्मेदवार रामकुमार जिसी स्वतन्त्रबाट उम्मेदवार उठेका छन् । उनले पनि केही मत काट्न सक्ने हुँदा एमाले उम्मेदवार नेपाल र वामलोकतान्त्रिक उम्मेदवार सापकोटाबीच कडा प्रतिश्पर्धा हुने अडकल गरिएको छ हालको क्षेत्र नम्बर १ मा ५३ वटा वडा छन् । तीमध्ये कांग्रेसले मात्रै ३२ वटा वडा जितेको छ । एमाले १६ वटा वडामा विजयी हुँदा माओवादी केन्द्रले ५ वटा मात्रै जितेको छ । वडाध्यक्षले पाएको मत हेर्दा कांग्रेसको ३४ हजार ७६१, एमालेको २७ हजार ८०३ र माओवादी केन्द्रको १८ हजार ८५२ मत छ । त्यस्तै राप्रपाको २ हजार र नेकपा एकीकृत समाजवादीको १६५० मत छ ।

यसैगरी २ नम्बर क्षेत्रमा वामलोकतान्त्रिकबाट मोहनबहादुर बस्नेत र एमालेबाट उम्मेदवार शेरबहादुर तामाङबीच कडा प्रतिश्पर्धा हुने देखिन्छ । २०७४ को चुनावमा यो क्षेत्रमा वामगठबन्धनको तर्फबाट शेरबहादुर तामाङले ३८ हजार मत ल्याएका थिए । कांग्रेसले पशुपति शमशेरलाई सहयोग गरेको थियो । उनले २८ हजार मत ल्याएका थिए । हाल एमालेको मत भनेको यो क्षेत्रमा ३१ हजार रहेको उसको दावी छ । यो गत स्थानीय निर्वाचनमा एमालेले प्राप्त गरेको मत हो । त्यस्तै कांग्रेसको २९ हजार, माओवादी केन्द्रको १६ हजार र राप्रपाको ५ हजार रहेको तथ्याङले देखाउँछ ।

वामलोकतान्त्रिको मत जोड्दा ४५ हजार मत हुन आउँछ । यो गठबन्धनले सजिलै चुनाव जित्ने मतको अनुपात देखिएपनि कांग्रेसभित्र केही नेताहरुले असयोग गर्न सक्ने जानकारहरु बताउँछन् । उसोत कांग्रेसबाटै बागी उम्मेदवार बद्री चौलागाई स्वतन्त्रबाट उठेकाले मेलम्ची आसपासको मत काटिन सक्ने स्रोतको दावी छ । एमालेलाई राप्रपाको ५ हजार मत थपिन सकिने उस्को दावी छ । उसोत यो क्षेत्रमा मओवादी केन्द्रका पूर्व पोलिटव्युरो सदस्य रहेका ध्रुव प्रसाद पराजुली स्वतन्त्रबाट उठेकाले उनको प्रभावलाई लिएर गठबन्धनभित्रै हलचल पैदा भएको जानकारहरु बताउँछन् । निश्कलंकित तथा स्वच्छ छबीका पराजुलीले समेत साहानुभूतिको मत बटुल्ने हँुदा यो क्षेत्रमा पनि चुनाव निकै प्रतिश्पर्धा हुने देखिन्छ ।

यसरी सिन्धुपाल्चोकका २ प्रतिनिधिसभा तथा ४ प्रदेशसभाको लागि हुने चुनाव कडा प्रतिश्पर्धा हुने जानकारहरु बताउँछन् । पाँचदलीय गठबन्धनमा रहेको एकीकृत समाजवादीले भने सिन्धुपाल्चोकका कुनै निर्वाचन क्षेत्रमा भाग नपाएपछि गठबन्धनलाई कसरी सहयोग गर्छ अहिले सम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन् ।