मेलम्ची नगरपालिकाद्वारा अनुगमन, अवैधरुपमा सन्चालित दुई फार्मेसीमा ताला

असोज २९, मेलम्ची । सरकारका प्रमुख अड्डाहरुले चाडपर्व आउनु अघि मात्रै बजार अनुगमन गर्ने प्रचलन यस अघि छ । स्थानीय सरकारले पनि त्यसैलाई निरन्तरता दिएका छन् । तर मेलम्ची नगरपालिकाले भने दशैं सकिएपनि बजार अनुगमनलाई तिव्रता दिएको छ । नगरपालिकाले उपभोक्ताहरुको समस्यालाई ध्यानमा राखेर जुनसुकै बेला छड्के अनुगमन गर्न सकिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धितालले जानकारी दिए ।

नगरपालिकाद्वारा बजार अनुगमन गरिदै

 

नगरपालिका मातहातका शाखाद्वारा बिहिबार विभिन्न ठाउँहरुमा अनुगमन गरिएको राजश्व शाखाका प्रमुख राजेन्द्र दुलालले जानकारी दिए । उनका अनुसार मेलम्ची नगरपालिकाका–७ दुवाचौरमा ६ वर्षदेखि अवैध रूपमा सञ्चालनमा रहेको दुई फार्मेसीमा मेलम्ची नगरपालिकाले ताला लगाएको छ । मेलम्ची नगरपालिकी उपप्रमुख उमा प्रधानको नेतृत्वमा गएको अनुगमन टोलीले बिहीबार फार्मेसीमा ताला लगाएको हो ।

मेलम्ची नगरपालिका वडा नम्बर ७ का विष्णु गिरी र अनिल गरीले ६ वर्षदेखि अवैध रूपमा फार्मेसी सञ्चालन गर्दै आइरहेका थिए । पटक पटक कानुनी दायरामा आउनलाई आग्रह गरे पनि नगरपालिकाको आग्रहलाई अस्वीकार गरेका कारण फार्मेसी बन्द भएको बजार अनुगमन टोलीका संयोजक एवम् मेलम्ची नगरपालिका ९ का वडा अध्यक्ष किरणदिप खड्काले जानकारी दिए । बिना व्यवसाय दर्ता सञ्चालनमा रहेको फार्मेसीहरुलाई गत सालनै पत्राचार गरेर ताकेता गर्दा पनि व्यवसाय दर्ता नगरेपछि बन्द गरिएको उनको भनाई छ ।