आखिर राजनीति किन र कस्का लागि ?
भनिन्छ, नीतिभन्दा माथि हुन्छ राजनीति, किनकि यसले सरकार बनाउँछ, कानुन बनाउँछ, अनुगमन कार्यान्वयन तथा नियन्त्रणमा पनि प्रत्यक्ष भूमिका खेल्छ । साथै ठूल–ठूला परिवर्तनहरु राजनीतिबाटै भएका हुन् । जनताका प्रतिनिधिद्वारा जनताकै लागि गरिने शासन व्यवस्था राजनीतिबाटै प्रारम्भ भएको हो । राजनीति आफैंमा नराम्रो होईन । यसका मुल मान्यता तथा कसीले प्रत्येक मानिसको दिमागलाई चलाएमान बनाउँछ, गतिशिल बनाउँछ र मुलुक र जनताको लागि नयाँ सोचाई बनाउँछ । राजनीति प्रत्येक नागरिकले जान्न पर्ने सबाल हो । तर नेपालमा राजनीतिप्रति जनतामा पुरै वितृष्णा फैलिएको छ । कारण राज्य सञ्चालकहरुले ल्याएको विकृतिले नै ‘राजनीति’ पुरै घृणाको भावले हेर्ने गरिएको छ । प्रत्येक नागरिकबाट सुनिन्छ– ‘छ्या राजनीति ?’ राजनीति गर्ने कस्ता मान्छे सवार भए ? राजनीतिबाट जनताले के पाए ? यि यस्तै महत्वपूर्ण सबाल उठ्ने गरेका छन् ।
राजनीतिक परिवर्तनका एजेण्डाले मात्रै मुलुकको शासन व्यवस्था टिक्न सक्दैन । त्यहाँ जनताको ठूलो अपार समर्थन र सहयोग चाहिन्छ । जनताले शासन व्यवस्था टिकाउने भनेको राजनैतिक संस्कार नै हो । ठूल–ठूला परिवर्तन पछि पनि शासन व्यवस्थामा देखिएको असफलताका कारणले उल्टिएको उदाहरण छन् । मुलुकका संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक वा समावेशी आदि जे जस्ता महत्वपूर्ण एजेण्डाहरु थापित भएपनि शासन व्यवस्था सञ्चालनमा देखिएको भद्दा र कुरुप कार्यशैलीले यि एजेण्डाप्रति जनताको वितृष्णा भाव फैलिएको छ ।
के यस्तै हो त हामीले खोजेको राजनीति ?
विद्यमान व्यवस्थालाई समयसापेक्ष परिमार्जन गर्न, प्रभावकारी कार्यान्वयन गराउन र परिवर्तन गर्न समाज तथा देशलाई नेतृत्व दिन राजनीति गरिन्छ । जसको केन्द्रमा जहिले पनि देश र नागरिक हुनुपर्छ । यो एक विश्व प्रसिद्ध मान्यता हो । तर राजनीति किन यति धेरै विकृत बन्यो ? राजनीति चोर फट्टाह, लुच्चा, गुण्डा, अपराधी, तस्करी सबैले गर्ने भए । केही काम पाउन नसकेका र कतै नअटाएका व्यक्ति समेत राजनीति गर्नेवाला भए । हुँदाखाँदा चुनावको टिकट समेत अपराधमा संलग्न व्यक्ति, तस्कर, गुण्डा आदिले पाउन थालेपछि राजनीति कसरी संग्लो हुन्छ र नयाँ पुस्ताले के सिक्छन् ?
संसदीय व्यवस्थामा अन्य पूँजिवादीहरुको कार्यशैली त बुर्जुवा र तडकभडक हुने नै भयो । तर दश वर्षे जनयुद्व गरेर आफूलाई क्रान्तिकारी पार्टी सावित गरेको माओवादी केन्द्रमा समेत कांग्रेस, एमाले वा अन्य बुर्जुवा पार्टी भन्दा भिन्न देखिएन । मुलुकमा गणतन्त्र आएपछिको यो १५ वर्षको अवधिलाई हेर्ने हो भने चुनाव यतिधेरै महगो हुन थालेको छ की अब जो कोहीले चुनावमा उठ्ने आँटै गर्न सक्दैनन । पार्टीमा ईमान्दार, सज्जन, त्याग, तपस्या र लामो लगानी गरेको भनेर त्यसको मूल्याङकनको आधारमा टिकट नै नपाउने भयो । यदि टिकट नै पाईहाले पनि जित्न नै मुश्किल भयो । यसकारण अब टिकट पाउने भनको जो संग पैसा छ, जो संग शक्ति र सामथ्र्य छ त्यस्तैले टिकट पाउने भयो । हिजो आफूलाई क्रान्तिकारी ठान्नेहरु पनि वुर्जुवा संगै कुम जोडेर करोडौं खर्च गर्ने अवस्थामा पुगे । चुनावको लागि यतिधेरै पैसा काहाँबाट आउँछ ? (जस–जससंग तिनले चुनावका लागि भनेर पैसा लिए, तिनले लगाएको गुण र हिसाबकिताब जितेर आएसी पक्कै तिर्नुपर्ने होला । त्यसपछि जनताको विकास कसरी हुन्छ ?
यसकारण नेपालका दल किन र कसका लागि राजनीति गर्छन् ? यो गम्भिर प्रश्न प्रति अबका पुस्ताहरुले जान्न जरुरी छ ।
गणतन्त्र पछिको यो अवधिलाई हेर्दा पालैपालो सरकार बनाउने दलहरुलाई एकएक गरी केलाएर हेरौं तर तिनका कार्यशैली कतैबाट पनि देश र नागरिक केन्द्रित भेटिएन । यस्तो लाग्छ, निर्वाचन आयोगमा दर्ता भएका दल विचार र सिद्धान्तका आधारमा फरक नामले चिनिएका मात्र हुन्, नत्र रङ फरक भएपनि सबै दलका चरित्र उस्तै उस्तै प्रकृतिका छन् । तिनका विचार र सिद्धान्तबीच फरक भनिएपनि सत्ता सञ्चालनमा एउटै खालको कार्यशैली छ । सत्तामा नपुगन्जेल पानीले रुझेको बिरालो जस्तो बनेर लुसुक्क छिर्छन र सत्तामा पुगेपछि बाघ बनेर जनता विरुद्व गर्जन्छन् । जुनसुकै परस्परविरोधी सिद्धान्त बोकेका पार्टी मिलेर सरकार बनाउँदा रहेछन् । को राष्ट्रघाति, को राष्ट्रवादी ? चिन्नै मुश्किल । सत्ता समकिरण कस्तो छ त्यसलाई लगाउने आरोप पनि त्यहि अनुसारको बनाईन्छ । सबै दलहरु नागरिककै नाममा नागरिकलाई नै ठगिरहेका छन् । म यो कुरा बुझ्दिन कि आखिर राजनीति किन र कसका लागि गर्छन् ?
नागरिकका लागि त गरेनन् गरेनन् आफ्ना कार्यकर्ताका लागि पनि केही गरेको देखिएन। यिनीहरूको राजनीति पनि आफू, आफ्ना परिवार र नातेदारका लागि मात्रै केन्द्रित रहेछ भन्ने प्रमाणित भईसकेको छ । होइन भने कसका लागि राजनीति गरे ?
बिडम्बना, नेपाली नागरिकले प्रजातन्त्र ल्याएको तीनदशक हुन लाग्यो । प्रजातन्त्र आएपछि जन्मेकाहरूले पनि समानताका लागि लड्नु पर्दैछ । यतिका वर्षसम्म यी राजनीति गर्नेहरू कसका लागि राजनीति गरिरहेछन् ? शान्ति, समृद्धि र विकास नेपालीले अझैसम्म अनुभूति गर्न पाएका छैनन् भने यी नेताहरूले किन र कसका लागि राजनीति गरे ?
आजको दिनमा राजनीति व्यवसायमा परिणत भएको छ । राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले ‘राजनीति’लाई पेशा ठाने । जबसम्म तिनको चेतले राजनीतिक पेशा होईन सेवा हो भनेर बुझदैनन तब सम्म यो विकृति कायम नै रहिरहन्छ । जहाँ छिटोभन्दा छिटो पद, पैसा, पावर आर्जन गर्न जस्तोसुकै हर्कत गर्न पनि पछि परिँदैन । राजनीतिको भ¥याङ चढेर पदमा पुग्ने अनि भ्रष्टाचारमा चुर्लुम्म डुब्दासमेत कारबाहीको भागी हुनु नपर्ने परिपाटी संस्थागत भइसकेको छ ।
हिजो गाउँबाट चप्पल पड्काउँदै हिँडेका ठुल्दाइहरू राजनीति गरेकै भरमा आलिसान महलमा मार्सीको चामल र बँदेलको मासु र महगो रक्सीमा भुलिएका छन् । तर ठुल्दाइहरूको सम्पत्ति विवरण सर्वाजनिक हुँदा तिनले साँच्चिकै ती सर्वहारा जनताको सेवाका लागि राजनीति गरिरहेका छन् त भन्ने आशंका उत्पन्न हुन्छ ।
पदका लागि मरिहत्ते गर्ने, गुट र उपगुट खडा गरी राजनीति गर्ने, राम्राभन्दा हाम्राको संरक्षण गर्ने, स्वार्थका लागि जस्तासुकै आत्मघाती सम्झौताहरू गर्न पनि पछि नपर्ने, सधैं शक्तिकेन्द्रमा बस्न खिचातानी गरिरहने, पदीय स्वार्थका लागि आफ्नै समूहका साथीहरूलाई विश्वास नगर्नेजस्ता विशेषता पार्टीभित्र मौलाउँदै गईरहेको छ । के यस्तै राजनीतिक संस्कारले नयाँ पुस्तालाई सही बाटो देखाउला ? हामीले आउँदो पिँढीलाई राजनीति भनेको सत्तामा पूग्नको लागि जस्तो सुकै हर्कत गर्न पनि पछि पर्नु हुँदैन भनेर सिकाउने ? एउटा अचम्मको कुरा के छ भने राजनीतिमा शीर्ष नेताहरू मृत्युशय्यामा पुगेपछि मात्र उनीहरूले ओगटेका पद खाली हुन्छन । अन्य पेसा÷क्षेत्रमा निश्चित समय वा उमेरपछि अवकाश पाइन्छ तर नेपाली राजनीतिको शब्दकोशमा मानौं ‘अवकाश’, ‘निवृत्त’ जस्ता शब्द नै छैनन ।
आगमी मंसिर–४ मा चुनाव आउँदैछ । गाउँगाउँबाट गाडीका गाडी सोझा नागरिकलाई मासु–भात र पैसाको लोभ देखाई दलका झण्डा बोकाएर चुनावी प्रचारमा लैजाने दिन आईसक्यो । तर चुनाव सकिएको भोलिपल्ट गरिबको घरमा चुल्हो बल्दैन । ज्याला–मजदुरी गर्ने वर्ग भोकै पर्नुपर्ने अवस्था फेरी सुरु हुन्छ । मजदुरले बगाएको पसिनाले देश चलेको छ, नेताहरू चलेका छन । तिनै मजदुरको चुल्हो बल्न सक्ने आधार दिन नसक्ने राजनीति के राजनीति हुन्छ ?
अतः चुनावका लागि जनता बटुलेर एकअर्कालाई गाली गर्दै जनतालाई फेरी पनि भ¥याङ बनाएर सत्तामा पुग्ने परिपाटीलाई विशेषगरी युवाहरुले रोक्न जरुरी छ । बिना खर्च गरिब जनातको सपना बोकेर निस्वार्थ म केही गर्छु भन्ने उम्मेदवार (चाहे दल बाहिर किन नहोस) लाई निर्वाचित गराउँदा मात्र मुलुक र जनताको हितमा हुनेछ । यसप्रति हामी सबैले चिन्तन मनन गरौं ।