सिन्धुपाल्चोकमा गठबन्धनको क्षेत्र टुङिगयो तर उम्मेदवार टुङिगएन

असोज २२, चौतारा । बल्लतल्ल केन्द्रमा लामो समय पछि सिट बाँडफाँड मिलाएको सत्तागठबन्धन दलले सिन्धुपाल्चोकमा भने अझै टुङगाउन सकेका छैनन् । दुई क्षेत्र रहेको सिन्धुपाल्चोक प्रतिनिधिसभा १ मा माओवादी केन्द्र र २ मा नेपाली कांग्रेसलाई दिने गरी सहमति भएको गठबन्धन दलले जनाएको छ ।

त्यस्तै १ को (क) नेपाली कांग्रेस र (ख) नेपाली कांग्रेस उम्मेदवार हुनेछन् भने २ को (क) मा माओवादी केन्द्र र (ख) नेपाली कांग्रेस उम्मेदवार हुनेछन् । तर मननयन दर्ताको अघिल्लो दिन सम्म दुई ठूला पार्टी नेपाली कांग्रेस र माओवादी केन्द्रले उम्मेदवार तयार गर्न सकेनन् । पार्टीभित्र छलफल अझै बाँकी रहेकोले बेलुका सम्म टुङगो लागि सक्ने नेपाली कांग्रेसका जिल्ला सभापति जंग बहादुर लामाले जानकारी दिए । १ नम्बर क्षेत्रमा सभामुख सापकोटा र पूर्व सञ्चारमन्त्री मोहन बहादुर बस्नेतको टिकटमा रस्साकस्सी परेपनि अन्तत ः माओवादी केन्द्रले पाउने भएपछि बस्नेत बाहिरिएका छन् । उनलाई क्षेत्र नम्बर २ बाट उठाउने सम्भावना समेत रहेको स्रोतको भनाई छ ।

स्रोतका अनुसार यदि बस्नेत २ मा उठे पूर्व सभापति विकास लामाले असहयोग गर्ने पक्कापक्की छ । विकास संगै जिल्ला सभापति लडेका ईन्द्रावती गाउँपालिकाका पूर्व अध्यक्ष वंशलाल तामाङ बस्नेत विरोधी हुन् । आफु विरोधी खेमालाई सहमतिमा ल्याउन बस्नेतलाई निकै चुनौति रहेको जानकारहरु बताउँछन् । यो क्षेत्रको प्रदेश (ख) मा भने निवर्तमान प्रदेश सांसद निमा लाामाको चर्चा आएसंगै सामाजिक सञ्जालमा त्यहिका कार्यकर्ताले विरोध जनाईरहेका छन् । उता १ नम्बर क्षेत्रको प्रदेश (क) मा उम्मेदवार धेरै भएपछि नेपाली कांग्रेसले टुङगाउन सकेको छैन् । यहाँ दोर्जे लामा, वेदबहादुर श्रेष्ठ, विष्णु खत्री, कमल श्रेष्ठ, मसिना खड्का र भोला बोहारा लगाएत आधा दर्जन उम्मेदवारको नाम सो पार्टीले सिफरिस गरेको थियो । जसमा दोर्जे लामा, मसिना खड्का र विष्णु खत्री मध्ये हुन सक्ने स्रोतको भनाई छ ।

यसैगरी माओवादी केन्द्रले समेत आफुले रोजेको क्षेत्र पाएपनि उम्मेदवारको नाम भने टुङ्गाउन सकेको छैन् । सामाजिक सञ्जालमा प्रतिनिधि सभा १ र दुई प्रदेशसभा पाएको माओवादी केन्द्रले १ मा माधव सापकोटा ‘सुवोध’, सोहीको प्रदेश (ख) मा सरल सहयात्री पौडेल र २ को (क) प्रदेशमा युवराज दुलालको नाम आएको थियो । क्षेत्र टुङ्गिएपनि बाहिर हल्ला आएजस्तो आधिकारिक नभएको माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पराजुली ‘अविनाश’ सिन्धुज्वालालाई बताए । २ को प्रदेश (क) मा आफ्नो पनि नाम सिफारिस भएको उनले जानकारी दिए । १ नम्बर क्षेत्रको प्रतिनिधि सभाका लागि सभामुख सापकोटा र माधव सापकोटा बीच सहमतिको प्रयास भई रहेको एक नेताले बताए । प्रचण्डलाई सभामुख सापकोटा तथा तलका कार्यकर्ता तथा शुभचिन्तकलाई माधव सापकोटाको आवश्यकता भएपछि समस्या भएको सोही भित्रका कार्यकर्ता बताउँछन् ।

सभामुख सापकोटा र सुवोध सहोदर काका भतिज हुन् । नाताले भन्दा पनि पार्टीमा लगानी र योग्यता र क्षमताका आधारमा सुवोधले पाउन पर्ने जानकारहरु बताउँछन् ।
स्मरण रहोस गठबन्धन दलमा कांग्रेसको लोकतान्त्रिक फोरम सहित ९५, माओवादी केन्द्रको ४७, एकीकृत समाजवादीको २० र राष्ट्रिय जनमोर्चाको २ सिट टुंगिएको हो । केन्द्रमा ५ दलकाे प्रभाव भएपनि सिन्धुपाल्चाेकमा भने गठबन्धन भित्रका कांग्रेस,माअाेवादी र एकीकृत समाजवादीकाे प्रभाव छ । तर समाजवादीलाई सिन्धुपाल्चाेकमा संघ र प्रदेश मध्ये कुनै सिट नदिएपछि उसकाे मत गठबन्धनलाई जान्छ या अन्य पार्टीलाई जान्छ यकिन नरहेकाे जानकारहरू बताउँछन ।