
प्रथम सिन्धुपाल्चोक अन्तर वडा स्तरीय भलिबल प्रतियोगिता कात्तिकेमा सुरु

दिनेश दुलाल
असोज ९, ढाँडे (सिन्धुपाल्चोक) । प्रथम सिन्धुपाल्चोक जिल्ला अन्तर वडा स्तरीय भलिबल प्रतियोगिता पाङताङमा सुरुवात भएको छ ।
जुगल गाउँपालिकाको वडा नम्बर ४ कात्तिके भन्ने स्थानमा आईतबारबाट उक्त प्रतियोगिता सुरुवात भएको हो ।
आउँदै गरेको वडा दशैं तिहार लगाएत नेपाली चाडपर्वहरुको अवसरमा आयोजित जिल्ला अन्तर वडा स्तरीय भलिबल प्रतियोगिता जिल्लामै पहिलो भएको आयोजकको दावी छ । गाउँपालिकाको लगानी तथा पाङताङ युवा समाजको आयोजनामा चारदिन सम्म हुने प्रतियोगिताको उदघाटन गाउँपालिका अध्यक्ष रेशम स्याङवोले गरेका हुन् । भलिबल सर्भिस गरेर कार्यक्रमको उदघाटन गरेका पालिका अध्यक्ष स्याङवोले विकासका अन्य सूचकहरु जस्तै खेल क्षेत्रको विकास पनि आवश्यकता ठानेर त्यस खालको प्रतियोगिताको आयोजना गरेको बताए । ‘खेल क्षेत्रको विकासले युवाहरुमा जोशजाँगर मात्रै होईन नयाँ चेतना समेत जागृत गराउँछ’, पालिका अध्यक्ष स्याङ्वोले भने । गाउँपालिकाले भलिबल लगाएत अन्य खेल क्षेत्रमा समेत लगानी गरिने उनले बताए ।
कार्यक्रमका सभापति सोही पालिकाका ४ नम्बर वडा अध्यक्ष प्रेम तामाङले जुगल गाउँपालिकालाई पर्यटकीय क्षेत्रमा विकास गर्न खेल पर्यटनको विकास गर्ने उद्घोष गरे ।
आयोजकका अनुसार असोज १२ गते सम्म प्रतियोगिता हुने उक्त खेलको लागि जिल्लाभरका वडाहरुबाट १६ टिम सहभागी हुनेछन् । पुरस्कारको राशी प्रथमलाई एकलाख टर्फी, शील मेडल सहित हुने वडा अध्यक्ष प्रेमले बताए । त्यस्तै दोेस्रो पुरस्कार ७० हजार, तेस्रो पुरस्कार ४० हजार र सान्त्वना १५ हजार रहेको छ ।