
स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दै, रविको भाषण सुन्न क्षणभरमै जनताको ओईरो

असोज ८, चौतारा (सिन्धुपाल्चोक) । जिल्लाको सदरमुकाम बजार शनिबार सुनसान थियो । टुँडिखेल नजिकै पिपलबोटमा खुत्रुके व्यापारीहरु व्यापार नहुने भएसी ठाउँ छाडेका थिए ।
सुनसान टुँडिखेलमा एकाएक मान्छे जम्मा हुन थाले । एकैछिनमा पिपलबोटमा सर्वसाधारण जनताको भरिभराउ भयो । त्यहाँ कुनै राजनैतिक दलद्वारा आयोजना गरिएको कार्यक्रम थिएन । न त राजनैतिक दलहरुको सभा हुनु अघि सजिसजाउ गरिएको जस्तो मञ्च नै थियो । बिना प्रचार र बिना तामझाम सदरमुकाम वरपरबाट सुनेको भरमा सर्वसाधारण ओईरिएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टीका केन्द्रिय सभापति रहेका रवि लामिछाने आज चौतारामा भएको सभालाई सम्बोधन गर्दै
लमतन्न शरिर, कालो रङको सर्ट पाईन्ट लगाएका उनै न्युज ट्वान्टी फोरका कार्यक्रम पूर्व सञ्चालक रवि लामिछाने टुप्लुक्क मन्च अगाडि देखा परे । राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टीका केन्द्रिय सभापति रहेका उनै रवि लामिछाने मञ्च अगाडि निस्किए । मन्चमा न अतिथिहरुको भरिभराउ थियो, न फुलमलाले सजिसजाउ नै थिए । अतिथि पनि सर्वसाधारण बसेकै ठाउँमा बसेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि रहेका रवि लामिछानेले देशलाई अहिले ठूला भनिएका दलहरूले बर्बादी बनाएकोले देशलाई जोगाउन सबै जनताले आफ्नो मत परिवर्तन गर्नुपर्ने धारणा राखे । पुराना पुस्ताका नेता र पुराना दलहरूबाट अब कुनै परिवर्तनको आश गर्न नसकिने भन्दै लामिछानेले जनताले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई जिताउन आग्रह गरे । कार्यक्रममा सहभागी स्थानीयले समेत आफ्नो धारणा समेत राखेका थिए । राजनैतिक दलबाट मुलुकको लागि कुनै परिवर्तन नहुने देखेर सर्वसाधारण जनताको स्वतन्त्र पार्टीप्रति आकर्षण देखिएको एक सभागीले बताए ।
यसैबीच सोही कार्यक्रमबाट राष्ट्रिय स्वतन्त्र पार्टी, सिन्धुपाल्चोकको सभापति पदमा माया गुरुङ चयन भएकी छिन् । शनिबार चौतारामा भएको पार्टीको जिल्ला भेलाले गुरुङलाई सभापति चयन गरेको हो ।
भेलाले उपसभापतिमा पासाङ तामाङ र सचिवमा चक्रपाणी सिग्देल चयन गरेको छ । तीन जना पदाधिकारी सहित जिल्लाका सबै स्थानीय तहका कमिटी सभापति पदेन सदस्य रहने पार्टीको विधान अनुसार तीन जना पदाधिकारी चयन गरिएको सो पार्टीले जनाएको छ ।