सिन्धुपाल्चोकामा हेवीवेट दुई नेताको लडाई केन्द्रसम्म, कस्ले मार्ला टिकटको बाजी ?


असोज ४, चौतारा (सिन्धुपाल्चोक) । सरकारले आगमी मंसिर ४ का लागि चुनावको मिति घोषणा गरेको यति लामो समय बितिसक्दा पनि पाँच दलीय सत्ता गठबन्धनमा भागबन्डाको कुरा मिलेको छैन् । पाँच दलका शिर्ष नेताहरु तालमेलको अझै कसरतमा छन । दलहरुले समानुपातिक तर्फ सोमबार राति अबेर सम्म बन्दसूचि बुझाईसकेका छन् । प्रतिनिधिसभाका १ सय ६५ र प्रदेशका ३ सय ३० निर्वाचन क्षेत्रका लागि सत्ता गठबन्धनले एकमुष्ट बाँडफाँट गर्ने तयारी भए पनि सहमति जुटाउन सकेका छैनन् ।

केन्द्रमा सिट बाँडफाँड गर्न मुश्किल परिरहेको अवस्थामा सिन्धुपाल्चोकमा भने सत्ता गठबन्धन भित्रका हेवीवेट कहिलिएका दुई नेता बीच ठूलै टकराव देखिन्छ । स्रोतका अनुसार केन्द्रसम्म पुगेको सिन्धुपाल्चोकको मुद्दा अहिले शिर्ष नेताहरुलाई पेचिलो बनेको छ । प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ बाट निर्वाचित सभामुख अग्नीप्रसाद सापकोटा र नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको क्षेत्र एउटै भएकाले कस्ले बाजी मार्ला ? भनेर निकै अड्कलबाजी भईरहेको छ ।

चुनावका लागि माओवादी केन्द्रले सापकोटा र कांग्रेसले बस्नेतको नाम प्रतिनिधिसभाका लागि सिफारिस गरेको छ । बस्नेतको नाम एकल सिफारिस गरिएको छ भने माओवादीले सापकोटासँगै तीन जनालाई सिफारिस गरेको छ । माओवादी केन्द्रले प्रत्यक्ष तर्फ अग्निप्रसाद सापकोटालाई सिफारिस गरेको भएपनि पार्टीले समानुपातिक तर्फ बन्दसूचि पठाउन सक्ने अड्कलबाजी भएको थियो । सिन्धु कांग्रेसले समेत सापकोटाको नाम समानुपातिकमा पेश गरेर प्रत्यक्ष तर्फ १ मा मोहन बस्नेत हुने अपेक्षा गरेका थिए । तर हिजो बेलुका सम्म पेश गरिएको समानुपातिकको बन्द सूचिमा सापकोटाको नाम परेको देखिएन ।

क्षेत्र नम्बर १ मा दुई शेर मध्ये कस्ले टिकट पाउलान भनेर सर्वत्र चासोको विषय बनेको छ । केन्द्रमा गठबन्धन दलहरूबीच पहिले जितेको ठाउँमा सम्बन्धित पार्टीले भाग पाउने एक खाले सहमति भईसकेकोले आफूले नै पाउनपर्ने माओवादी केन्द्रको दावी छ । उता कांग्रेसले भने कुनैपनि पनि हालतले १ नम्बर क्षेत्रमा आफूले पाउनुपर्ने दावी गर्दै आएको छ । यदि मोहन बस्नेतलाई टिकट नदिए उनी पक्षरले विद्रोह समेत गर्न सक्ने हल्ला चलेको थियो । तर चौतारामा आयोजित एक कार्यक्रममा नेता बस्नेतले टिकट आफूले पाउन पर्ने दावी रहेपनि केन्द्रको निर्णयलाई मान्ने स्विकृति दिएकाले विद्रोह गर्ने वा बागी उठ्ने सम्भावना समाप्त भएको कांग्रेसकै कार्यकर्ता बताउँछन् । ‘१ नम्बर क्षेत्रमा नेपाली कांग्रेसले पाउन पर्छ भन्ने हाम्रो दावी छ तर केन्द्रले गरेको निर्णय स्विाकार्र्छौ’, नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति जंगबहादुर तामाङले सिन्धुज्वालासंग भने ।

यो क्षेत्रमा कसरी मिलाउने भन्नेबारे गठबन्धनमै ठूलो अन्यौलता छ । बस्नेत आफ्नो क्षेत्र छाडेर बाहिर नजाने अडानमा छन् । यो क्षेत्रमा कांग्रेसले नै टिकट पाउनुपर्ने विपी जयन्तीको अवसरमा चौतारामा भएको एक कार्यक्रमका बीच अधिकांश कार्यकर्ताको जोड थियो । १ नम्बर क्षेत्रमा नेपाली कांग्रेसलाई टिक नदिए पार्टी नै समाप्त हुने त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोराको तर्क छ ।

सभामुख सापकोटालाई १ नम्बर क्षेत्र छाडिदिएर २ बाट बस्नेतलाई उठाउन सक्ने सम्भावना समेत रहेको स्रोतको दावी छ । तर २ बाट चुनाव लड्न बस्नेतले रुचाएका छैनन् । गत निर्वाचनमा सिन्धुपाल्चोक–१ मा माओवादीबाट सापकोटाले उनै बस्नेतलाई हराएका थिए ।
वामगठबन्धनबाट उठेका सापकोटाले ४० हजार ५ सय ४ मत ल्याउँदा कांग्रेसका बस्नेत २९ हजार ७ सय ९८ मत प्राप्त गरेका थिए ।

२०७४ को चुनावमा यो क्षेत्रमा एक लाख १४ हजार तीन सय ४४ मतदाता थिए । ७८ हजार ६ सय ९६ मत खस्दा सापकोटाले ५५.३० प्रतिशत मत ल्याउँदा बस्नेतको पक्षमा ४०.६८ प्रतिशत मत खसेको थियो । अर्थात वाम गठबन्धनको मत ४४ हजार ७६ थियो भने लोकतान्त्रिकको मत २५ हजार सात सय ५९ थियो ।

सिन्धुपाल्चोकको १२ स्थानीय तहमध्ये क्षेत्र नं १ मा रहेका ७ मध्ये कांग्रेस एक्लैले बाह्रबिसे, भोटेकोशी र त्रिपुरासुन्दरीमा प्रमुख÷उपप्रमुख जितेको छ । सुनकोशी र बलेफीमा उपप्रमुखसहित बहुमत वडाध्यक्ष जितेकाले कांग्रेसले नै पाउन पर्ने दावी गरेपनि गठबन्धनले २०७४ को निर्वाचनलाई आधार मानेर वाँडफाँड गर्ने सहमति गरिसकेको छ ।

सिन्धुपाल्चोकमा दुई नेताको लडाईले भने दुवै तर्फ दोस्रो पुस्ताका नेता भने गुमनाम भएका छन् । २०७४ को प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा आफूले १ नम्बर क्षेत्रको टिकट पाउनुपर्ने दावी गर्दै आएका माओवादी केन्द्रका पोलिटव्युरो सदस्य माधव सापकोटाको भविश्य अझै अन्यौलग्रस्त छ । यसपाली पनि सभामुख सापकोटासंगै प्रत्यक्ष तर्फ प्रतिनिधि सभाको लागि उनको नाम सिफारिस भएको छ । यसपालि भने सभामुखले छाडिदिएर युवा नेता सापकोटाले पाउछन भन्नेमा केही कार्यकर्ताले अझै आशा गरेका छन् ।

सभामुख सापकोटाले २०४८ साल यता चारपटक अवसर पाईसकेका छन् । जसमध्ये ३ पटक निर्वाचित भईसकेका छन् । यसैगरी नेपाली कांग्रेसका नेता बस्नेतले ६ पटक अवसर पाईसकेका छन । जसमध्ये २ पटक निर्वाचित भएका हुन् । दलहरुले प्रत्यक्ष तर्फको बन्दसूचि पेश गर्ने समय केही दिन बाँकी रहँदा सिन्धुपाल्चोकमा दुई नेताको टिकको दावी पेचिलो बनेको छ ।