
चौतारा साँगाचोकगढी नगरपालिकाले ल्यायो पशु सुत्केरी कार्यक्रम

असोज ३, चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाले किसानलाई लक्षित गरी पशु सुत्केरी कार्यक्रम सुरुवात गरेको छ ।
यो आर्थिक वर्षको साउन यता लागु हुनेगरी कार्यपालिकाको वैठकले नै निर्णय गरेर किसानहरुलाई प्रोत्साहित हुनेगरी यो कार्यक्रम सुरुवात गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका पशुशाखा अधिकृत अर्जुन खड्काका अनुसार गाईभैसी पालक कृषकले पशु सुत्केरी भएको पहिलो पटकमा पोषण आहाराका लागि २ हजार ५ सय प्राप्त गर्नेछन् ।
महिला सुत्केरी हुँदा पौष्टिक आहाराको जरुरत परेझै पशु सुत्केरी हुँदा पनि आवश्यक परेकाले किसानलाई आकार्षित गर्ने हिसाबले यो कार्यक्रम सुरुवात गरिएको उनले बताए । तर किसानले पशु विमा भने अनिवार्य गर्नुपर्ने पशु अधिकृत खड्काको भनाई छ । उनका अनुसार पशु विमाको लागि पशु शाखाले यसअघि नै अभियान चलाएको छ । किसानको पशुधन सुरक्षित हुने उक्त विमा गर्न धेरै खर्च नलाग्ने प्रति गोटा ८ सय सम्म विमा गर्न सकिने उनले बताए । एक वर्षको लागि हुने विमा पशुधनीको समेत दुईलाखको दुर्घटना विमा हुने उनले जानकारी दिए । उनका अनुसार विमा गरेपछि किसानले पालेका गाईभैंसी मरेको खण्डमा एकलाख सम्म प्राप्त गर्नेछन् ।
उनका अनुसार विमा रकम तोक्दा गाईभैंसीको मूल्याङ्कन गरिनेछ । जसअनुसार मूल्याङकनको ५ प्रतिशत प्रिवियम रकम लाग्ने र ५ प्रतिशत भित्र ८० प्रतिशत केन्द्रीय अनुदान हुने तथा बाँकी रहेको २० प्रतिशतमा १० प्रतिशत नगरपालिकाले बेहोर्ने छ भने १० प्रतिशत कृषकले व्यहोर्नुपर्ने उनले बताए । पशु विमा नगरपालिकाले बाहेक निजी क्षेत्रले समेत गर्ने भएकोले नगरपालिका भित्र कतिले पशु विमा गरे भन्ने एकिन तथ्याङ्क आईनसकेको पशु अधिकृत खड्काको भनाई छ ।