सिन्धुपाल्चोकमा १४५ मतदान स्थल र ३२० मतदान केन्द्र

असोज २, चौतारा (सिन्धुपाल्चोक) । जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदान स्थल तथा मतदान केन्द्र निर्धारण गरेको छ ।

जसअनुसार जिल्लामा जम्मा १४५ स्थायी मतदान स्थल र ३२० मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार अस्थायी मतदान स्थल कम्तिमा १ वटा हुनेछ ।
निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्यसंगै मतदानस्थल तथा मतदान केन्द्र निर्धारणसम्बन्धी कार्य अघि बढाएसंगै जिल्लामा मतदान तथा मतदान केन्द्र तोकिएको हो ।

सुरक्षा तथा सुविधाको दृष्टिकोणबाट मतदान केन्द्र तोक्दा अपनाउनुपर्ने आधारहरु समेत राखेर कार्यालयले ठाउँ छनौट गरिएको जनाएको छ । आयोगको गत असार ३१ गतेको निर्णयअनुसार कार्यक्रम स्वीकृत गरी जिल्ला जिल्लामा पठाई सकिएकाले जिल्ला निर्वाचन कार्यालयलाई तोक्न सहज भएको हो ।

सम्पूर्ण मतदाताको हितलाई ध्यान दिई सुरक्षित, पहुँचयोग्य र विवादरहित रुपमा पायक पर्ने स्थानमा स्थल तथा केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उक्त विषयमा जिल्लामा यसअघिनै राजनीतिक दलहरुसंग परामर्श, छलफल र समन्वय गरिएको कार्यालयको भनाई छ ।

जिल्ला निर्वाचन कार्यालयले मतदाताको संख्या तथा सुरक्षा अवस्थालाई ध्यानमा राखेर मतदानस्थल तथा मतदान केन्द्र तोक्ने अख्तियार पाएको छ । कार्यविधि अनुसार सकभर मतदातालाई पायक पर्ने गरी सार्वजनिक स्थानमा तोक्नु पर्ने छ ।
आयोगले आवश्यक पूर्वाधार सहितको पायक पर्ने स्थानमा मतदानस्थल तथा मतदान केन्द्र निर्धारण गरी पुनरावलोकन गर्दै सिफारिश गरी पठाउने सम्बन्धमा समन्वय गरिदिन सरकार, गृह मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई आग्रह गरेको छ ।

मतदान स्थल तथा केन्द्र पुनरावलोकनमा सरोकारवालासंग प्रभावकारी समन्वय गर्न जिल्ला निर्वाचन अधिकारीलाई सक्रिय भई कानूनी व्यवस्था अनुसार प्रक्रिया अगाडि बढाउन निर्देशन दिईसकेको छ । मतदान स्थल र मतदान केन्द्र पुनरावलोकनमा अवलम्बन गर्नुपर्ने व्यावहारिक पक्ष तथा सरोकारवालाको समन्वयको आवश्यकताका विविध पक्षबारे आयोगले जिल्ला निर्वाचन अधिकृतलाई अवगत गराइसकेको छ । हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्थित विभिन्न सुरक्षा निकाय तथा सरोकारवालाहरू सम्मिलित जिल्ला मतदानस्थल र मतदान केन्द्र सिफारिस समिति हुने गरेको छ ।
यसैबीच तेम्बाथान आवि तेम्बाथानमा २२७ जना मतदाता सहित तेम्बाथान आवि तेम्बाथान मतदान केन्द्र कायम गरिएको छ ।