देशको राजधानी काठमाडौं जाहाँ बसपार्क छैन, काउन्टर खोज्दै यात्रु हैरान

दिनेश दुलाल
भदौ २९, काठमाडौं । दोलखाका ६१ वर्षीय मानबहादुर जिरेल बीर अस्पतालमा उपचार्थ रहेका आफन्तलाई भेट्न केही दिन अघि काठमाडौं छिरेका थिए । एकदुई दिनको अस्पतालको बसाईपछि उनी सोमबार घर फर्कन निस्के । १५ वर्ष पछि काठमाडौं टेकेका जिरेल बस खोज्न रत्नपार्कतिर हान्निए । तर त्याहाँ बस थिएन न बसपार्क नै थियो, टिनले सबै बारिएको थियो । पैदल यात्रीसंग बुझ्दा बल्ल उनले थाहा पाए नेपालको राजधानी काठमाडौं, काठमाडौंको मुटु रत्नपार्कमा बसपार्क छैन । ट्याक्सीवालाले चरिकोट जाने बस तिनकुने छ भनेपछि उनी ट्याक्सीमा ३ सय ५० खर्चिएर तिनकुने ओर्लिए तर त्याहाँ पनि उनले बस भेटेनन् । फेरी उनले अर्को ट्याक्सीवालाबाट काउन्टर जडिबुटीमा भएको कुरा थाहा पाए । २ सय रुपैया तिरेर उनी फेरी काउन्टर खोज्दै जडिबुटी पुगे । तर त्याहाँ पनि काउन्टर थिएन । जम्मा उनको घर पुग्न ४ सय रुपैयाँ भए काफी थियो तर जडिबुटी सम्म पुग्दा उनले ५ सय ५० सकिसकेका थिए । न त उनले बसपार्क भेटे न काउन्टर नै । बेखर्चिलो बनेका जिरेलको बस खोज्दै दिनभर बित्यो । काउन्टर राखिएको भनिएको ठाउँमा सोही दिन बिहानै काठमाडौंका मेयर बालेन शाहले डोजर लगाईदिएका थिए ।

सोमबार काठमाडौं महानगरपालिकाले जडिबुटी चोकमा डोजर लगाएको ठाउँ । वाँया पूर्व अरनिको यातायात प्रा.ली.को काउन्टर समेत उखेल्लिएको छ । जाहाँ वोर्ड मात्रै छ ।

जिरेल एउटा प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्ता सयौं यात्रुहरुले यो सास्ती खेप्नु परेको छ । व्यवसायीबाट करोडौं कर लिने सरकारले अहिले सम्म बसपार्कको व्यवस्था गर्न सकेको छैन । पुरानो बसपार्क रहेको स्थानमा टावर निर्माण थालेको एकदशक हुन लागिसक्यो तर वैकल्पिक बस पार्कको व्यवस्था सरकारले गर्न सकेको छैन । गोगंबु नयाँ बसपार्क रहेपनि पूर्व जाने सिन्धुपाल्चोक, काभ्रे, दोलखा, रामेछाप, सिन्धुली, सोलु र ओखलढुङ्गा सम्म पुग्ने यात्रुहरुको लागि बसपार्क छैन । न त सार्वजनिक शौचालय नै छ । केही साता अघिमात्र पूर्व जाने यात्रुहरुको सहजताको लागि पूर्व अरनिको यातायात प्रा.ली.को पहलमा काठमाडौंका मेयर बालेन शाहकै अनुमतिमा जडिबुटीमा काउन्टर खोलिएको थियो । तर जडिबुटी चोकमा बनाईएको घर मापदण्ड विपरित रहेको भन्दै सोमबार डोजर लगाएर भत्काईएपछि त्यो संगै जोडिएको काउन्टर समेत उखेल्लिएको हो ।

दशैं लगाएत चाडपर्व नजिकिएर यात्रुहरुको चाप बढ्दा व्यवसायीहरुले समेत थेग्न सकेका छैनन् । सडककै काउन्टर, सडकमै बसपार्क बनाउनु पर्दा हैरानी परेको व्यवसायी सागर श्रेष्ठ बताउँछन् । तिनकुने, कोटेश्वर, जडिबुटी लगाएत स्थानबाट यात्रुहरलाई कुर्दा ट्राफिकले एक छिन समेत रोकिन नदिएको व्यवसायीहरु बताउँछन् । उसो त पूर्व अरनिको यातायात प्रा.ली.को अध्यक्षमा केदार क्षेत्री आएसंगै व्यवसायी तथा मजदुरहरु उत्साहित छन् ।

यद्यपि सरकारले वैकल्पिक व्यवस्था नगरिदिएसम्म नयाँ कार्य समितिले तत्काल बसपार्कको चाँजोपाँचो मिलाउन नसक्ने जानकारहरु बताउँछन् । नवनिर्वाचित अध्यक्ष क्षेत्रीले भने आफ्नो कार्यकालको सुरुवातमै बसपार्क तथा काउन्टर निर्माणलाई पहिलो प्राथमिकतामा राखेका छन् । ‘व्यवसायी सडकमै छन्, मजदुर सडकमै छन्, यात्री बिचल्लीमा छन् तर सरकार यो रमिता हेरेर कानमा तेल हालेर बसेको छ’, अध्यक्ष क्षेत्रीले आक्रोसित हुँदै सिन्धुज्वालासंग भने । व्यवसायीबाट राज्यले कर उठाएपछि बसपार्कको उचित व्यवस्थापन गर्नु सरकारको प्रमुख दायित्व भएको उनको तर्क छ । प्रा.लीले जस्तोसुकै चुनौति मोलेर भएपनि बसपार्कको व्यवस्थापन गरिछाड्ने क्षेत्रीले ठोकुवा गरे । ‘हामी विकल्प दिन्छौ, सरकारले व्यवस्थापन गरिदिन प¥यो’, क्षेत्रीले भने । प्रा.ली.को उक्त कदमलाई सरकारले असहयोग गरे पूर्व चल्ने यातायात नै ठप्प पारिदिने उनले चेतावनी दिए । बसपार्कको बैकल्पिक व्यवस्थापनको लागि केही दिनमै बागमति प्रदेश अन्र्तगत संघ तथा प्रदेशका सांसदहरुसंग बसेर अन्तरक्रिया तथा छलफल गर्न लागिएको अध्यक्ष क्षेत्रीले जानकारी दिए ।

पूर्व जाने यात्रुहरुको लागि कोटेश्वर देखि सल्लाघारी सम्मको एरियालाई भविश्य सम्मको बसपार्क हुन सक्ने भन्दै उक्त ठाउँहरुलाई प्रा.ली.ले छनौटमा राखेको उनले सुनाए । तर यातायात मन्त्रालयले भने आजसम्म नयाँ तथा वैकल्पिक बसपार्कको लागि कुनै ठोस योजना सार्वजनिक गरेको छैन् । उपत्यका रहेका स्थानीय सरकार समेत यसबारेमा बेखवर छन् ।