
जिल्लाकै पहिलो बालमैत्री वडा बन्यो ठूलोसिरुवारी

दिनेश दुलाल
भदौ २९, चौतारा (सिन्धुपाल्चोक) । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ ठूलोसिरुवारी बालमैत्री वडा घोषित भएको छ । बालमैत्री वडा घोषणा गरिएको उक्त वडा जिल्लाकै पहिलो वडा भएको छ ।
५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा आज चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले गरेका हुन् । कार्यक्रम उदघाटन पछिको मन्तव्य राख्दै मेयर सापकोटाले दिवसको सन्दर्भ पारेर गरिएको कार्यक्रम अत्यान्त उल्लास र सानदार रुपमा सफल भएको टिप्पणी गरे । बाल दिवस घोषणाको लागि पुरा गर्नुपर्ने ५१ सूचक मध्ये एउटा सूचक अविभावकहरुको उल्लेख्य उपस्थितिले पुरा भएको उनले बताए । विगतमा भएका विभिन्न खालका आन्दोलन तथा संघर्षले मुलुकमा परिवर्तन मात्र गरेको नभई मान्छेलाई जागरण समेत ल्याएको उनको भनाई छ । त्यसैको फल स्वरुप अधिकार सम्पन्न स्थानीय तह बन्न सकेको उनको दावी छ । मानव अधिकार भित्र बालअधिकारको अन्योस्रित सम्बन्ध रहेको सापकोटाको भनाई छ । बाल अधिकार मौलिक अधिकार भित्र पर्ने नजिर देखाउँदै सापकोटाले अब आउने चुनौतिहरुको सामाना गर्न पनि तयार हुनपर्ने धारणा राखे । नगरले अब छिट्टै नै सबै वडा बालमैत्री घोषणा गरेर नगरमैत्री संगै समृद्व नगर निर्माण गर्ने बताए । १३ नम्बर वडाको जस्तै परिचालन र काममा एकरुपता अन्य वडाले समेत सिक्न पर्ने मेयर सापकोटाले सुझाव दिए ।
कार्यक्रममा विशेष अतिथि उपमेयर सीता थापाले विकासका अरु सूचक जस्तै बालबालिकाको क्षेत्रमा गरिने क्रियाकलाप पनि महत्वपूर्ण पाटो रहेको बताईन । कार्यक्रममा जिल्ला शिक्षा समन्वय ईकाई अधिकारी कृष्ण सुवेदी, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शिव बुढाथोकी, विभिन्न राजनैतिक दल संघसंस्थाका प्रतिनिधि लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।
वडाले बालमैत्री वडा घोषणा गर्न पूर्व ५१ वटा सूचक मध्ये अधिकांशको ९० प्रतिशत भन्दा माथि पुरा गरिसकेको वडा अध्यक्ष रामप्रसादको भनाई छ । नगरपालिकाको बार्षिक नीति तथा कार्यक्रममा २०७६ सालबाट नै नगरपालिकालाइ बालमैत्री नगर बनाउने उद्देश्य अनुसार उक्त वडा घोषणा भएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७८।८९ मा पनि नगरका कम्तिमा दुइवटा वडा बालमैत्री वडा घोषणा गर्ने योजना अनुसार १३ नम्बर वडा पहिलो हुने अवसर पाएको छ ।
बालबालिका सम्बन्धी विगत देखिनै विविध कार्यक्रम सन्चालन हुँदै आएको र नगरको उद्देश्य अनुसार वडामा निरन्तर रूपमा बालबालिका सम्बन्धि क्रियाकलाप गर्ने तथा आफ्ना नीति तथा कार्यक्रमकमा निरन्तर बालहितका बिषयलाइ प्राथमिकतामा राखेको शिक्षक नेपालको भनाई छ ।
उनका अनुसार वडाका सबै विद्यालयमा दण्डरहित शिक्षा प्रणाली रहेको, विद्यालयमा बालबालिकाहरूलाई शारीरिक मानसिक, यौनजन्य लगायतका कुनै पनि प्रकारको यातना तथा क्रुर व्यवहार गर्न बन्देज गरिएको छ । विद्यालयमा हुने समस्याहरूको समाधान तथा उजुरीको लागि बालक्लबको सक्रियता तथा लैङ्गिक फोकल पर्सनको व्यवस्था गरि समस्या समाधान गर्न प्रयास गरिएको छ । त्यस्तै समुदाय स्तरमा रहेका यस्ता अमानवीय घटना कम गर्न वेला वेलामा प्रशिक्षण लगायतका कार्यक्रम सञ्चालन गर्ने गरिएको उनले बताए ।
२०७६ पछि बालबालिकामा हुने कुनै पनि प्रकारको अमानवीय घटनाहरू देखा नपरेको वडाको तथ्याङ्क छ । वडा बालसंरक्षण समितिका अनुअसार वडामा बालविबाहमा न्यूनिकरण तथा आर्थिक वर्ष २०७८÷०७९ मा कुनै पनि बालबिबाहको घटना भएको पुष्टि भएको छैन । बाल सञ्जाल तथा वडा कार्यालयहरूमा रहेको तथ्याङ्कमा बालिबिबाहको घटना फेला नपरेको उल्लेख छ । जम्मा घरधुरी संख्या १ हजार २ सय ६९ रहेको उक्त वडामा ३ हजार ८ सय ८७ जनसंख्या मध्ये बालक ७६० र बालिका ७०० रहेको वडा तथ्याङ्का उल्लेख छ ।
बालदिवस कार्यक्रमको सन्दर्भमा बालबालिकाहरुको लागि विभिन्न क्षेत्रमा योगदान गर्नेहरुलाई प्रमुख अतिथिद्वारा प्रमाणपत्र दिएर सम्मानित गरिएको थियो । दिवसकै सन्दर्भमा बालबालिकाहरुलाई नगर स्तरीय निवन्ध प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम मार्फत मनोरञ्जन प्रदान गरेका थिए ।