चौसागढी नगरपालिकाको एकसय दिनको उपलब्धी, शुसासन र पारदर्शीमा जोड

दिनेश दुलाल
भदौ २५, चौतारा (सिन्धुपाल्चोक) । चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्नो कार्यकालको एकसय दिनको उपलब्धलाई सार्वजनिक गरेको छ । २०७९ मा भएको स्थानीय तह निर्वाचन पछि शुरु भएको कार्यकालको अवधिलाई आधार मानेर एकसय दिन पुगेको सन्दर्भमा नगरपालिकाले आफूले गरेको उपलब्धीलाई सार्वजनिक गरेको हो । नगरपालिकाले हाँसिल गरेको एकसय दिनको उपलब्धीलाई जिल्लाका सञ्चारकर्मी सम्मिलित अन्र्तक्रिया तथा छलफल कार्यक्रममा नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले नगरपालिकाको एकसय दिन अवधि उपलब्धीमुलक रहेको ठोकुवा गरे ।

उक्त अवधिमा अन्य महत्वपूर्ण योजनाहरुको साथै नगरपालिकाले सुशासन र पारदर्शीमा नयाँ उपलब्धी भएको मेयर सापकोटाको तर्क छ । नगरपालिका र सञ्चारकर्मी बीच नियमित अन्तरक्रिया कार्यक्रममा मेयर सापकोटाले कार्यालयले प्रयोग गर्ने मिनरल वाटरको प्रसंग कोट्याउँदै भने–‘बाहिर बोतलको पानी किन्न रोके मात्रै लाखौं पैसा बचत गर्न सकिदो रहेछ ।’ नगरपालिकाले बाहिरबाट बोतलको पानी किन्नु सट्टा फिल्टर गरेर यहिको पानी प्रशोधित गरेपछि ठूलै रकम जोगाउन सकिएको उनको दावी छ । उनका अनुसार बोतलको पानी (मिनरल वाटर) किन्दा मासिक एकलाख बचत भएको छ । सोको सट्टा जम्मा पाँचलाख खर्च गरेर पानी प्रशोधित गर्ने मेशिन राख्न सकिएको मेयर सापकोटाले बताए ।

आफ्नो कार्यकाल शुरु भएको एकसय दिनको उपलब्धीलाई चर्चा गर्दै मेयर सापकोटाले एकसय दिनमा धेरै महत्वकांक्षी योजना सम्पन्न गर्ने नसोचे पनि नगर पालिकालाई कसरी सुशासन, मितव्यविता, पारदर्शि र नियम संगत ढंगले कार्यसम्पादन गर्न सकिन्छ भनेर लागिएको बताए । नगरपालिकाको काम कारवाहीलाई वैज्ञानिक र बस्तुवादी ढंगले लागु गर्ने उद्देश्य सहित कृषि, शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको उनले बताए ।

उनका अनुसार नगरपालिकाको पहलमा प्रदेश सरकारवाट करिव ६६ करोड वजेट प्राप्त गर्न सफल (जसमध्ये ३० करोड नगर प्रमुख स्वयं प्रदेश राजधानी गएर पहल भएको हो ।

यसैगरी नगर स्तरीय शिक्षा क्षेत्र सुधार समितिबाट शिक्षा क्षेत्रमा प्रत्येक विद्यालयहरुको हालको अवस्था उच्च स्तरीय विश्लेषणको लागि प्रश्नावली सहित स्थलगत अनुगमन र सो को आधारमा आगामी कार्ययोजना बनाउने, प्रधानाध्यापकहरु तथा वि.व्य.स. अध्यक्षहरुसँग सुझाव संकलन गरिसकेको छ । यस्तै इ.सि.डि. को व्यवस्थापन र गुणस्तर सुधारलाई प्रमुख प्राथमिकता, द्वन्द्व प्रभावित तथा विपन्नहरुको लागि स्वास्थ्य विमा कार्यक्रम कार्यविधि तयारी साथै वडा स्तरवाट विमा कार्यलाई शुरुवात गर्ने क्रममा रहेको उनले बताए ।
वर्षात्को कारण सिर्जित हुने विपद्का घटनाहरुको व्यवस्थापनका लागि विपद् लगतै तयारी अवस्थामा रहेको नगरपालिकाबाट प्रभावकारी रुपमा प्रतिकार्यको कार्य भएको उनको भनाई छ ।
यस्तै नगरबाट दहत्तर वहत्तर, स्टेशनरी, औषधी लगाएतका सामाग्री खरिद गर्न विद्युतिय वोलपत्र (इबिडिङ) आह्वान गरिसकिएको समेत उनले स्पष्ट पारे ।

नगरपालिकाको सबै वडाहरुमा १२ महिना नै सडक यातायात सुचारु गर्न नगरले ब्याक हो लोडर खरिद गर्ने प्रक्रियामा रहेको जसबाट नगरमा रहेको टिपर समेत बहु उपयोगमा आउने, यसबाट विपद्को अवस्थामा समेत तत्काले सडक सूचारु गर्न सहज हुने उनको तर्क छ ।
यसैगरी नगरपालिकाबाटै जलस्रोत समिति दर्ता गर्नका लागि कानून निर्माण पारीत समेत गरिएको नगपालिकाको भनाई ।

यस बीचमा नगरपालिका र जिल्ला स्थित कार्यलय प्रमुखहरु बीच समन्वयमा कार्य गर्न छलफल तथा अन्तरक्रिया, चौतारा बजार व्यवस्थापनको लागि कार्ययोजना निर्माण तथा प्रदेश र संघ सरकारका प्रतिनिधि कार्यलयहरुसंग यस नगरपालिकामा सञ्चालन गरिने कार्यका लागि समन्वय तथा सहकार्य गर्ने नीति अबलम्बन गरेको छ । यस्तै नगर गौरवको योजना अन्तर्गत बुद्ध पार्कको निर्माण हुन बाँकी कार्यको लागि पुनः सर्वे तथा डिजाइन ईष्टिमेटको कार्य थालनी गरेको नगरपालिकाले विपन्न नागरिकहरुको अवस्थालाई ध्यानमा राख्दै आ.व. ०७९÷८० मा मालमोत कर मिनाहा गर्ने समेत घोषणा गरेको छ ।

त्यस्तै उच्च शिक्षा अध्ययनका लागी विदेश जाने विद्यार्थीहरुलाई सम्पत्ति मुल्याङ्कन कार्यमा ५० प्रतिशत छुटको व्यवस्था गरेको जनाएको छ ।
यस्तै सूचना तथा सञ्चार क्षेत्रको विकासमा नगरपालिकाले पत्रकार महासंघ जिल्ला शाखा, सिन्धुपाल्चोकसँगको समन्वयमा नगरपालिकाबाट सञ्चार क्षेत्रको स्वीकृत बजेट सञ्चालन गर्ने तयारी गरेको मेयर सापकोटाले जानकारी दिए ।