अबिरल बर्षा पछिको पहिरोले बाह्रबिसे–सुनकोशी सडक खण्ड अवरुद्व, अहिले सम्म खुल्न सकेन

भदौ १५, बाह्रबिसे (सिन्धुपाल्चोक) । गएराति परेको अविरल बर्षाले जिल्लाको बाह्रबिसे–सुनकोशी खण्ड अवरुद्व भएको छ ।
बाह्रबिसेको पुल बजारबाट नजिकै सुनकोशी तर्फ लेदो सहितको ठूलो पहिरो आउँदा आज विहानै देखि मानिसको आवातजावत नै नहुनेगरी सडक अवरुद्व बनेको सञ्चारकर्मी पृथ्वीजंग पाण्डेले जानकारी दिए । उनका अनुसार बाह्रबिसेबाट बुदेपा, धुस्कुन, पिस्कर तथा चोकटी जाने यात्रुहरुको लागि सकस भएको छ ।

बाह्रबिसे सुनकोशी खण्डमा अबिरल बर्षा पछि लेदो सहितको पहिरोले मान्छे हिड्ने बाटो समेत अवरुद्व भएको उनले बताए ।
हिजो देखिको सडक अवरुद्व सडक खुलाउन बाह्रबिसे नगरपालिकाले कुनै चासो नदिएको भन्दै स्थानीयले रोष प्रकट गरेका छन् ।
बाटो खुलाउन अहिले सम्म कुनै प्रक्रिया नथालिएको ईलाका प्रहरी कार्यायलका प्रहरी नायव निरिक्षक टंक कार्कीले जानकारी दिए ।