जेष्ठ नागरिकलाई भत्ता वितरण गर्न वडाअध्यक्ष आफैं घरघरमा पुग्छन्

भदौ ४, नवलपुर (सिन्धुपाल्चोक) । ईन्द्रावती गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रविन्द्र खातीको दिनचर्या जेष्ठ नागरिकका घर घरमा डुलेर वित्ने गरेको छ । कारण उनी त्यतिकै डुलेका होईनन अशक्त तथा उमेर ढल्किएका जेष्ठ नागरिकलाई घरघरमै सामाजिक सुरक्षाभत्ता वितरण गर्न पुगेका हुन् ।

अशक्त तथा जेष्ठ नागरिकलाई घरघरमै भत्ता वितरणमा सरिक हुँदै वडा अध्यक्ष रविन्द्र खाती

सदरमुकाम चौतारा तथा नवलपुर सम्म भत्ता लिन नसक्ने जेष्ठ नागरिक तथा अशक्तहरुलाई घरघरमै भत्ता वितरण गर्न सुरु गरिएको वडा अध्यक्ष खातीले बताए । उनका अनुसार सिन्धु विकास वैंकले सहजीकरण गरेपछि यो सम्भव भएको हो ।
गाउँपालिकाको वडा नम्बर ७ बाट भत्ता वितरण गर्न सुरु गरिएको गाउँपालिकाले जनाएको छ । वडा अध्यक्ष खाती लगायतको टोलीले बुधबार गाउँमै आएर सामाजिक सुरक्षा भत्ता वितरण गरेका थिए ।

एकल महिला, जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिको सहजताका लागि गाउँमै आएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको वडा अध्यक्ष खातीले बताए । उनले भने, ’सामाजिक सुरक्षा भत्ता लिन बैंकमा जाँदा निकै समस्या भएको गुनासो आयो । भौगोलिक विकटता, यातायात असुविधा, एकल महिला, जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिहरूलाई पैदल हिँड्न पनि टाढा भएकाले समस्या भयो । त्यसैले बैकसँगको सहकार्यमा वडा सचिवले जिम्मा लिने गरी गाउँबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालियो ।’
गाउँपालिकाले अन्य वडामा समेत गाउँबाटै वितरण गरिने गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले जानकारी दिए । ‘विगतमा भत्ता लिन पालिकाको केन्द्रमा रहेको बैंकको शाखामा जाँदा लाइन कुर्नुपर्ने, नेट नचल्ने, जोखिमपूर्ण यात्राजस्ता समस्या थियो । नागरिकहरू भत्ता लिन सास्ती भयो भनेर गुनासो गर्थे । तर, अब गाउँमै हात हातमै भत्ता पाएपछि नागरिकहरू खुसी छन्, अध्यक्ष नेपालले भने । २०७४ सालको स्थानीय तहको निर्वाचन हुनुपूर्व साविकका गाविसहरूले सामाजिक सुरक्षा भत्ता गाउँमा वितरण गर्दा कर्मचारीहरूको बदमासीका कारण फर्जी नाम, मृत्यु भएकालाई पनि भत्ता वितरण गरेको देखाएर आर्थिक अनियमितता भएको गुनासो थियो।

निर्वाचन सम्पन्न भएपछि सबैजसो पालिकाहरूले सामाजिक सुरक्षा भत्तामा हुने आर्थिक अनियमिततालाई रोक्न बैंकिङ प्रर्णालीमार्फत वितरण गर्न थाले। जसका कारण हरेक स्थानीय तहमा पहिलो वर्ष ५ देखी १० लाखसम्म सामाजिक सामाजिक सुरक्षा भत्ता बच्यो । कम्प्युटर प्रणालीमा सामाजिक सुरक्षा भत्ता लिनेहरूको सूची बनाई पुनः कागजपत्र माग्दा कतिपय सामाजिक सुरक्षा भत्ता लिने व्यक्तिहरू आएनन् । जुन फर्जी र मृत्यु भइसकेका मान्छेहरू थिए ।

बैंकिङ प्रर्णालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दा जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति तथा दुर्गमका सबै लक्षित समूहलाई समस्या परेको भन्दै नागरिकका गुनासा आएपछि स्थानीय तहहरूले गाउँमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका हुन् ।