कोरोनाको कारण देखाउँदै तातोपानी नाका अनिश्चित कालका लागि बन्द

दिनेश दुलाल
साउन २६, तातोपानी । छिमेकी मुलुक चीनले आफ्नो मुलुकमा कोरोना माहामारी बढेको भन्दै तातोपानी नाका अनिश्चित कालका लागि बन्द गरेको छ ।

भूकम्प र कोरोनाको माहामारी पछि सुस्त गतिमा सुचारु भएको उक्त नाका बुधबारबाट पूर्णरुपमा ठप्प भएको छ । कोभिडको कारणले बन्द गरिएको आफूले जानकारी पाएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए । ‘खासामा सामाग्री नभएको तीनदिन देखि खासामा उताबाट आउन रोकेको भन्ने मलाई जानकारी आएको छ’, प्रजिअ खनालले भने, ‘कोभिड बिरामी ५८ जना भेटिएको भनेर जानकारी दिएको थियो ।’ आफूले कहिले सकिन्छ कोभिड जाँच भनेर सोधेपनि भन्न नसकिने भनेर आफूलाई भनेको उनले सुनाए ।

नाकामा सामान सहितको गाडी आउन बुधबार देखि बन्द भएको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नाराद गौतमले जानकारी दिए । ‘हिजोबाट कुनै खासाबाट मालबाहक कन्टेनर आएको छैन्’, भन्सार प्रमुख गौतमले सिन्धुज्वालासंग भने । तिब्बतमा कोभिड संक्रमण दर बढेकोले बन्द गरिएको जनाइएपनि कहिले खुल्ने भन्ने निश्चित नभएको उनले सुनाए ।

गएको आर्थिक बर्ष मात्रै लक्ष्य १ अर्व ४६ करोड रहेकोमा ३ अर्व ४२ करोड अर्थात २३३ प्रतिशत राजश्व उठेको हो । संकलित मध्ये मासिक औसत ३० करोड रहेको थियो । अघिल्लो आर्थिक बर्ष लक्ष्य ४ अर्व ५० करोड रहेकोमा १ अर्व २ करोड उठेको थियो । आगमी बर्ष भने लक्ष्य ४ अर्व ६२ करोड रहेको उनले जानकारी दिए । उनका अनुसार चीनबाट आयात हुने सामाग्री बोकेका कन्टेनरहरु आउनेक्रम निकै कम छ । मेशिनरी, रोलकपडा तथा स्याउ लगाएत बस्तु आयत हुने उक्त नाकाबाट दैनिक कहिले चार र कहिले ८ सम्म कन्टेनर आउने गरेको उनले बताए । प्रमुख भन्सार अधिकृत गौतमका अनुसार अरुको अनुपातमा रोल कपडा बढी आउने गरेको छ । त्यसपछि स्याउ तथा मेशिनरी उपकरणहरु आयात भएको थियो ।

तर पछिल्लो पटक कोराना माहामारी बढेको भन्दै चीनले नेपालसंग जोडिएको उत्तरी नाका तातोपानीबाट आवतजावत बन्द गरेपछि हजारौं मजदुरहरु अलपत्र परेका छन् भने राज्यलाई दैनिक करोडौं नोक्सान हुने भएको छ ।

आगमी बर्षमा लक्ष्यमा पुग्न सामानहरु अलिकति बढेर आउने वित्तिकै पुग्ने उनको भनाई छ । वर्षातको समय भएको हुनाले दुईमहिना अलि जोखिम नै भएको समेत गौतमको भनाई छ । चाडपर्वका ल्याउने सामग्री बढी आउँदा र नाका अलि सहज भएको खण्डमा लक्ष्यमा पुग्न सक्ने सम्भावना रहेको समेत उनले औल्याए । सडकको कारणले लोड गरिएका कन्टेनर भ्यानहरु नआएको भन्दापनि चीनबाटै आयतमा कमी भएको उनले बताए ।