![](https://www.sindhujwala.com/wp-content/uploads/2022/07/IMG20220724131853-scaled.jpg)
वडा अध्यक्षले नै अनियमितता गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी
![](https://www.sindhujwala.com/wp-content/uploads/2022/07/IMG20220724131853-scaled.jpg)
साउन ९ — चौतारा (सिन्धुपाल्चोक) । बलेफी गाँउपालिका वडा नम्बर २ का अध्यक्ष छविलाल न्यौपानेले फर्जी कागजपत्र बनाएर अनियमितता गरेको भन्दै उनका विरुद्व उजुरी हालिएको छ । अध्यक्ष न्यौपानेले बैधानिक सम्झौता भएको उपभोक्ता समितिलाई थाहा नै नदिएर पालिकाबाट योजनाको भुक्तानी लिएको भन्दै झोलङ्गे उपभोक्ता समितिका अध्यक्ष नवराज कोईराला समेतका स्थानीयले आईतबार जिल्ला प्रशासन कार्यालय पुगेर उजुरी दर्ता गराएका हुन् । उनका अनुसार झोलुङ्गे स्थित सिंचाई पाईप खरिद तथा जडान गरेर उपभोक्ता समितिले सम्झौता अनुसार भुक्तानी लिन गाउँपालिका पुगर नपाएपछि रहस्य बाहिर आएको हो ।
उपभोक्ता समितिका अध्यक्ष कोइरालाले जिल्ला प्रशासन कार्यालय मार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिएको उजुरी अनुसार २०७८ चैत्र ३० गते बलेफी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत देवीलाल सापकोटा र उपभोक्ता समिति अध्यक्ष नवराज कोइराला बिच सिंचाई आयोजनाको सम्झौता भएको थियो । समितिले सम्झौता अनुसार पाईप खरीद देखि इन्टेक बनाएर काम सम्पन्न ग¥यो ।
कार्य सम्पन्न भएको मुल्याङ्कन तथा अनुगमन समेत गराई समितिले असार २३ गते ५० हजार रकम भुक्तानीको लागि फाईल बलेफी गाउँपालिकामा पेश गरेको थियो । तर २ साता बित्दा समेत उपभोक्ता समितिको राष्ट्रिय वाणिज्य बैंकको खातामा बलेफी गाउँपालिकाबाट रकम भुक्तानी भएन । आफू सहित समितिका सदस्यहरु यो विषयमा पालिकामा बुझ्न पुग्दा वडा अध्यक्ष छविलाल न्यौपानेले फर्जी कागज बनाएर वडाका कर्मचारीको नाममा चेक बनाएर पालिकाबाट भुक्तानी लिएको पाईएको उजुरी दर्ता गरेर फर्किएका अध्यक्ष कोईराललाले बताए । ‘फर्जि कागज बनाएर अध्यक्ष न्यौपाने कर्मचारीलाई पठाएर कर्मचारीकै नाममा पैसा लिएको पाईयो’, अध्यक्ष कोइरालाले सिन्धुज्वालासंग भने ।
अध्यक्ष न्यौपानेले आयोजनाको काम गरेको फर्जी विल र डोर हाजिर गरेको कागज बनाएर काम नै नगरी जेठ मसान्तमा भुक्तानी लिएका स्थानीय दिलबहादुर विकले बताए ।अध्यक्षको अनियमितालाई छानविन गरेर कारवाही गर्नुपर्ने अर्का स्थानीय दिनेश कोईराला बताउँछन् ।
उजुरीमा भनिएको छ–‘ अध्यक्ष न्यौपानेले उपभोक्ता समितिलाई थाहा नै नदिएर योजनाको पैसा किर्ते बिल पेश गरि भ्रष्टचार गरेको हुँदा अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०५९ विपरितको कार्या गरिएकाले छानविन गरी कारवाही गरिपाउँ ।’
वडा अध्यक्ष न्यौपानेले भने झोलुङ्गे स्थित सिंचाई आयोजनाको काम गरेर नै भुक्तानी लिएको जिकिर गरे । ‘काम एउटा सिफरिस मात्र दुईवटा हुनगयो’, अध्यक्ष न्यौपानेले भने । एउटै योजनामा दुईपटक सिफरिस गर्नु आफ्नो कमजोरी भएको न्यौपानेको स्विकारोक्ति छ ।
यस सन्दर्भमा पालिका अध्यक्ष गंगाबहादुर तामाङले भने पालिकामा लेखा अधिकृत मार्फत आवश्यक कागज प्रक्रिया हेरेर मात्र सत्यतथ्य बाहिर ल्याउने बताए ।