
हेलम्बु गाउँपालिका र बोधिसत्व कार्यक्रम फाउन्डेसन बीच शैक्षिक सुधार सुरुवात

साउन ७, किउल (सिन्धुपाल्चोक) । हेलम्बु गाउँपालिकाले निर्माण गरेको हेलम्बु मोडल विद्यालयमा शैक्षिक सुधारको कार्यक्रम सुरुवात भएको छ । हेलम्बु गाउँपालिका र बोधिसत्व कार्यक्रम फाउन्डेसन बीच शैक्षिक सुधार सुरुवातको लागि सहयोग आदानप्रदान सम्झौता भएसंगै उक्त कार्यक्रम सुरुवात भएको हो ।
हेलम्बु गाउँपालिकाको तर्फबाट निमागल्जेन शेर्पा र वोधिसत्व कार्यक्रम फाउण्डेसनको तर्फबाट अध्यक्ष कर्मा फुन्सोक लामा बीच जेठ २० गते नै सम्झौता भएको थियो ।
हेलम्बु गाउँपालिका वडा नम्बर ६ स्थित साविकको ईचोक गाविस घोप्टेघ्याङमा निर्माण गरिएको हेलम्बु मोडेल विद्यालय सञ्चालनको लागि उक्त सम्झौता गरिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । उनका अनुसार त्याहाँको गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि विद्यालयको आर्थिक, भौतिक र साँस्कृतिक विकास तथा विद्यालयको व्यवस्थापनको लागि सम्झौता गरिएको हो ।
उनका अनुसार फाउण्डेसनले शिक्षक तथा प्रशासनिक लगाएत क्षेत्रमा सहयोग गर्ने छ । त्यस्तै मोडल विद्यालय ढाँचा निर्माण गर्नको लागि गाउँपालिका र फाउण्डेसन बीच ५०–५० प्रतिशत साँझेदारी गर्ने सम्झौता भएको गाउँपालिकाका अध्यक्ष शेर्पाले बताए ।
फाउण्डेनले ३ जनाको शिक्षकको विज्ञापन गरेर पनि पठाईसकिएको समेत उनले बताए । उनका अनुसार गाउँपालिकाद्वारा निर्माण गरिएको मोडेल विद्यालयमा अन्य आधारभूत विद्यालयबाट वालवालिका तथा शिक्षकहरु लगिने छ । नयाँ स्थापित गरिएको मोडेल विद्यालयमा मावि शिक्षकहरु नभएपछि आधारभूत तहकै शिक्षकलाई मावि शिक्षक सरह तलव खुवाउने सहमति भएको उनले बताए ।
भूकम्प पछिको विद्यालय पुनर्निर्माणमा समेत फाउण्डेनले गर्ने सहयोगमा पहिलो चरणमा मोडेल विद्यालयबाट सुरुवात गरी आगमी वर्ष पालिकाका अन्य विद्यालयमा समेत विस्तार गरिने सहमति भएको उनले बताए ।
हेलम्बु गाउँपालिकाको सबैभन्दा आकर्षक र महत्वकांक्षी योजनाको रुपमा रहेको मोडेल विद्यालय दुई वर्ष अघि थालनी गरेको थियो । विद्यालय भवन, छात्रबास लगाएत भौतिक पूर्वाधारहरु निर्माण गरिएकाले नयाँ आर्थिक वर्ष २०७९ साउन १ गतेबाटै पठनपाठन सुरुवात गरिएको उनले जानकारी दिए ।
पाँच वुदामा सम्झौता गरिएअनुसार हलम्बु मोडेल विद्यालयको आवश्यक भौतिक संरचना निर्माण गर्नको लागि गाउँपालिकाले विभिन्न संघ संस्था र व्यक्तिबाट आर्थिक तथा भौतिक अनुदान प्राप्त गर्न सक्नेछ । विद्यालय संचालनको लागि विद्यालयमा कार्यरत मानव जनशक्ति व्यवस्थापनको लागि लाग्ने खर्च मध्ये आधा आर्थिक दायित्व पुरा गर्ने छ । विद्यालय प्रशासन संचालनका लागि विद्यालय प्रअ सम्बन्धी व्यवस्था प्रथम पक्षले गर्नेछ । प्रध्यानपक, शिक्षक र कर्मचारीहरुको कार्य जिम्मेवारी सहितको आन्तरिक प्रशासनिक नियामावली बनाई दुवै पक्षले सम्झौता गरी कार्यान्वयन गरिने र शिक्षाको अवसरबाट बन्चित बालबालिका टुहुराको लागि विशेष कोष स्थपना गर्ने लगाएतका बुँदाहरु गाउँपालिकाले गर्नेछ
। त्यस्तै फाउण्डेनसले हेलम्बु मोडेल विद्यालय शिक्षकहरको लागि लाग्ने आधा आर्थिक दायित्व बहन गर्नेछ । हेलम्बु मोडेल विद्यालयको शैक्षिक क्रियाकलाप संचालन तथा उचित व्यवस्थापनको लागि छनौट हुने निर्देशक र निजको पारिश्रमिक दोस्रो पक्षले निर्माण गर्नेछ । निर्देशक, शिक्षक छनौट गरी त्यसको सम्पूर्ण जिम्मेवारी लिनेछ । शिक्षाको अवसरबाट बन्चित बालबालिका टुहुराको लागि विशेष कोष स्थपना गर्ने छ ।