बलेफी गाउँपालिकाद्वारा सामाजिक सुरक्षाभत्ता गाउँमै वितरण
साउन ६, बलेफी (सिन्धुपाल्चोक) । जिल्लाका प्राय बैंकहरु सामाजिक सुरक्षा भत्ता लिन आउनेहरुको भिडमभिड छ । खाडीचौरका बैंकहरुमा भने अघिल्लो महिना जस्तो कुनै भिड छैन । कारण बलेफी गाउँंपालिकाले अब सामाजिक भत्ता गाउँ गाउँमै वितरण गर्न थालेपछि खाडीचौरका बैंकहरुमा चाप कम भएको हो ।
टाढाबाट हिँडेर बैंक पुगी दिनभर लाइनमा उभिनुपर्ने बाध्यताले हैरान भएका बलेफी गाउँपालिकाका नागरिकलाई सहज बनाईएको गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङ प्रवेश ले बताए । उनका अनुसार गाउँपालिकाले सबै वडामा जेष्ठ नागरिकको लागि भत्ता वितरण गर्नेछ । अब जेष्ठ नागरिक भत्ता बुझ्न बैंकमा जान नपर्ने भएको छ । जस अनुसार पालिकाको वडा नम्बर –४ बाट सामाजिक सुरक्षा भत्ता वितरण थालिएको थियो । त्यो संगै जेष्ठ नागरिकको अनुहारमा खुशी छाएको छ ।
विगत पाँच वर्ष देखी बलेफी स्थित एनआइसी एसिया बैंकमा पुगी सामाजिक सुरक्षाभत्ता लिरहेका ज्येष्ठ नागरिकको समस्या र दुःख लाई बुभ्mदै पालिका अध्यक्ष तामाङले बैकंसंग समन्वयन गरी ज्येष्ठ नागरिक सुरक्षाभत्ता गाउँमा नै वितरण गर्ने योजना बनाएका हुन् । बुधबारबाट थालिएको भत्ता वितरण कार्यक्रम वडा नम्बर ४, ५, ६ र ७ मा शुक्रबार सम्म सकिएको अध्यक्ष तामाङले जानकारी दिए ।
‘वृद्धवृद्धा र अशक्तलाई घरमै सामाजिक सुरक्षाभत्ता वितरण गर्ने व्यवस्था मिलाएका छौँ,’ गाउँपालिका अध्यक्ष तामाङले भने । उनका अनुसार भत्ता वितरणका लागि सम्बन्धित बैंकका कर्मचारी, जनप्रतिनिधि र नेपाल प्रहरीको संयुक्त टोली गाउँगाउँ पुगेका छन् ।