तातोपानी भन्सारबाट राजश्व लक्ष्य भन्दा झण्डै तेब्बरले बृद्वि

साउन ७, तातोपानी (सिन्धुपाल्चोक) । चीनसंग जोडिएको उत्तरी नाका तातोपानी भन्सारबाट गत आर्थिक वर्ष लक्ष्य भन्दा झण्डै तेब्बरले राजश्व संकलन भएको छ ।

कोरोना माहामारी, बाढी पहिरो तथा चीनबाट सामाग्री आयतमा कमी लगाएत विविध समस्याका बाबजुत गत आर्थिक बर्षको असार सम्म झण्डै तेब्बरले राजश्व संकलन हुन सकेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नाराद गौतमले सिन्धुज्वालालाई जानकारी दिए ।

उनका अनुसार लक्ष्य १ अर्व ४६ करोड रहेकोमा ३ अर्व ४२ करोड अर्थात २३३ प्रतिशत राजश्व उठेको हो । लक्ष्य पुरा हुनुमा सामान आयत, मापदण्डको पालना र व्यवसायीलाई प्रशिक्षण दिएको लगाएतका कारणले सोचेको भन्दा राम्रो भएको प्रमुख भन्सार अधिकृत गौतमको भनाई छ । त्यस्तै भन्सारले अबलम्बन गरेको शिघ्र जाँचपासका प्रणाली तथा सेवा प्रवाहमा चुस्त दुरुस्त भएका कारण पनि उपलब्धीको पाटो रहेको प्रमुख भन्सार अधिकृत गौतमको तर्क छ ।

उनका अनुसार संकलित मध्ये मासिक औसत ३० करोड रहेको छ । अघिल्लो आर्थिक बर्ष लक्ष्य ४ अर्व ५० करोड रहेकोमा १ अर्व २ करोड उठेको थियो । आगमी बर्ष भने लक्ष्य ४ अर्व ६२ करोड रहेको उनले जानकारी दिए । उनका अनुसार चीनबाट आयात हुने सामाग्री बोकेका कन्टेनरहरु आउनेक्रम निकै कम छ । मेशिनरी, रोलकपडा तथा स्याउ लगाएत बस्तु आयत हुने उक्त नाकाबाट दैनिक कहिले चार र कहिले ८ सम्म कन्टेनर आउने गरेको उनले बताए । प्रमुख भन्सार अधिकृत गौतमका अनुसार अरुको अनुपातमा रोल कपडा बढी आउने गरेको छ । त्यसपछि स्याउ तथा मेशिनरी उपकरणहरु आयात भएको छ ।

आगमी बर्षमा लक्ष्यमा पुग्न सामानहरु अलिकति बढेर आउने वित्तिकै पुग्ने उनको भनाई छ । वर्षातको समय भएको हुनाले दुईमहिना अलि जोखिम नै भएको समेत गौतमको भनाई छ । चाडपर्वका ल्याउने सामग्री बढी आउँदा र नाका अलि सहज भएको खण्डमा लक्ष्यमा पुग्न सक्ने सम्भावना रहेको समेत उनले औल्याए । सडकको कारणले लोड गरिएका कन्टेनर भ्यानहरु नआएको भन्दापनि चीनबाटै आयतमा कमी भएको उनले बताए ।