
जुरे पहिरो पीडितको लागि राहत वितरण बाटो खुल्यो

साउन ७, खाडीचौर । सिन्धुपाल्चोकको जुरेमा पहिरो गएको करिब ८ वर्ष पछि राहत वितरणको बाटो खुलेको छ ।
सभामुख अग्निप्रपाद सापकोटोको विशेष पहलमा असार ३१ गतेको मन्त्री परिषदको बैठकले जुरे पहिरोे पीडितको लागि राहत वितरणको लागि बाटो खुला भएको हो । तर निर्णय भएको दुई एकसाता वितिसक्दा पनि जिल्लामा भने कुनै पहल भएको छैन । रकम फुकुवा भएपछि त्यसको वितरणको लागि छलफल समेत शुरु भएको माओवादी केन्द्रका पोलिटव्युरो सदस्य माधव सापकोटा ‘सुवोध’ ले जानकारी दिए ।
प्रभावितहरूको लागि विभिन्न व्यक्ति तथा संघ संस्थाहरूबाट तत्कालीन जिल्ला दैवी प्रकोप उद्धार समिति मार्फत सिन्धुपाल्चोक मार्फत वितरण गर्ने गरी सहयोग प्राप्त भएको थियो । पीडितहरुलाई तत्काल रकम वितरण गर्नुपर्नेमा जिल्ला दैविप्रकोप उद्वार समितिको खातामा थन्किएको थियो । सो कार्यान्वयन गर्नको लागि मन्त्रिपरिषद् बैठकले गत साता रकम फुकुवा गरिदिएको हो ।
जिल्लाको तत्कालीन माँखा र राम्चे गाउँ विकास समितिको बीच भागमा पर्ने जुरेमा २०७१ साउन १७ गते बिहान गएको भीषण पहिरोले सुनकोशी नदी थुनिन गई ठूलो धनजनको क्षति भएको थियो । सो पहिरोबाट प्रभावितहरूलाई क्षतिपूर्तिका लागि जनस्तरबाट संकलित सहयोग रकमलाई राहत स्वरुप वास्तविक पीडितहरूलाई न्यायिक तवरले वितरण एवं पुनर्वासको लागि व्यवस्थापन गर्न पीडितहरूको पुनवर्गीकरण गर्न जिल्ला दैवी प्रकोप उद्धार समितिले तयार गरेको थियो । समितिले ‘जुरे सुनकोशी पहिरो पीडित राहत वितरण मापदण्ड २०७१’ निर्माण गरेको हो । जाहाँ पीडितहरूलाई ६ वर्गमा वर्गीकरण गरिएको छ ।
तत्कालीन जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत गोकुल बस्नेतको संयोजकत्वमा नापी कार्यालयका प्रमुख शरदचन्द्र मैनाली प्रमुख, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष युवराज पुरी, गैसस महासंघ प्रतिनिधि सोम सापकोटा, जिविस सदस्य मुरारी तिवारी पहिरो पीडित प्रतिनिधि कृष्ण लामा सदस्य र जिविस सिन्धुपाल्चोकका राजेन्द्रप्रसाद प्याकुरेल सदस्य सचिव रहेको समिति मौजुद छ ।
सो समितिले अन्तरक्रिया तथा सुझाव संकलन गरी जिल्ला दैवी प्रकोप उद्धार समितिले तर्जुमा गरेको मापदण्डमा भएका सूचकहरु माथि छलफल तथा विश्लेषण मापदण्ड बमोजिम पीडितहरूको सूचना संकलन गरेको थियो ।
अहिले मन्त्रिपरिषदले नै निर्णय गरेपनि समितिले त्यति सारो तदरुपता नदेखाएको पीडितहरुको गुनासो छ ।