
तातोपानी भन्सारमा थन्कियो रासायनिक मल, यता किसानलाई भने चौपट

जेठ १९, तातोपानी (सिन्धुपाल्चो) । यतिबेला रासायनिक मल नपाएर किसानहरु निकै मर्कामा परेका छन् । उता तातोपानी भन्सार परिसरमा भने हजारौं क्वाईन्टल रासायनिक मल थन्किएर बसेको छ ।
तातोपानी भन्सार परिसरमा दुई साता देखि व्यापारिहरुले ल्याएको रासायनिक मल थन्किएर बसेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतले सिन्धुज्वालालाई बताए । उनका अनुसार तातोपानी भन्सार परिसरमा करिब दुई करोड मूल्य पर्ने ५ सय मेट्रिकटन रासायनिक मल दुई साता देखि थन्किएर बसेको हो ।
उक्त रासायनिक मल शिल्क कम्पनी लगाएत अन्य व्यापारिक संस्थाहरुले संयुक्त रुपमा ल्याएका थिए । तर मल खरिद गर्ने व्यापारिक संस्था बीचमै सहमति नहुँदा यति लामो समय सम्म भन्सार परिसरमै मल थन्थिएको हो । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडसंग सम्झौता गरी ल्याईएको उक्त रासायनिक मल थन्किनु तातोपानी भन्सार कार्यालयको कुनै हात नरहेको भन्सार प्रमुख गौतम बताउँछन् । ‘मल रोकिनुमा उहाँहरुकै कुरा नमिलेर हो, हाम्रो यसमा कुनै भूमिका हुँदैन’, भन्सार प्रमुख गौतमले सिन्धुज्वालासंग भने । सम्झौता रद्द भईसकेपछि व्यापारिहरुलाई निकै समस्या पर्ने तातोपानी भन्सारका प्रमुख गौतमको तर्क छ । उनका अनुसार साल्ट ट्रेडिङ संगको सम्झौता रद्द भएपछि व्यापारीहरुले उक्त रासायनिक मल आफू खुशी जनतालाई सिधै बाँढ्न सक्दैनन् । किनकी त्यसपछि अवैध ठहरिन्छ ।
उक्त मल रोकिनुमा केही प्राविधिक कारण रोकिएको शिल्क कम्पनीका प्रमुख रमेश शेर्पाले जानकारी दिए । उनका अनुसार अन्य व्यापारिक कम्पनीहरु सहित शिल्क कम्पनीको संयुक्त लगानीमा ल्याईएको मल केही दिनै काठमाडौं भित्रिने उनले बताए । उनका अनुसार यसको अलवा शिल्कले छुट्टै पनि मल खरिद गरेर राजधानी भित्र्याई सकेको छ । ‘साँझेदारी बाहेक हामीले छिट्टै पनि रासायनिक मल चाईनाबाट तातोपानी नाका हुँदै काठमाडौं मल पु¥याई रहेका छौं’, शेर्पाले भने ।
उता किसान भने रासायनिक मल नपाएर निकै निराश बनेका छन् । मकै बालीमा मल हाल्न नपाएर दुःखित बनेका किसाहरुले असारमा धान रोप्ने समय हुँदा समेत मल नपाउने भएका छन् । स्थानीय सहकारीहरूमा घन्टौँ लाइनमा बसेर उनीहरू रित्तो हात फर्किनुपरेको छ । देशभर नै युरिया, डिएपी र पोटास मलको अभाव छ । पैसा तिरेर पनि मल नपाउँदा किसान आक्रोशित बनेका छन ।
देशभरका किसानले रासायनिक मलको चरम अभाव खेपिरहेका छन । मुख्य गरी यतिबेलाको मकै बाली र व्यावसायिक तरकारी खेती गर्ने किसान स्थानीय सहकारीमा घन्टौँ लाइनमा बस्दासमेत रित्तो हात फर्किन बाध्य छन ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले स्थानीय सहकारी मार्फत किसानलाई मल बिक्री गर्छन । तर, यी कम्पनीका गोदाममै मल रित्तिएपछि सहकारीले पाएका छैनन् । प्रत्यक्ष मारमा किसान परेका छन ।
गत साल आपूर्तिकर्ता सिल्क ट्रान्सपोर्ट छनोट भई चीनबाट १० हजार मेट्रिकटन भन्दा बढी रासायनिक मल ल्याएर किसानले पाएका थिए । तर यो वर्ष उक्त कम्पनीले समेत भने जति ल्याउन नसकेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका एक कर्मचारीले सिन्धुज्वालालाई बताए । उनका अनुसार असारमा रोपाइँ गर्नका लागि करिब एक लाख टन युरिया–डिएपी चाहिन्छ । सो मल खरिदका लागि बोलपत्र आह्वान गरेकोमा शिल्क लगएत कम्पनीलाई परेको थियो । तर व्यापारिहरु बीचमै सहमति बन्न नसक्दा मल गोदामै थन्किएको छ । यस बारेमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको कुनै आधिकारिक धारणा आएको छैन । असारसम्म रासायनिक मल नआए मुलुकमा दोब्बरले उत्पादन घट्ने आंकलन गरिएको छ ।