सेन स्मृति दिवसका अवसरमा ४ पत्रकार पुरस्कृत, को को पुरस्कृत भए ?

काठमाडौं, १३ जेठ । पत्रकार सहिद कृष्ण सेन ‘इच्छुक’ को २० औं स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले ४ जना पत्रकारहरुलाई पुरस्कृत गरेको छ ।

सेन्टरले कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट संगठनका संस्थापक अध्यक्ष तथा इन्चार्ज महेश्वर दाहाल र संस्थापक सदस्य तथा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष गोविन्द आचार्यलाई पुरस्कृत गरेको छ ।

५० हजार राशी रहेको कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार आचार्यलाई २०७८ सालको र दाहाललाई २०७९ सालको पुरस्कार प्रदान गरिएको सेन्टरका अध्यक्ष विष्णु सापकोटाले जनाकारी दिए । बताउनु भयो। गत कोभिड–१९ का कारण पुरस्कार स्थगित गरिएको थियो।
त्यसैगरी वरिष्ठ पत्रकारहरु शक्ति लम्साल र तारा न्यौपानेको स्मृतिमा स्थापना गरिएको शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कारबाट संस्थापक सदस्य तथा निवर्तमान उपाध्यक्ष बलराम थापा र सेन्टरका निवर्तमान उपाध्यक्ष लक्ष्मी पुनलाई पुरस्कृत गरिएको छ। थापालाई २०७८ र पुनलाई २०७९ सालको पुरस्कार प्रदान गरिएको हो। शक्ति–तारा स्मृति पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको सेन्टरले जनाएको छ।
पुरस्कार प्रदान गर्नका लागि प्रेस सेन्टरले नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीको संयोजकत्वमा गोविन्द देवकोटा र गंगा बराल सदस्य रहेको पुरस्कार छनोट समिति गठन गरेको थियो।

इच्छुकको २० औं स्मृति दिवसको अवसरमा काठमाडौंको बुद्धनगरमा शुक्रबार बिहान आयोजित अन्तरक्रिया तथा पुरस्कार प्रदान समारोहमा पुरस्कृत पत्रकारहरुलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रचण्डले जनपक्षीय पत्रकारिता, प्रगतिवादी साँस्कृतिक आन्दोलनमा सेनले खेलेको भूमिका उच्च र अतुलनीय रहेको बताए । सेनको आदर्श, नैतिक बल र वर्गप्रतिको निष्ठाले जो कसैलाई पनि नतमस्तक बनाउने भन्दै अध्यक्ष प्रचण्डले सेनको बलिदानीले पार्टी, क्रान्ति र समग्र आन्दोलनलाई अपुरणीय क्षति पु¥याएको उनले बताए ।

सो अवसरमा प्राध्यापक गोपिन्द्र पौडेल र पत्रकार गोविन्द आचार्यले कृष्ण सेन इच्छुकको जनपक्षीय पत्रकारिता र प्रगतिवादी साँस्कृतिक आन्दोलनमा रहेको योगदानका बारेमा चर्चा गरेका थिए । त्यस्तै, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारिता क्षेत्रमा सेनको योगदान र बलिदानका बारेमा आफ्नो धारणा राखेका थिए ।
जनसाँस्कृतिक महासंघ, नेपालका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा भएको समारोहको सञ्चालन प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ले गरेका थिए ।

को हुन् पुरस्कृत पत्रकारहरु ?


महेश्वर दाहाल
कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार २०७९ बाट प्रेस सेन्टर नेपालका संस्थापक संयोजक महेश्वर दाहाल पुरस्कृत भएका छन् । २०४५ सालमा योजना साप्ताहिकबाट पत्रकारिता सुरुवात गरेका उनले नेपालबाट प्रकाशित हुने जनादेश, जनदिशालगायत झण्डै एक दर्जन पत्रपत्रिकाको नेतृत्वका साथै भारतबाट प्रकाशित हुने नेपाली पत्रिकाको पनि सम्पादकीय नेतृत्व गरेर जनपक्षीय पत्रकारितामा ठूलो योगदान गरेका छन् । हाल प्रेस सेन्टर नेपालको इन्चार्जको रुपमा रहेका उनले समयबद्ध साप्ताहिकका साथै झिल्को अनलाइनको सम्पादकीय नेतृत्व गर्दै आएका छन् ।

उहाँ प्रेस सेन्टर नेपालको संस्थापक संयोजक, पूर्वअध्यक्षका साथै नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको एकीकरणपछि बनेको प्रेस संगठन नेपालको झण्डै तीन वर्ष संयोजक भएर नेतृत्व गरेका थिए ।

गोविन्द आचार्य

कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष गोविन्द आचार्य पुरस्कृत भएका छन् । उनले विगत ३० वर्षदेखि निरन्तर पत्रकारिता गर्दै आएका छन् । प्रेस सेन्टर नेपालको संस्थापक रहेका आचार्यले यो संस्थाको नेतृत्वमात्रै नभएर नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको पनि नेतृत्व गरेका छन् ।

२०४४ सालमा कृष्ण सेन इच्छुकले संगठित गरेर यो अभियानमा लागेका आचार्यले २०४९ मा जनादेश साप्ताहिकमार्फत् पत्रकारिता सुरु गरेका थिए । त्यसपछि उनले ०५४ सालमा त्यही पत्रिकाको कार्यकारी सम्पादक र ०५८ सालमा कृष्ण सेनपछिको सम्पादकको रुपमा काम गरे । पत्रकार महासंघ र न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष, प्रेस काउन्सिल नेपालको सदस्य, प्रधानमन्त्री प्रचण्डको प्रेस सल्लाहकारसमेत भइसकेका उनले मातृभूमि, जनदिशालगायतका पत्रपत्रिकाको सम्पादकीय नेतृत्व गरिसकेका छन् ।

बलराम थापा

शक्ति–तारा स्मृति पुरस्कार २०७८ बाट लामो समयदेखि जनपक्षीय पत्रकारिता गर्दै आएका प्रेस सेन्टर नेपालका नेता बलराम थापालाई सेन्टरले सम्मान गरेको छ । २०४८ सालमा आँकुरा साहित्यिक पत्रिकाको सम्पादक मण्डलमा आवद्ध भएर पत्रकारिता सुरु गरेका उनले चौतारी मासिक, पौरख, नयाँ जनवाद मासिक, प्रत्याक्रमण, महिमा, जलजला, जनादेश लगायतका पत्रपत्रिकाको सम्पादकीय नेतृत्वमा रहेर काम गरेका छन् । प्रेस सेन्टर नेपालको स्थापना पहिले उले जनपक्षीय पत्रकार संघ २०५४ र प्रगतिशील पत्रकार समूह २०५१ को संस्थापक सदस्यको रुपमा समेत काम गरेका थिए ।

लक्ष्मी पुन

शक्ति–तारा स्मृति पुरस्कार २०७९ बाट पत्रकार लक्ष्मी पुनलाई सम्मान गरिएको छ । २०५६ सालमा भारतको गोवाबाट प्रकाशित हुने भास्को इन्साइडबाट पत्रकारिता सुरु गरेकी उनले रेडियो जनगणतन्त्र मगराँत प्रसारण केन्द्रमा काम गरेकी थिईन । जनउभार, जनसन्देश, नेपाल टेलिभिजन, द वाल्कर लगायतका सञ्चारमाध्यममा क्रियाशील रहिसकेकी पुन प्रेस सेन्टर नेपालको पूर्वपदाधिकारीका साथै नेपाल पत्रकार महासंघको निवर्तमान सचिव समेत छिन ।