सिन्धुपाल्चोकमा जिल्ला समन्वय समिति बनाउन दलहरुलाई सकस, गठबन्धन बीचनै तालमेलको सम्भवना
दिनेश दुलाल
जेठ १२, चौतारा (सिन्धुपाल्चोक) । दोस्रो स्थानीय तह निर्वाचन परिणामसँगै दलहरुले जिल्ला समन्वय समिति (जिसस) गठनको गृहकार्य सुरु गरेका छन् ।
कसैको बहुमत नपुगेको सिन्धुपाल्चोकमा एकल पार्टीले समन्वय समिति बनाउने सम्भावना नभएपछि राजनीति जोड घटाउमा जिल्लाका ठूला दल कांग्रेस, माओवादी केन्द्र र एमालेले हिसाब किताब गर्न लागेका छन् ।
दलहरुले एकल वर्चश्व कायम गरेका बाहेक पालिका–पालिकामा समेत आफू अनुकूल तालमेलको गृहकार्य थालेका हुन् । सिन्धुपाल्चोकको १२ स्थानीय तह मध्य नेपाली कांग्रेसले २ नगरपालिका सहित ५ पालिका, माओवादी केन्द्रले १ नगरपालिका सहित ४ पालिका र एमालेले ३ पालिका प्रमुख पद हाँसिल गरेको छ । त्यस्तै उपप्रमुखमा कांग्रेसले ७, एमालेले ४ र समाजवादी १ पालिकामा जित हाँसिल गरेको छ । यसो हुँदा कांग्रेस एक्लैको प्रमुख उपप्रमुख गरी १२ जना पुगेपनि बहुमतको लागि थप १ जना आवश्यक छ ।
उता माओवादी र एमालेको जोड्दा १२ मात्रै हुन आउँछ । कांग्रेसलाई बहुमतको लागि एकजना सदस्य चाहिन्छ । जसका लागि जोसंग उसले तालमेल गरेपनि पुग्छ । तर केन्द्रमा माओवादी केन्द्र लगाएत ५ दलीय गठबन्धन रहेकाले गठबन्धन बाहेक तालमेलको सम्भावना नरहेको जिल्ला नेताहरु बताउँछन् । सिन्धुपाल्चोकमा गठबन्धन भएको कारणले गठबन्धनसंग नै तालमेल गरेर जिल्ला समन्वय समति बनाउने सम्भवना रहेको नेपाली कांग्रेसका जिल्ला सभापति जंगबहादुर लामाले सिन्धुज्वालालाई बताए । ‘हामी गठबन्धन भन्दा बाहिर जाँदैनौं गठबन्धन बीचमै तालेमेल गरेर बनाउँछौं’, जिल्ला सभापति लामाले भने । पालिका स्तरमा भने कांग्रेसको बहुमत पुगे एकल र नपुगे जुनसुकै दलसंग तालमेल गर्न सकिने उनले बताए ।
नेपालको संविधानको धारा २२० मा नगरसभा र गाउँसभा गठन भएको ३० दिनभित्र सम्बन्धित जिल्लामा जिसस गठन गरिसक्नुपर्ने प्रावधान छ । गाउँ, नगरका प्रमुख तथा उपप्रमुखले मात्र मतदान गर्न पाउने व्यवस्थासहित त्यस्तो समिति गठन गर्ने व्यवस्था संविधानमा छ ।
एक सभापति, एक उपसभापति, कम्तीमा तीन महिला सदस्य र कम्तीमा एक दलित वा अल्पसंख्यक रहने गरी बढीमा ६ देखि ९ सदस्यसम्मको समन्वय समिति रहने व्यवस्था छ ।
जिल्लाभित्रका गाउँपालिका, नगरपालिकाबीच समन्वय गर्ने, विकास निर्माणको कामको अनुगमन तथा संघ र प्रदेशअन्तर्गतका सरकारी कार्यालयको अनुगमन गर्नेजस्ता काम समितिले गर्न पाउँछ ।