यस्तो छ सिन्धुपाल्चाेककाे १६ वडाकाे अन्तिम परिणाम, कहाँ कसले जिते ?

चौतारा । सिन्धुपाल्चोकमा जारी मतगणनाबाट १६ वटा वडा अध्यक्ष निर्वाचित भएका छन् । नेपाली कांग्रेसका ९, एमालेका ५, नेकपा (माओवादी केन्द्र) का १, नेकपा (एकीकृत समाजवादी) का १ वडा अध्यक्ष निर्वाचित भएका हुन् ।

आईतबार विहान सम्मको मत परिणाम अनुसार बाह्रविसे नगरपालिका वडा नं. १ को वडाध्यक्षमा कांग्रेसका आङदोर्जे शेर्पा प्यानलसहित निर्वाचित भएका छन् । त्यस्तै वडा नं. २ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार रेशम तामाङ बिजयी भएका छन् । उनले एमाले उम्मेदवार जितबहादुर तामाङलाई ८२ मतान्तरले हराए । रेशमले ७ सय ६ मत पाउँदा जितबहादुरले ६ सय २४ भोट ल्याए । रेशमको प्यानलै बिजयी भएको हो । बाह्रविसे नगरपालिका वडा नं ३ को वडा अध्यक्षमा नेपाली कांग्रेस जीवन भण्डारी विजयी बनेका छन् ।

हेलम्बु गाउँपालिकामा पनि कांग्रेसले खाता खोलेको छ । हेलम्बु– १ को वडाध्यक्षमा १ हजार तीन मत ल्याएर कांग्रेसका दावा ग्याल्जेन लामा निर्वाचित भए । उनले एमाले उम्मेदवार अनिल लामालाई हराए । उनले ५ सय ९६ मत मात्र पाए । हेलम्बु गाउँपालिका वडा नं ७, नेपाली कांग्रेस निलबहादुर खड्का विजयी बनेका छन् । उनले ६ सय ६६ मत ल्याएका थिए ।

त्रिपुरासुन्दरी गाउँपालिकामा प्यानलसहित वडाध्यक्ष जित्दै कांग्रेसले खाता खोलेको छ । त्रिपुरासुन्दरी– १ मा सीताराम थापा ३ सय ३४ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादीका हरेराम तिमिल्सिनाले २ सय ७९ मत ल्याए । त्रिपूरा सुन्दरी गाउँपालिका वडा नं २ मा नेपाली कांग्रेसका रमेश राउत विजयी बनेका छन् । त्यस्तै जुगल गाउँपालिका– १ को वडाध्यक्ष कांग्रेसका जनक लामा बिजयी भएका छन् । उनले ५ सय ८४ मत ल्याएका थिए । बलेफी गाउँपालिका वडा नं १, नेपाली कांग्रेसका हुपबहादुर खड्काले ६ सय ७९ मत ल्याएर विजयी बने ।

नेकपा एमालेले भने चौतारा साँगाचोकगढी नगरपालिकामा पहिलो खाता खोलेको छ । वडा नं. ३ का उम्मेद्वार टेकबहादुर तामाङको प्यानल नै विजयी भएको छ । तामाङले ५ सय ५४ मत ल्याएर विजयी भएका छन् भने तामाङका प्रतिद्वन्दी कांग्रेसका उम्मेद्वारले ५ सय १९ र माओवादी केन्द्रका उम्मेद्वारले ४ सय ६ मत प्राप्त गरेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. २ मा एमालेबट सुदिप श्रेष्ठको प्यानल नै विजयी भएको छ । यस्तै इन्द्रावती गाउँपालिका वडा नं. १ मा एमालेका चिनलाल तामाङ विजयी बनेका छन् । जुगल गाउँपालिका वडा नं २ मा एमालेका चन्द्रकाजी लामा र हेलम्बु गाउँपालिका वडा नं. ६ मा एमालेका सन्चबहादुर तामाङ विजयी बनेका छन् ।

नेकपा (माओजादी केन्द्र) ले लिसंखुपाखर गाउँपालिकाबाट पहिलो खाता खोलेको छ । वडा नं १ का नेकपा (माओवादी केन्द्र) का उम्मेद्वार पाशाङलाल लामा विजयी बनेका छन् । नेकपा (एकीकृत समाजवादी) बाट पनि एक उम्मेद्वार विजयी बनेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १ बाट युवलाल श्रेष्ठ ५ सय ७५ मतले विजयी बनेका हुन् ।
यसैबीच पछिल्लाे मत परिणाम अनुसार सिन्धुपाल्चोककाे १२ स्थानीय तह मध्ये नेपाली कांग्रेसले ५, माअाेवादी केन्द्रले ४ र एमालेले २ स्थानमा अग्रता लिएकाे छ ।