भोटेकोशी गाउँपालिका २ वडा अध्यक्ष पदका उम्मेदवार श्रेष्ठको यस्तो छ योजना

बैशाख २६, तातोपानी (सिन्धुपाल्चोक) । भोटेकोशी गाउँपालिका २ का वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका कुमार श्रेष्ठ स्थानीय स्तरमा समाजसेवी रुपमा परिचित छन् । विशेष भूकम्प बेला उनले पु¥याएको योगदानको स्थानीय अहिले पनि प्रशंसा गर्छन् । भूकम्पको विपदमा उनले जिल्लाका साविक १२ गाविस वासीलाई भक्तपूरको निल बराही स्थित बोडेमा अस्थायी शिविर सञ्चालन गरेर आश्रय दिएको घटना सबैले सम्झने गरेका छन् ।

उनको अगुवाईमा तातोपानी क्षेत्रका धेरै युवाहरुले स्थानीयको सेवा गरेका थिए । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएका युवा समाजसेवी श्रेष्ठ जन्मस्थलोमा केही गरेर देखाउने ईच्छाले आफू उम्मेदवार भएको बताउँछन् । जनताको सेवाको लागि आफू नेपाली कांग्रेसबाट उम्मेदवार भएको बताउँछन् ।

नेपाल चीनबीचको महत्वपूर्ण व्यापारिक स्थल तातोपानी नाका यहि वडामा पर्ने भएकाले पनि उनको उम्मेदवारीले बढी महत्व पाएको छ । उनको टिममा सदस्यहरु चेङा शेर्पा, मंगल जित थामी, सुनिता श्रेष्ठ र कल्पी थामी छन् । उनी राजनीतिलाई कमाई खाने भाँडोको रुपमा कहिल्यै प्रयोग नगर्ने बाचा गर्छन् । राजनीतिलाई समाजसेवाको रुपमा लिने गरेको उनले बताए ।

उनले उम्मेदवारी दिएसंगै आफ्नो ५ वर्षे योजना पनि सार्वजनिक गरेका छन् । उनले वडाको समृद्वि र विकासका लागि आफू दिनरात खटेर लाग्ने बताए । वडाको विकास समृद्विका लागि पर्यटन, नेपाल चीन नाकामा छोटी भन्सारको स्थापना, धर्म संस्कृतिको प्रवद्वन, रोजगारीको सिर्जना, कृषिको आधुनिककरण, खेलकुदको विकास, मुल सडक देखि ग्रामिण क्षेत्रमा जाने सडकको स्तरोन्नती, भूकम्प र निरन्तर बाढीपहिरोले क्षेतिग्रस्त पारेका संरचनाको पुनः निर्माण शिक्षा र स्वास्थ्यको सहज पहुँच जस्ता विषयलाई उनले आफ्नो ५ वर्षे योजनाको रुपमा अघि सारेका छन् ।

विशेष पर्यटकीय स्थलहरु तातोपानी धारा, भैरवकुण्ड ताल, कोदारी गुम्बा, कोदारी झर्ना, कपिलेश्वर माहादेव, शिवमन्दिर, नादुङ बन, मितेरी नाकालाई व्यवस्थित गर्न खाका तयार गरेको उनी बताउँछन् । त्यस्तै कोदारी गुम्बालाई आकर्षकको केन्द्र बनाउने उनको योजना छ । शैक्षिक गुणस्तर वृद्वि गर्न यस वडामा अध्ययनरत विद्यार्थीहरुलाई कम्युटर, प्रोजेक्टर र ई वोर्ड जस्ता प्रविधिमा, शिक्षण गराउने १२ कक्षा उर्तिण गरेकाहरुलाई सरकारी सेवामा जान प्रेरित गर्न कोचिङ कक्षा सञ्चालन गर्ने योजना छ । हाल कायम रहेका स्वास्थ्य चौकीलाई स्तरोन्नती गरेर कम्तीमा पनि १० शैयाको अस्पताल बनाउने, अनुभवी डाक्टरहरुको व्यवस्था गर्ने, प्रसुती सेवा निशुल्क उपलब्ध गराउने उनको योजना छ । सामाजिक काममा क्रियासिल वडा अध्यक्षका उम्मेदवार श्रेष्ठ आफूलाई जनताले भारी मतले विजय गराउने दावी गर्छन् । जनताले समेत उनलाई रुचाएका छन् ।