भोटेकोशी गाउँपालिका बनाउने उम्मेदवार दिपेन्द्रको यस्तो छ भिजन
बैशाख २६, तातोपानी (सिन्धुपाल्चोक) । भोटेकोशी गाउँपालिका वडा नम्बर २ का निवर्तमान वडाअध्यक्ष दिपेन्द्र कुमार श्रेष्ठले यसपटक स्वतन्त्रबाट गाउँपालिकाको स्वतन्त्रबाट अध्यक्ष पदमा उम्मेदवार दिएका छन् । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रबाट वडा अध्यक्ष निर्वाचित श्रेष्ठ यसपटकको स्थानीय तहको निर्वाचनमा भने गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
जनताबाट निर्वाचित हुने जनप्रतिनिधि स्वच्छ छवी भएको, निश्पक्ष काम गर्ने, सामहिक स्वार्थलाई आफ्नो लक्ष्य ठान्ने हुनु पर्छ भन्ने उनको मान्यता छन् । ‘राम्रो काम गर्न दलबाटै उम्मेदवारी दिनुपर्छ भन्ने छैन्’, उनको तर्क छ । लालटिन चिन्ह लिएर उठेका श्रेष्ठ लगाएत उनको टिमले भोटेकोशी क्षेत्रको उन्ननी, प्रगती र समुन्नतीका लागि १५ बुँदे कार्यक्रम प्रस्तुत गरेको छ ।
जुनसुकै रोग लागेर थलिएका दिर्घ रोगीको उपचारका लागि वार्षिक एकलाख सहयोग प्रदान गरिने तथा मृत्यु भएका परिवारलाई किरिया खर्च स्वरुप १० हजार प्रदान गरिने उनको योजना छ । त्यस्तै उनको टिमले तयार पारेको घोषणापत्रमा उल्लेख गरे अनुसार अति विपन्न व्यक्तिलाई हाईड्रोमा निशुल्क शेयर उपलब्ध गराईने, भौगोलिक दुर्गमताई मध्यनजर गरेर टोल टोलमा विरामी ओसार्ने सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालन गरिने उल्लेख छ । वडा नम्बर ४ मा रहेको वौद्व धर्मका तपश्वीको खप्पर भएको स्थानमा विश्व स्तरको धार्मिक सम्पदा निर्माण गरिने, चीन स्वशासित क्षेत्र तिब्बतको खासा बजार नजिकै रहेको नेपाली बजार लिपिङमा अन्र्तराष्ट्रिय स्तरको व्यापारिक हब बनाईने उल्लेख छ ।
त्यस्तै जनताको लगानीमा भोटेकोशीमा हाईड्रो पावर बनाउने विपन्नलाई निशुल्क सेवा दिईने, मार्मिङ क्षेत्रमा साईकिलिङ, रक क्लामिङ स्पर्ट बनाईने उल्लेख छ ।
बन्जिजम्पिङ देखि भैरवकुण्ड सम्म केबलकार निर्माणको योजना पुरा गर्न विदेशी दातालाई अनुरोध गर्ने तथा सो काम पुरा गरेर पर्यटन विकासमा नौलो प्रस्तुती गरिने उल्लेख छ । लार्चा भन्सार क्षेत्रमा काम गर्ने मजदुरलाई प्रतिक्षालय, शौचालय, स्वच्च खानेपानी र अन्य सुविधा व्यवस्थापनाको लागि ठोस कदम चालिने योजना उनको छ । भोटेकोशी क्षेत्रमा निर्माणधिन र स्थपना भएर उत्पादन गरिरहेका जलविद्युत कम्पनीलाई निर्वाध सञ्चालन गर्न दिने र ति कम्पनीले स्थानीयलाई काम र प्रभावित क्षेत्रको उचित सुविधा पाउने अधिकारलाई जोडदार पूर्वक पहल गरिनेछ ।
देउढुङ्गालाई हन्टिङ हब घोषणा गरि लिस्ती, दुगुनागढी, तातोपानी, फुलपिङकट्टी र मार्मिङ क्षेत्रमा एकएक कृषिफर्म सञ्चालन गरेर पाँचसय युवालाई रोजगार प्रदान गर्ने उनको योजना छ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा नयाँ योजना ल्याईने, सबै वडा पुग्ने ग्रामिण सडक कालोपत्रे गरिने योजना छ । भोटेकोशी गाउँपालिकाको प्रशासन यन्त्रलाई डिजिटल र पारदर्शी प्रणालीमा विकास गरेर नयाँ मोडेलमा सरकारी कामकाज गरिने उनको योजना छ ।