सुनकोशीमा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल

बैशाख १६ खाडीचौर (सिन्धुपाल्चोक) । जिल्लाको सुनकोशी गाउँपालिकामा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलको सहमति भएको छ ।

माओवादी केन्द्रबाट अध्यक्षमा उम्मेदवारी दिएकी कृष्णकुमारी कुँवरले उम्मेदवारी फिर्ता लिएर एमालेका उम्मेदवार टपिन्द्र तिमल्सिनालाई साझा उम्मेदवार बनाउने गरी दुई दलबीच सहमति भएको एमालेका स्थानीय नेता ईश्वर तिमिल्सिनाले जानकारी दिए ।
उनका अनुसार उपाध्यक्षमा एमालेकी उम्मेदवार मञ्जु नेपाल भण्डारीलाई उम्मेदवारी फिर्ता गराएर माओवादीकी दुर्गा थापालाई साझा उम्मेदवार बनाइनेछ ।

‘पालिकाका सबै वडाहरुका पनि एमाले र माओवादीले भागबण्डा मिलिसकेको छ’, माओवादी केन्द्रका एक नेताले सिन्धुज्वालासंग भने । उनका अनुसार नेताहरुबीच १ बजे संयुक्त घोषणापत्र जारी गरी चुनावी प्रचारलाई तीव्र बनाउने पनि सहमति भएको हो । चुनावी तालमेलबारे दिउसो १ बजे पत्रकार सम्मेलन गरिने स्रोतले बताएको छ । सुनकोशी गाउँपालिकामा नेपाली कांग्रेसबाट श्रवण जिसी उम्मेदवार छन् । निर्वाचन आयोगको कार्यतालिका उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन हो ।

केन्द्रमा नेताहरुले सत्तापक्षको गठबन्धनलाई बलियो बनाउने निर्णय गरेका छन् । तर सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा भने एमाले र माओवादीबीच गठबन्धन गर्ने लिखित सहमति भएको विषय सामाजिक सञ्जालमा समेत निकै चर्चाको बिषय बनेको छ ।

स्मरण रहोस सिन्धुपाल्चोकमा अहिलेसम्म जुगल र पाँचपोखरी बाहेकका स्थानीय तहमा कांग्रेस, माओवादी र समाजवादीसहितको सत्तापक्षीय गठबन्धन हुन सकेको छैन । एमालेसंग सत्ता गठबन्धन भित्रको एक दल माओवादी केन्द्रले गरेको चुनावी तालमेल नै पहिलो घटना भएको छ ।