निवर्तमान मेयर अमानसिंले लिए उम्मेदवारी फिर्ता, सापकोटालाई सहज
दिनेश दुलाल
बैशाख १६, चौतारा (सिन्धुपाल्चोक) । चौतारा साँगाचोकगढी नगरपालिका निवर्तमान मेयर अमानसिं तामाङले मेयर पदको लगि दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।
माओवादी केन्द्रबाट टिकट नपाएपछि स्वतन्त्रबाट मेयर पदको लागि उम्मेदवारी दिएका तामाङले आज दिउसो निर्वाचन कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् ।
उम्मेदवारी फिर्ता लिनु अघि माओवादी केन्द्रबाट उम्मेदवार बनेका जिल्ला ईन्चार्ज कृष्ण प्रसाद सापकोटा ‘देशवन्धु’ र तामाङबीच झण्डै एकघण्टा छलफल भएको थियो । छलफल पछि निवर्तमान मेयर तामाङले उम्मेदवारी फिर्ता लिने र मेयरका उम्मेदवार सापकोटालाई सहयोग गर्ने प्रतिवद्वता जनाएको माओवादी केन्द्र जिल्ला समन्व्य समितिका संयोजक गोविन्द पराजुली अविनाशले जानकारी दिए ।
उक्त छलफलमा माओवादी केन्द्रका केन्द्रीय सदस्य द्वोय माधव सापकोटा ‘सुवोध’ र रामप्रसाद सापकोटा ‘दिपशिखा’ लगाएत नेताहरु सहभागी थिए ।
स्वतन्त्रबाट मेयरका प्रत्यासी तामाङले उम्मेदवारी फिर्ता लिएसंगै माओवादी केन्द्रबाट चौतारा साँगाचोकगढी नगरपालिकाका मेयरका उम्मेदवार कृष्णप्रसाद सापकोटालाई निकै सहज हुने अनुमान गरिएको छ ।
गत स्थानीय निर्वाचनमा मेयर तामाङले झण्डै दुईहजारको मत अन्तरले अर्का प्रतिश्पर्धि एमालेबाट उम्मेदवार बनेका सोम सापकोटालाई पराजित गरेका थिए । उनी अहिले एकीकृत समाजवादीमा छन् । चौतारा सागाँचोकगढी नगरपािलकामा माओवादी केन्द्रले एकीकृत समाजवादीसंग चुनावी तालमेल गरेको छ ।
एकीकृत समाजवादीबाट सीता थापा उपमेयरको उम्मेदवार बनेकी छिन् । माओवादी केन्द्र र एकीकृत समाजवादी मिल्दा गत सालमा प्राप्त गरेको भन्दा दुईहजार भन्दा बढी मत थपिने आंकलन गरिएको छ ।
स्वतन्त्रबाट मेयरका दावेदार बनेका तामाङले भोट काट्दा तिनदलको निकै प्रतिश्पर्धा हुने अनुमान गरिएको थियो । एमालेबाट ईन्द्र नेपाल र कांग्रेसबाट केशव गिरी उम्मेदवार बनेका छन् । नेपाल पूर्व गाविस अध्यक्ष हुन भने गिरी यस अघिको स्थानीय तहको निर्वाचनमा चौतारा साँगाचोकगढी नगरपालिकाको तेस्रो पोजिसनमा मेयरका प्रत्यासी हुन् । माओअवादी केन्द्रबाट उम्मेदवार बनेका सापकोटा जनतामा लोकप्रिय नेताको रुपमा परिचित छन् ।
माओवादी केन्द्रको पकड रहेको चौेतारा सागाँचोकगढी नगरपालिकामा सापकोटाको जित सहज हुने वुद्वीजिवीहरुको ठम्याई छ । सापकोटाले २०४९ सालमा स्थानीय निकायको निर्वाचनमा कुविण्डे गाविस अध्यक्षमा लोकप्रिय मत प्राप्त गरेर निर्वाचित भएका थिए । त्यस्तै अमानसिं तामाङले उपाध्यक्षमा जितेका थिए । चौतारामा भएको पछिल्लो तामाङ र सापकोटाको मिलनले कार्यकर्तामा भने निकै खुशी छायको छ ।