‘कसैप्रति जाईलाग्दैनौं हेप्नेलाई बाँकी राख्दैनौ’– युवा नेता ‘सुवोध’

बैशाख १२, बलेफी (सिन्धुपाल्चोक) । नेकपा( माओवादी केन्द्र) का केन्द्रीय सदस्य माधव सापकोटा ‘सुवोध’ ले आगमी स्थानीय निर्वाचनका दौरानमा माओवादी समर्थक जनता तथा कार्यकर्तालाई अन्य दलका कार्यकर्ताले हेप्न थाले पार्टीले सहेर नबस्ने बताएका छन् ।

माओवादी केन्द्र सिन्धुपाल्चोकले आसन्न निर्वाचनलाई लक्षित गरेर बलेफी पालिका स्तरीय मतदाता रक्षा दल (भी फोर्स) गठनका सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सापकोटाले उक्त धारणा राखेका हुन् ।

‘हामी कसैप्रति जाई लाग्दैनौ, हाम्रा कार्यकर्ता तथा जनतालाई कसैले हेप्छ भने बाँकी राख्दैनौं’, नेता ‘सुवोध’ ले भने ।
माओवादी केन्द्रको निर्वाचन अभियानलाई अन्य दलले अवरोध नपु¥याहोस भनेर आवश्यकता अनुसार त्यसलाई तह लगाउन ‘भि फोर्स’ शक्ति निर्माण गरिएको बताए । ‘भि फोर्स’ मा संगठित युवा दस्तालाई सम्बोधन गर्दै नेता सापकोटाले निर्वाचन अभियानको दौरानमा माओवादीलाई होच्याउने गरीकन कसैले छड्के आँखाले हेर्छ भने त्यसलाई बाँकी नराख्ने चेतावनी दिएका छन् । जनताको मत सुरक्षित गर्न उक्त दस्तालाई बिनम्र भएर निर्वाचनमा होमिन समेत उनले आग्र गरे ।

नेता सापकोटाले चुनावको बेला राती राती गौंडामा बसेर जनतालाई खसीबोकालाई जस्तो खरिद गर्न आउँछन् भने त्यो पैसा थुतेर जनताको विकास निर्माणमा लगाउन ‘भि’ फोर्सलाई निर्देशन समेत दिए ।
आसन्न निर्वाचनमा बलेफी माओवादीको आशाको केन्द्र रहेको भन्दै ‘गठबन्धन हुँदा पनि बलेफी नछाड्ने, बलेफी छोडेर गठबन्धन नगर्ने’ बताए ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा महिला नेतृ अमृता नेपाल, माओवादी केन्द्रको तर्फबाट बलेफी पालिका उम्मेदवार गंगाबहादुर तामाङ लगाएतले सम्बोधन गरेका थिए ।

माओवादी केन्द्रले शुक्रबार बलेफी, सुनकोशी र इन्द्रावती गाउँपालिकामा रक्षा दल गठन गरिएको जनाएको छ ।
यसैगरी सुनकोशी गाउँपालिकामा पनि मतदाता रक्षा दल गठन गरिएको छ । वाईसिएल नेपालको केन्द्रीय संयोजक सुमन देवकोटाको प्रमुख आतिथ्यतामा सो कार्यक्रमको आयोजना गरिएको थियो । सो अवसरमा संयोजक देवकोटाले युवाहरुको भुमिका र जिम्मेवारी बारे प्रशिक्षण समेत दिएका थिए ।

त्यस्तै इन्द्रावती गाउँपालिकामा पनि माओवादीले मतदाता रक्षा दल गठन गरेको छ । नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य एवम् वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमबाट ३ सय ५० सदस्यीय रक्षा दल गठन गरिएको नेकपा (माओवादी केन्द्र) इन्द्रावतीले जनाएको छ ।