चुनावका बेला फेक न्यूजको कारखानै खुल्न सक्छ, सचेत हुनुहोस् ः अध्यक्ष बस्नेत
काठमाडौं
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले चुनावका बेला फेक न्यूजको कारखाना नै चल्न सक्ने खतरा औंल्याउँदै समाचार छाप्नु अघि सचेत रहन सञ्चारकर्मीहरूलाई आग्रह गरेका छन् ।
विभिन्न सञ्चार संस्था भन्दै स्वदेश एवं विदेशतिरबाट त्यस्ता प्रायोजित समाचार बन्न सक्ने भन्दै नेपाली मिडियाले साभार गर्दा विशेष ख्याल पुर्याउनुपर्ने उनको सुझाव थियो ।
निर्वाचन आयोगले प्रेस काउन्सिल र नेपाल पत्रकार महासङ्घको सहकार्यमा मङ्गलबार आयोजना गरेको सञ्चारकर्मीहरुको एक दिने अभिमुखिकरण कार्यक्रममा अध्यक्ष बस्नेतले मिथ्या सूचना (फेक न्यूज), दुस्प्रचार र गलत समाचार दिनबाट जोगिनुपर्ने बताए ।
‘चुनावका बेला दिग्भ्रमित बनाउनका लागि फेक न्यूजका कारखाना खुल्न सक्छन् । कुनै समाचार संस्थाको नामबाट त्यो आउन सक्ला । हामीले हतारिएर त्यसलाई कभरेज गर्नतिर नलागौं । आफैले स्वतन्त्र पुष्टि गरौैं,’– बस्नेतले सञ्चारकर्मीहरुलाई सुझाव दिए ।
उहाँले विश्वसनीयताकै कारण पत्रकारिता जगत बलियो हुने भएकाले त्यसलाई जोगाउन सञ्चारकर्मी स्वयम जुट्न आग्रह गरे ।
आयोगले चुनावका क्रममा मिडियाको आचारसंहिताबारे अनुगमनको जिम्मेवारी काउन्सिललाई दिएको छ । काउन्सिलले रेडिया, टिभी, छापा, अनलाईन र सामाजिक सञ्जालको अनुगमनको काम वैशाख १ गतेदेखि नै सुरु गरिसकेको जानकारी दिँदै आचारसंहिता उल्लंघन गरेको पाइए तत्काल कारवाही हुने समेत उनले जानकारी दिए ।