चौताराको दारेगौंडामा बन्यो ६७ फिट अग्लो बुद्धको मुर्ति, सभामुखद्धारा उदघाटन
चैत २४, चौतारा (सिन्धुपाल्चोक)— चौताराको दारेगौंडामा ६७ फिट अग्लो बुद्वको मुर्ति निर्माण गरिएको छ । सम्भव त जिलाको अहिले सम्मको सबैभन्दा ठूलो बुद्धको मुर्ति चौताराको दारेगौंडामा निर्माण गरिएको हो ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा न ६ मा नवनिर्मित भ्यु टावर सहितको बुद्ध मुर्ति सहित बुद्धपार्कको सभामुख अग्निप्रसाद सापकोटाले उदघाटन गरेका हुन् ।
बिहीबार एक समारोहका बीच सभामुख सापकोटाले ६७ फिट अग्लो बुद्धको प्रतिमाको अनावरण गरेका हुन् । उदघाटन पछिको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले शान्तीभूमि नेपालमा बुद्व ज्ञानको सार्थकता रहेको बताउँदै बुद्वपार्क निर्माणले जनतामा सुमधुर, शालिन र समंयमता हुन सिकायत हुने धारणा राखे । बुद्धपार्क भ्यु टावरसहितको बुद्ध पार्कले पर्यटन प्रवन्र्धनमा थप टेवा पुग्ने समेत सभामुख सापकोटाको ठहर छ ।
त्यसैगरी कार्यक्रमका विशेष अतिथि प्रतिनिधिसभा २ का सांसद शेरबहादुर तामाङले बुद्धपार्कको निर्माणले चौतारा साँगाचोकगढी नगरपालिकालाई मात्र नभई जिल्लालाई नै थप पर्यटकीय पहिचान दिएको बताए ।
उदघाटन समारोहमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यद्वय कृष्णप्रसाद सापकोटा, माधव सापकोटा सुवोध, प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल, जिसस उपप्रमुख बालकुमारी सापकोटा, नेपाली काँग्रेसका जिल्ला उपसभापति टंक कार्की, एकीकृत समाजवादीकी सीता थापा, एमालेको भीमसेन थापा र पत्रकार महासंघका अध्यक्ष लगायतका बक्ताहरुले कार्यक्रमलाई सम्बोधन गरेका थिए । उपप्रमुख जानुका पराजुलीले स्वागत गरेको कार्यक्रमका सञ्चालक प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र पौडेलले गरेका थिए ।
नगरपालिकाले गौरवको आयोजनाको रुपमा थालनी गरेको बुद्ध पार्कबाट उत्तरको जुगल हिमश्रृंखला, गौरी शंकर हिमालको अवलोकन गर्न सकिन्छ भने पूर्वी क्षेत्रका मुडे लगायत अधिकाँश भू–भाग अवलोकन गर्न सकिन्छ ।
त्यस्तै दक्षिणतर्फका धुलिखेल र नगरकोट लगायतको भूभागको दृष्य अवलोकन गर्न सकिन्छ । जिल्लाकै प्रख्यात भीमेश्वर मन्दिरबाट एक किलोमिटर मात्र पर रहेको बुद्धपार्क धार्मिक पर्यटनको हब बन्ने विश्वास नगरपालिकाले लिएको छ । आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्दै स्थानीयहरुको आयस्रोतमा वृद्धि गरि सिंगो चौतारा साँगाचोकगढी नगरपालिकालाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले बुद्धपार्कको निर्माण गरिएको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले बताए ।
सदरमुकाम चौताराबाट ३ किलोमिटर दरीमा रहेको बुद्धपार्क पुग्नका लागि नगरपालिकाले वैकल्पिक पदमार्गको रुपमा निर्माण गर्दै गरेको हजार सिंढीको कार्य पनि अन्तिम चरणमा पुगेको उनले बताए । नगरपालिकाको आन्तरिक स्रोतमार्फत ७ करोड ६७ लाखको लागतमा बुद्धपार्क निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।