मेलम्चीमा माओवादी केन्द्रको सबैभन्दा ठूलो सभा, अन्य पार्टीबाट सयौं कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश (भिडियो सहित)

सांसद दुलाल भन्छन्– ‘अरु पार्टी भन्दा माओवादी केन्द्र दुई कदम अगाडी’

दिनेश दुलाल

चैत्र ४, मेलम्ची (सिन्धुपाल्चोक) । वैशाख ३० गतेलाई स्थानीय तहको निर्वाचन घोषणा गरेसंगै राजनैतिक दलहरु निर्वाचनको माहोल बनाउन थालेका छन् ।
स्थानीय तहको चुनाव आउन करिब दुईमहिना बाँकी रहँदा दुईमहिने चुनावी अभियानै थालेको माओवादी केन्द्रले शुक्रबार मेलम्चीमा पहिलो चुनावीसभा गरेको छ । नेकपा (माओवादी) केन्द्र निर्वाचन क्षेत्र नम्बर २ सिन्धुपाल्चोकको पार्टी कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रम भनेर नामाकरण गरिएपनि चुनावी सभाको झल्को मिलेको हो ।

माओवादी केन्द्र निर्वाचन क्षेत्र नम्बर २ पार्टी कार्यालय उदघाटन पूर्व सामाजिक विकासमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य युुवराज दुलाल ‘शरद’ ले गरेका हुन् । मेलम्ची बजारमा राखिएको क्षेत्रीय पार्टी कार्यालय उद्घाटन पछिको सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला सहईन्चार्ज दुलालले माओवादी केन्द्र अन्य पार्टीभन्दा दुई कदम अगाडी भएको ठोकुवा गरे ।

मेलम्चीमा पार्टी कार्यालय एउटा कोठाको उद्घाटन मात्र नगरिएको बताउँदै २ नम्बर क्षेत्र (क) का सांसद दुलालले पीडामा परेका मेलम्ची र हेलम्बुका जनतालाई मलम लगाउने पार्टी तथा जनताको रक्षा गर्ने माओवादी केन्द्रको उदघाटन भएको उद्घोष गरे । ‘मेलम्ची तथा हेलम्बु क्षेत्रको विकासको लागि माओवादी केन्द्र अरु पार्टीलाई पछाडी पारेर दुई कदम पछाडी पार्न सफल भएको छ’, नेता दुलालले भने । हेलम्बु र मेलम्चीमा आएको विनासकारी बाढीबाट प्रताडित भएका जनतालाई सहयोग पु¥याउन आफू दिनरात खटेको स्मरण गर्दै नेता दुलालले जिल्लाका कांग्रेस, एमालेका ठूला नेता भन्नेहरुले बिना काम सस्तो प्रचार गरिएको आरोप लगाए ।
सम्वृद्वि र विकासको लागि माओवादी केन्द्र सबैभन्दा अगाडि भएको बताउँदै नेता दुललालले आफूले २ को (क) मा विकास निर्माण गरे जस्तै त्यस्तै अरुलाई गरेर देखाउन चुनौति दिए ।

अर्को प्रसंगमा सांसद दुलालले माओवादी केन्द्रले आगमी चुनावमा गठबन्धन कायम रहोस भन्ने चाहेपनि त्यसो हुन नसके एकल प्रतिस्पर्धा गरे जित्ने उदघोष गरे । सोही प्रसंगमा नेता दुलालले एमसीसी पास गर्न माओवादी केन्द्रलाई अपठ्यारो पार्न कोसिस गरेपनि कांग्रेस र एमालेकै एजेण्डा भएको ठोकुवा गरे ।

पछिल्लो पटक माओवादी प्रति जनताको आकार्षण बढेको बताउँदै नेता दुलालले केही दिनमै हेलम्बु, मेलम्ची र पाँचपोखरीबाट अन्यपार्टीबाट माओवादी केन्द्रमा हजारौं कार्यकर्ता प्रवेश गर्ने दावी गरे ।

यसैबीच सोही कार्यक्रममा अन्य पार्टीबाट डेडसय भन्दा बढीले माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुमा मेलम्चीका संस्थापक नेता शेर बहादुर तामाङ, नेकपा विप्लव समुहबाट अनिल बम्जन, नेपाली कांग्रेसबाट निर्वाचित नगर सदस्य सन्देश कुमार दनुवार, नेकपा (एमाले) शिखरपुरका नेता विष्णु रसाईली र राजन विकको नेतृत्वमा डेडसयको संख्यामा माओवादी केन्द्रमा प्रवेश गरेको सो पार्टीले जनाएको छ । नेता दुलालले उनीहरुलाई टिका र खादा लगाएर प्रवेश गराएका थिए ।
माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य चन्द्रबहादुर थापा ‘किशोर’ को सभापतित्वमा भएको उक्त कार्यक्रमको सञ्चालन बागमति प्रदेश कमिटि सदस्य चिरन्जिवी आचार्यले गरेका थिए ।