सिन्धुपाल्चोकका चर्चित लोकगायक जयनन्द लामाको निधन रहस्यमय
फागुन १२, चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पा जन्म घर भएका देशकै चर्चित लोक गायक तथा कलाकार जयनन्द लामाको मृत्यु रहस्यमय भएको छ । उनको बुधबार बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको थियो ।
उनको के कारणले मृत्यु भयो भन्ने कुरा अझै खुलेको छैन् । मृतक लामाको पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको प्रहरीको भनाई छ । मंगलबार राति बौद्धबाट घर फर्किएका लामा गाडीबाट झर्ने बेला लडेका थिए ।
आफ्नै घर अगाडि कारबाट ओर्लदै गर्दा लडेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेपनि टाउकोमा गहिरो चोट र भुँईमा समेत रगत देखिको कारण प्रहरीले गहिरो अनुसन्धान गरिरहेको जनाएको छ ।
पारिवारिक स्रोतका अनुसार घर परिवारले लामा आएको राति २ बजेतिर गाडीको आवाज सुने पनि बिहानमात्र उठेर हेरेका थिए ।
एउटा खुट्टा कारमा र जिउँ भुइँमा लडिरहेकोले अल्झिए लडेजस्तो देखिएको एक प्रत्यक्षदर्शीले बताए ।
पाँच दशकअघि गायन यात्रा शुरू गरेका लामा ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक भईसेका थिए ।
लामाका कलकत्ते काइँयो केश मेरो बाँगो, पानी प¥यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौं नक्कलीलाई पातलीलाई कसरी बे गरुँ, चुईं चुईं चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता दर्जनौं लोकगीत अहिले पनि उत्तिकै लोकप्रिय छन्।
एक सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका लामाले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए । पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए ।