एमसिसिको विरुद्व बाह्रबिसेमा अखिल क्रान्तिकारीद्वारा मशाल जुलुस

फागुन ११, बाह्रबिसे (सिन्धुपाल्चोक) । एमसिसि सम्झौताको प्रस्ताव टेबल भएर पास गर्न लागेको विरुद्व माओवादी निकट अखिल क्रान्तिकारीले बाह्रबिसेमा मशाल जुलस निकालेको छ ।

बुधबार अखिल क्रान्तिकारीले बाह्रबिसे बजारमा बसपार्कबाट खोर्सानीबारी सम्म मसाल जुलुस निकालेर कोणसभा समेत गरेको छ ।
मसाल जुलुस पछिको कोणसभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष क्षितिज तामाङले एमसिसिका प्रावधान नेपालको कानुन भन्दा माथि रहेकोले त्यसका विरुद्व आन्दोलन गर्नु परेको धारणा राखे ।

‘नेपालको सार्वभौम अधिकार माथि हस्तक्षेप र संविधान भन्दा माथि देखियो एमसिसि यसको खबरदारी गर्न आवश्यक छ’, अध्यक्ष तामाङले भने ।
कोणसभालाई अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष प्रविण चौलागाईले कांग्रेसको बलमा एमसिसि पास भए अखिल क्रान्तिकारी सशक्त प्रतिरोधमा उत्रने चेतावनी दिए ।

त्यस्तै अखिल क्रान्तिकारीका जिल्ला नेता विकेश लामाले कांग्रेस, एमाले लगाएत दलले एमसिसि पास गरे जनता विद्रोहमा उत्रने चेतावनी दिए ।
‘एमसिसिको पक्षमा कुन पार्टी लागेको छ जनताले राम्रै हिसाब किताब गर्ने छन्’, लामाले भने । साँझमा निकालिएको मशाल जुलुुुसमा सहभागी क्रान्तिकारीका कार्यकर्ताहरुले राष्ट्रघाति एमसिसि खारेज गर, एमसिसि चाँहिदैन देश बेच्न पाईदैन, जस्ता चर्का नारा लगाएका थिए ।

एमसिसि पास गर्न नहुने भन्दै देशव्यापी सडक आन्दोलनमा उत्रेको अखिल क्रान्तिकारीले सिन्धुपाल्चोकले चौतारा लगाएत जिल्लाका विभिन्न ठाउँहरुमा लगातार विरोधका कार्यक्रम गरिरहेको सो संगठनले जनाएकोे छ ।